- Post Date 2020-09-27 13:10:01
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्पबाट भत्केका र क्षति पुगेका सम्पदाहरूको संक्षिप्त विवरणसहित नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन सम्पदाहरूको विवरण समेटिएको ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तकको बिमोचन अनलाइन (जुम) मार्फत आइतबार सम्पन्न भयो ।
४१ औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्नुहुँदै सांसद सुवालले बन्दाबन्दीका कारण यस वर्षको पर्यटन दिवसमा कुनै रौनक नदेखिएको
सरकारले हप्तामा दुईदिन बिदा दिई कर्मचारीहरूलाई घुमघामको लागि पठाउन ल्याइएको प्रस्ताव नेपालको लागि उपयुक्त नहुने बताउनुहुँदै सांसद सुवालले जनताको क्रयशक्ति नबढेसम्म सरकारले कर्मचारीहरुलाई हप्तामा दुई दिन बिदा दिएर आन्तरिक पर्यटनको विकास सम्भव नहुने बताउनुभयो ।
नेपालको ठाउँ ठाउँमा भएका पोखरी, मन्दिर, पाटी—पौवाहरूलाई आन्तरिक पर्यटक प्रवद्र्धनको लागि उपयोग गर्न सकिने धारणा व्यक्त गर्नुहुँदै उहा“ले छिमेकी देश भारतसँगको खुलासीमा बन्द गरी आन्तरिक पयर्टनमै जोड दिनुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापलिते आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नपाको आयोजनामा हुन लागेको भक्तपुर महोत्सव कोभिड १९ का कारण अन्तिम चरणमा स्थगित गर्नुपरेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पर्यटन व्यवसायबाट उठ्ने शुल्कबाट भक्तपुर नपाले यहाँको शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतका क्षेत्र उकास्न लगानी गर्दै आइरहेको बताउनुहुँदै पर्यटन प्रवद्र्धनको लागि भौतिक एवम् सांस्कृतिक सम्पदाहरूलाई जीवित बनाइराख्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका संयोजक रबिन्द्र ज्याख्वले कोभिड १९ का कारण विश्वकै पर्यटनको विकास र गतिविधिमा नकारात्मक अवरोध परिरहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई दिगो रुपमा अगाडि बढाउन आगामी दिनहरूमा वैकल्पिक उपायहरू अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले कोभिड संक्रमणको जोखिमका कारण सबैले अनलाइन कार्यक्रममार्फत विश्व पर्यटन दिवस मनाइरहेको उल्लेख गर्नुहुँदै भक्तपुरको ऐतिहासिक सम्पदा समेटिएको पुस्तक प्रकाशन सराहनीय कार्य भएको बताउनुभयो ।
पर्यटक सेवा केन्द्र तथा सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले ‘कोभिड १९ र पर्यटनमा असर’ विषयक आफ्नो प्रस्तुतीकरण देखाउनुभएको थियो । नेपालको पर्यटनमा कोभिड १९ को असर र असर न्युनीकरणका उपायहरूबारे उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका उपप्राध्यापक सुनिल सुवाल, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले, भक्तपुर नगरपालिकाका कर्मचारीहरू ओमप्रसाद धौभडेल र रिना प्रजापतिले पनि बोल्नुभएको थियो ।
पर्यटन दिवसकै अवसरमा भक्तपुरको दरबार क्षेत्रमा आइतबार बिहान भक्तपुरको दरबार क्षेत्रमा सरसफाइ कार्यक्रमको आयोजना भयो । कार्यक्रममा वडाध्यक्ष रबिन्द्र ज्याख्व र सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लसिवाले पर्यटन दिवसको सान्दर्भिकताबारे आ–आफ्नो विचार व्यक्त गर्नुभयो भने भक्तपुर नगरका मुख्य सडक, चोक र तरकारी बजारमा क्लोरिन छर्किने कार्य भयो ।
आज सार्वजनिक गरिएको फोटो पुस्तकमा भक्तपुर नपाले हालसम्म १०३ वटा सम्पदा सम्पन्न गरेको, त्यसको लागि रु. २४ करोड २३ लाख ९ हजार खर्च भएको तथा ३४ वटा निर्माणाधीन सम्पदाको लागि ७ करोड ५४ लाख ९९ हजार खर्च भएको विवरण उल्लेख छ । सम्भव भए जति सम्पदाहरुको पुरानो फोटो, निर्माणाधीन र सम्पन्न भएपछिको फोटो पनि पुस्तकमा राखिएको छ । प्रत्येक सम्पदाको संक्षिप्त विवरणसहित खर्च विवरण पनि पुस्तकमा उल्लेख गरिएको छ । पुस्तक सम्पदा र संस्कृति अध्ययन गर्नेहरुको लागि उपयोगी हुने विश्वास लिइएको छ ।...
All Comments.......
Please Login/Register To Comments