प्राडा पुरुषोतमलोचन श्रेष्ठ
नेपाल लगायत विश्वका सुन्दर देशमध्ये एउटा सुन्दर देश फ्रान्स पनि हो। विश्वप्रसिद्ध सुन्दर सहरहरूको देश पनि हो फ्रान्स। फ्रान्सको यस्तै एक सुन्दर सहर ओरेन्ज पनि हो। यसै सहरको माझबाट निर्मल, कञ्चन जलले कलकल गर्दै एउटा सानो सफा, सुन्दर र मनमोहक खोला पनि बगिरहेको छ, जसको नाम ‘ला मेन’ रहेको छ। सांस्कृतिक–प्राकृतिक परिदृश्यको एक सुन्दर नमुना देखिने यो खोलाले पनि यस सहरको सुन्दरतालाई उस्तै जीवन्तता प्रदान गरिरहेको छ र, सानका साथ सहरको रौनकतालाई बढाएर थप सुन्दर र मनमोहक देखिएको छ।
‘स्वर्ग’ र ‘नरक’ को अवधारणा मानवीय चिन्तन र प्रवृत्तिको उपज हो। यस कुरालाई व्यावहारिक दृष्टिले हेर्दा जुन सफा र सुन्दर छ, त्यो स्वर्ग हो र जुन फोहोर र दुर्गन्धित छ, त्यो नरक हो भनी मान्न सकिन्छ।
यो सफा र सुन्दर खोलालाई हेर्दा मलाई यस्तै अनुभूत भएको छ। जल, जमिन र जंगलको उच्च सम्मान, संरक्षण, संवद्र्धनसहितको सदुपयोगले देश स्वर्ग बन्छ, दुरूपयोगले नरक बन्छ अनि देशवासीले नारकीय दुःख पाउँछन्। फ्रान्सले प्रकृतिप्रदत्त यी तीन वरदानको सम्मानपूर्वक सही ढंगले सदुपयोग गर्दै आएको देखिन्छ। यहाँबाट सफा, कञ्चन जलका साथ निसृत हुने महानदी, नदी र अनगिन्ती ससाना खोलाहरू उदाहरणस्वरूप छन्। ‘ला मेन’ पनि यस कुराको अपवाद होइन।
फ्रान्स यात्राका क्रममा ओरेन्ज सहर पनि पुगें र त्यहाँ यो खोलालाई हेर्ने सौभाग्य मिल्यो। यो खोला देख्नेबित्तिकै यसले मलाई तत्क्षण मेरो देशको मुटुमा रहेको ‘टुकुचा’ लाई झल्झली सम्झायो। मेरो साथमा मेरो परिवारका सदस्यहरू पनि थिए। मलाई जस्तै उनीहरूलाई पनि त्यस्तै झझल्को यस खोलाले दिएको रहेछ र उतिखेरै एकै स्वरले, एक आपसमा एकले अर्काको सही थाप्दै भन्न थाल्यौं–‘यो त हाम्रो टुकुचाजस्तै छ त। हेर न, उस्तै सानो, साँघुरो, दुवै किनारामा घरहरू पनि उस्तै गरी ठडिएका, फ्रान्सको टुकुचा!’
‘ला मेन’माथिको पुलबाट यसलाई हेरिरहँदा हामीलाई यस्तो लाग्यो, मानौं हामी फ्रान्समा नभएर हाम्रै देशमा छौं, ओरेन्जमा नभएर काठमाडौंमै, टुकुचाको एक पुलमाथि उभिएका छौं र त्यही पुलबाट यसलाई उदेक मान्दै हेरिरहेका छौं।
पुलमाथिबाटै तल खोलाको निर्मल जलमा धेरै संख्यामा ठुलासाना माछाहरू खेलिरहेका थिए। केही पर ओभानो ठाउँमा मान्छे देखेर पनि नडराएका जंगली पानी हाँसहरू मुन्टो बटारेर उघारेका आँखा आकाशतिर फर्काई निर्धक्क भएर आराम गरिरहेका थिए। पुलको दायाँबायाँका फलामे बारमा झुन्ड्याएर सजाइएका गमलाहरूमा तलतिर लहरा लागेर मनमोहक भएका, फक्रेका रंगीबिरंगी फूलहरूले खोला, पुल लगायत आसपासको पूरै वातावरण निकै सुन्दर र रमणीय तुल्याइरहेको थियो।
आफ्नोपनको अनुभूतिले प्राप्त हुने सामीप्य पनि सामान्य कुरा कहाँ हुन्छ र? ‘ला मेन’लाई हेरेपछि हामीलाई यस्तै लाग्यो, अर्थात् यो पनि हाम्रै सम्पदा हो। आखिर ‘एक विश्व’ को अवधारणा ल्याउने (नेपोलियन प्रथम) प्रथम देश पनि त फ्रान्स नै हो। ‘ला मेन’ होस् वा टुकुचा, यी पनि त सभ्यताकै धरोहर, विश्वका सारा मानवजातिकै सम्पदा हुन् नि। मनमा यस्तै कुरा खेल्दै थिए, हामीमध्येका एकले निम्न कुरा राखेपछि मेरो मनका तरङ्ग हराए, ‘आहा! हाम्रो टुकुचा पनि यस्तै भइदिएको भए कति राम्रो, रमाइलो हुने थियो। तर, के गर्नु र? हाम्रो नियत नै राम्रो छैन। हाम्रो टुकुचाको ठाउँमा यो टुकुचा (ला मेन) त्यहाँ भएको भए यसको नियति पनि टुकुचाको जस्तै भइसक्थ्यो होला। माछा, हाँस मारेर खाइसक्थे, खोला छोपेर घर उठाउँथे, घरबाट बग्ने फोहोर खोलामा सिधै मिसाएर ढलमती बनाइसक्थे, वैतरणी नदीको त्यो नारकीय धार जहाँ पापीहरूले मात्र देख्ने र भोग्ने फोहोर र दुर्गन्ध मात्र बग्ने बनाइसक्थे होलान्।’
स्वर्ग र नरकबारेमा माथि भएको सामान्य विवेचनालाई मात्र आधार मानेर हेर्दा पनि ‘ला मेन’लाई कहाँ राख्ने र टुकुचालाई कहाँ राख्ने भन्ने कुरा अब यहाँ भनिरहनुपरेन। आफ्नो उद्भवकालदेखि चुपचाप बगिरहेको टुकुचाले राणाकालदेखि भने अतिक्रमणको मारमा परेर कतै देखिँदै, कतै हराउँदै भित्रभित्रै सुस्केरा हाल्दैे प्रत्यक्षमै जीवितमृत खोलाको आभास गराएको छ।
सभ्यताको उषाकालदेखि मानवीय संरक्षण र सम्मान पाउँदै आएको ‘ला मेन’ले भने नितान्त जीवित खोलाको स्पष्ट आभास घोषित रूपमै गराएको छ। यसो हुँदा फ्रान्सेलीहरूले ला मेनलाई सगौरव ‘रिभेयर भिभोन्ट’ (जीवित खोला) भनी ‘रेस्पेक्टे ला प्रोटेजों ला’ (खोलालाई सम्मान गरौं) भन्ने सुन्दर र मनै छुने प्रेरक सन्देश दिँदै आएका छन्। ‘ला मेन’ पुलको गमलाले सजिएको फलामे बारमा झुन्ड्याइएको होर्डिङ बोर्डमा लेखिएको उक्त उद्गार पनि यस कुराको उदाहरणस्वरूप रहेको छ।
‘ला मेन’को सुन्दरताले हृदयदेखि उर्लेको फ्रान्सेली मन र सुन्दर सोच अनि मानव अतिक्रमणले झन्डै लोपोन्मुख एवम् ढलको अवस्थामा परिणत हुनपुगेको हाम्रो टुकुचाको दयनीय नियतिले दिमागदेखि उब्जेको नेपाली सोच र विचारको प्रतिनिधित्व गरेको छ भन्दा सायद अतिशयोक्ति नहोला।
मिलेका मनले गरेका सानो कामले पनि ठुलो उपलब्धी मिल्छ र सबैको कल्याण हुन्छ। सबैलाई थाहा छ, टुकुचाको दायाँबायाँ घरहरू छन्। ‘ला मेन’को दायाँबायाँ पनि उस्तै घरहरू छन्। घरबाट निस्कने फोहोर व्यवस्थापनमा भने फरक छ। ‘ला मेन’ किनाराका प्रत्येक घरका धुरीदेखि घरको बाहिरी भित्ता हुँदै खोलाको किनारमा अपरिहार्य रूपमा पाइप जोडेर लगेका छन्, जसबाट बर्सातको पानी सोझै खोलामा मिसिन्छ।
घरबाट निस्कने फोहोर इत्यादि खोलामा मिसिन नपाओस् भनी अर्को ठुलो पाइपमा फोहोर निस्कने पाइप जोडेर अन्तै निकास दिएर लगेका छन्। जीवित खोला ‘ला मेन’को सुन्दरतालाई जस्ताको त्यस्तै जोगाइराख्न फ्रान्सेलीहरूले गरेको यस कामले पनि उनीहरूले होर्डिङ बोर्डमा लेखेजस्तै व्यवहारमा पनि कसरी खोलालाई सम्मान गरी राखेका रहेछन् भन्ने कुरा छर्लङ्ग हुन्छ।
प्रकृति, पर्यावरण, वातावरणप्रति उनीहरू कति सचेत एवम् संवेदनशील रहेछन् भन्ने कुरा पनि यसै प्रसङ्गमा थाहा हुन्छ। यस कुराको अपवाद टुकुचा हो। टुकुचा मात्र किन? टुकुचालगायत हाम्रो देशका नदीनाला तालतलैयाहरूप्रति हामी त्यसरी अन्तर्मनदेखि नै सचेत र संवेदनशील भई पहिलेका जस्तै सफा र सुन्दर अवस्थामा फर्काउन सकिरहेका छैनौं।
जल, जमिन र जंगलको उच्च सम्मान, संरक्षण, संवर्धनसहितको सदुपयोगले देश स्वर्ग बन्छ, दुरुपयोगले नर्क बन्छ अनि देशवासीले नारकीय दुःख पाउँछन्। फ्रान्सले प्रकृतिप्रदत्त यी तीन वरदानको सम्मानपूर्वक सही ढंगले सदुपयोग गर्दै आएको देखिन्छ। ‘ला मेन’ यसको उदाहरण हो।
‘इक्षुमती’ नामले सुप्रसिद्ध रहिआएको ‘टुकुचा’ जनभाषा÷नेपालभाषाको नाम हो, जसको पूर्वरूप ‘तुखुचा’ रहेको ज्ञात हुन्छ। विशेषताले नाम बन्छ। नेपालभाषामा क्षुद्रवाचक ‘चा’ ले सानो भन्ने जानिन्छ। खोलालाई ‘खुसि’ र उखुलाई ‘तुु’ भनिन्छ। खुसिको पछिल्तिर लागेको ‘चा’ ले सानो खोला भन्ने बुझिन्छ। र, त्यस्तो सानो खोलाको किनारमा ‘तु’ (उखु) फल्ने विशेषता भएको हुनाले समग्रमा ‘तुखुचा’ नाम पाउँदै त्यसैको पनि परवर्ती रूप ‘टुकुचा’ हुनपुगेको विदित हुन्छ।
काठमाडौंको उत्तरस्थित शिवपुरीबाट उद्भव भएर बग्ने टुकुचा सहरका खास भागहरू हुँदै त्रिपुरेश्वरको कालमोचनघाटमा पुगेपछि वाग्मती नदीमा मिसिन पुग्छ। शिवपुरीबाटै उद्भव भएर बग्ने टुकुचाजस्तै अर्को खोला धोबीखोला (रूद्रमती) पनि हो, जुन खोला पनि वाग्मतीमै मिसिन पुग्छ। धोबीखोलाको नियति पनि झन्डै टुकुचाको जस्तै छ, अर्थात् यो पनि मानव अतिक्रमणको मारमा परेको छ।
शिवपुरीबाट निसृत भएर सहरी बस्ती हुँदै वाग्मतीमा मिसिन पुग्ने यी साना खोलाहरू पनि निःसन्देह नेपालमण्डलको प्रागइतिहास, आद्यइतिहास र इतिहासका अनेक कालखण्डका साक्ष रहेको अनुभूत हुन्छ। दशकौं अघि रुसी पुरातत्त्व विज्ञद्वारा धोबीखोलामा गरेको उत्खननबाट फेला परेका प्रागऐतिहासिक पाषाण उपकरणहरूले पनि यी भेक मात्र नभएर समग्र नेपालमण्डल प्रागमानवको विचरणस्थल थियो भन्ने कुरा जानिन्छ।
‘ला मेन’ पुलको बारमा ‘रिभेयर भिभोन्ट’ (जीवित खोला), ‘रेस्पेक्टे ला प्रोटेजों ला’ (खोलालाई सम्मान गरौं) लेखी झुन्ड्याइएको होर्डिङ बोर्ड। 
नेपालमण्डलबाट निसृत हुने अनेक नदी र खोलालगायत टुकुचा पनि नहुँदो हो त नेपालमण्डलको सभ्यता र संस्कृतिको कल्पना गर्न सकिन्न। वाग्मती, विष्णुमती, मणिमती, रूद्रमती, मनोहरा, हनुमन्ते, कासांखुसि (खासाङखुसुङ) लगायत टुकुचाबाट पनि उठेको सभ्यता नेपालमण्डलको सभ्यता हो।
राणाकालदेखि उत्तरआधुनिक कालको वर्तमानमा आइपुग्दा मानव अतिक्रमणको मारमा परेर जीवितमृतप्रायः अवस्थामा पुग्नुअघिसम्म, सभ्यताको आदिकालदेखि नै यो पनि फ्रान्सको ला मेनजस्तै उस्तै र अझ त्योभन्दा पनि सुन्दर र सुसज्जित हुँदै आभीर सभ्यता (गोपाल–महिषपाल), किराँत सभ्यता, लिच्छवि सभ्यता, मल्ल सभ्यतालाई आत्मसात गर्दै, समृद्ध सभ्यता र अतुल्य संस्कृतिको आलोक छर्दै आसपासका जंगल, जमिन र खेतलाई सिञ्चित गर्दै, हराभरा पार्दै, जनजीवनलाई स्वच्छ र निर्मल जल दिएर कलकल गर्दै जीवन्त हुँदै आइरहेको थियो भन्ने कुरा निश्चित रूपले अनुभूत हुन्छ। ती युगहरू नेपालका स्वर्णिम युग थिए। अन्य नदी, खोलालगायत टुकुचाको आजको नियति देख्दा हामी कलियुगको नारकीय कालखण्डमा बाँचिरहेका ‘असभ्य’ रहेछौं भन्ने प्रतीत हुन्छ।
नेपालमण्डलबाट निसृत हुने अनेक नदी र खोलालगायत टुकुचा पनि नहुँदो हो त नेपालमण्डलको सभ्यता र संस्कृतिको कल्पना गर्न सकिन्न।
दिनले रात लिएर आउँछ। त्यही रातले सुनौलो बिहानी पनि त ल्याउँछ। मलाई पूरा आशा र भरोसा छ, आउने सुनौलो बिहानीको। वर्तमानको विगतमा यहाँका नदीनाला, खोलाहरू जोगाउने, जीवित तुल्याउने प्रयासहरू नभएका होइनन्। त्यसप्रकारले नदी र खोला बचाउन प्रयास गर्ने ती सबै अभियन्ताहरू, श्रमिक, मजदुरहरू सम्मानका पात्र हुन्। बिर्सने, सम्झने र ब्युँताउने समयको कुरा हो। ढिलो वा चाँडो, वर्तमानलाई इतिहासले झकझकाउने गर्छ।
अहिले उही टुकुचा हाम्रो माझमा उदाहरणीय भएर आएको छ। ढलको रूपमा परिणत हुनपुगेको, मानव अतिक्रमणले थिचिएर मृतप्रायः अवस्थामा पुगिसकेको टुकुचालाई विगतकै अवस्थामा फर्काउने, ब्युँताउने सत्प्रयास सत्कर्म अहिले यें (काठमाडांै) महानगरपालिकाले गरेको छ।
इतिहासले यसलाई सदा सम्झने छ। यस्तो पुनीत कार्यको थालनी गर्ने यें (काठमाडौ) महानगरपालिकाका नगरप्रमुख, महानगरपालिकाका समस्त जनप्रतिनिधि, कर्मचारी, प्रहरी, श्रमिक मजदुर लगायत यस कार्यमा साथ दिने समस्त नगरवासीहरू धन्यवादका पात्र छन्।
असल काम सुन्दर, उदाहरणीय र प्रेरक हुन्छ। मलाई लाग्छ, हामीले पनि ला मेनबाट सिक्नु छ। अझ ला मेनलाई पनि उछिन्ने गरी टुकुचालाई सजाउनु छ। टुकुचामाथिको पुलबाट तल हेर्दा यहाँ पनि कलकल बग्ने कञ्चन जल प्रवाहित होस्, टुकुचाको जलमा रमाइरहेका जलचरहरूले टुकुचा जीवित रहेको प्रमाण दिइरहून्। त्यो दिन पनि टाढा छैन। फ्रान्सेली पर्यटकहरू यहाँ आउँदा हाम्रो सुन्दर टुकुचालाई हेरेर भनून्–‘ए, यो टुकुचा त हाम्रो ओरेन्जको ला मेनजस्तै रहेछ, नेपालको ला मेन’, जसरी हामीले ला मेनलाई अनायासै भन्यौ–‘फ्रान्सको टुकुचा’।

...

All Comments.......


Please Login/Register To Comments