भक्तपुर — सानोठिमीस्थित बाल सुधार गृहमा एक युवकको मृत्यु भएपछि आफन्तले सुधार गृहका निर्देशक र वार्डेनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग राखेका छन ।
ज्वरो र खुट्टामा पिलो आएर बिरामी परेका रामेछापका २० वर्षीय युवकको आइतबार गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको थियो । एक सातादेखि बिरामी परेका उनको सुधार गृह प्रशासन र वार्डेनको लापरबाहीले मृत्यु भएको मृतकका आफन्तको आरोप छ । 
जिल्ला प्रशासन कार्यालय भक्तपुरले घटनाको अनुसन्धान गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनाएको छ । ‘पोस्टमार्टम नगरेसम्म घटना के कारणले भएको हो पत्ता लगाउन सकिँदैन । पीडितले जाहेरी नदिएकाले पोस्टमार्टम नै गर्न सकेका छैनौं,’ प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने । मृतकका आफन्तले वार्डेन र संस्थाका निर्देशकलाई पक्राउ नगरेसम्म जाहेरी दिन नसक्ने बताउँदै आएका छन्न् । ‘एक सातादेखि बिरामी भएपछि उपचारका लागि उनका साथीहरूले वार्डेनलाई आग्रह गरेका थिए । ग्यास्टिकले गर्दा ज्वरो आएको भन्दै औषधि खुवाउँदै राखेका रहेछन् । घटना हुनु अघिल्लो दिन केही खान नसक्दा पनि उपचारमा लगेनन्,’ मृतकका आफन्त आकाश भट्टराईले भने, ‘आइतबार सुतेको ठाउँबाट नउठेपछि हेर्न जाँदा बेहोस अवस्थामा साथीहरूले भेटेका रहेछन् । यतिसम्म लापरबाही गर्नेलाई किन कारबाहीको दायरामा ल्याइँदैन ?’ सुधार गृहमा रहेकाको हेरचाहमा लापरबाही गर्नेलाई कारबाही गर्न मंगलबार प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरूलाई आग्रह गरेको उनले बताए । ‘पोस्टमार्टम र अनुसन्धान क्रममा कमजोरी पाइएमा मात्रै पक्राउ गर्न सकिन्छ,’ भक्तपुर प्रहरी प्रमुख प्रजित केसीले भने, ‘त्यसैले पीडित पक्षले जाहेरी दिएर अनुसन्धान अघि बढाउन सहयोग गर्नुपर्छ ।’
सुधार गृहका निर्देशक केशव सुवालले मृतकको आफन्तले भनेजस्तो लापरबाही नभएको दाबी गरे । सरकारले उपलब्ध गराएको भन्दा बढी सुविधा रहेको उनको भनाइ छ । अदालतको आदेशले सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका पठाए पनि सरकारले स्वास्थ्यकर्मी, औषधि उपचार र स्वास्थ्य सेवाको व्यवस्था गरेको छैन । सुधार गृहको व्यवस्थापन न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नेपालले गर्दै आएको छ । बालबालिका बिरामी परेमा युसेप नेपालले आन्तरिक खर्चमा उपचार गर्ने गरेको सुवालले बताए । मृतकको आफन्तले सोमबार निष्पक्ष छानबिनको माग राख्दै सुधार गृहबाहिर विरोध प्रदर्शन गरेका थिए । यही क्रममा भित्र रहेका बालक तथा युवासमेत प्रदर्शनमा उत्रिएपछि झडपको अवस्था भएको हो । सो क्रममा गेटको ताल्चा फुटाएर २ सय २१ जना भागेका थिए । भक्तपुर प्रहरी प्रमुख केसीले भागेकामध्ये सात जना मात्रै सम्पर्क बाहिर रहेको बताए । उनीहरू १८ वर्ष नाघेकाले सम्पर्कमा नआए वयस्कलाई हुने सजायअनुसार पक्राउ गरेर छुट्टै मुद्दा अघि बढाउनेसम्मको प्रहरीले योजना बनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments