उसै त क्यान्सर रोग, त्यसमा पनि समयमा उपचार भएन भने के होला? क्यान्सर रोगको शल्यक्रिया वा कोष नष्टका लागि भक्तपुर क्यान्सर अस्पतालमा दिनहुँ सयौं पुग्छन्। तर २५ वर्षअघि स्थापित अस्पताल स्रोतसाधन अभावमा उपचारका लागि पुगेकाको चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ। एक मात्र रेडियोथेरापी मेसिनबाट उपचारका लागि जीवनको आससहित अस्पताल आइपुगेका नागरिकले पालो पाउन कम्तीमा दुई महिना कुर्नुपर्ने अवस्था छ।

सो अस्पतालमा स्तन क्यान्सर उपचार गराइरहेकी काभे्रकी माइली तामाङले रेडियोथेरापीका लागि गत फागुनमा नाम लेखाएकी हुन्। भदौमा मात्र पालो पाएको उनले बताइन्।

अस्पतालमै भेटिएका भक्तपुर सल्लाघारीका वेदनिधि खतिवडाले डेढ महिनाामा माात्र पालो पाएको बताए। उनको घाँटीमा क्यान्सरको शल्यक्रियापछि थप उपचारका लागि चिकित्सकले रेडियोथेरापी गर्न सुुझाएका थिए।

अस्पतालकी रेडियोलोजिस्ट डा. श्वेता बरालले अस्पतालमा आउने बिरामीको तुलनामा रेडियोथेरापी मेसिन कम भएकाले चाहेर पनि छिटो सेवा दिन नसकेको बताइन्। त्यसमा पनि नेता र मन्त्रीको सिफारिसमा आउने बिरामी व्यवस्थापन गर्न झनै कठिन परेको उनले सुनाइन्।

‘बिहानदेखि रातिसम्म सेवा प्रदान गर्दा पनि ९० देखि सयभन्दा बढीलाई थेरापी सम्भव छैन,’ उनले भनिन्, ‘अर्को एउटा मेसिन भयो भने बिरामीले उपचार पाउने कुरामा थप सहज हुने थियो।’

भक्तपुर क्यान्सर अस्पतालमा बाहेक उपत्यकाका अन्य सरकारी अस्पतालमा रेडियोथेरापी सेवा नहुनुको कारणले पनि रेडियोथेरापी सेवामा बिरामीको चाप बढी भएको भक्तपुर क्यान्सर अस्पतालका प्रशासक राजाराम तजालेले बताए।

आएका बिरामीलाई छिटो सेवा दिनका लागि अस्पतालले विस्तारित सेवा दिएर पनि दिनको १५ घण्टा सेवा प्रवाह गरी १ सय जनालाई सेवा दिन सफल भएको उनले बताए। उनले भने, ‘उपत्यकाभरीमा बिरामीलार्ई समयमै सेवा दिन कम्तीमा १० वटा रेडियोथेरापी उपकरण हुनुपर्छ।’

यो अस्पतालमा मात्र आएका बिरामीलाई छिटो सेवा दिनका लागि अस्पतालमै कम्तीमा तीनवटा रेडियोथेरापी मेसिन हुनुपर्ने डा. बराल बताउँछिन्। ‘हामीले प्रशासनमार्फत पटकपटक थप मेसिनको माग गरेका हौं, अहिलेसम्म कुनै जवाफ आएको छैन, हामीलाई तीनवटा मेसिन दिए बिरामीले दुःख पाउँदैनन्,’ डा. बरालले भनिन्।

अस्पतालमा २५ वर्षअघि ल्याइएको ‘कोबाल्ट–६०’ रेडियोथेरापी मेसिन बिग्रिएपछि २०७२ देखि सेवा ठप्प छ । २०७४ असार २९ मा आधुनिक उपकरणमार्फत गुणस्तरीय सेवा दिने उद्देश्यले वीरले लाइफलाइन ट्रेड इन्टरनेसनल कम्पनीसँग ४६ करोड रूपैयाँ पर्ने टोमोथेरापी मेसिन खरिदको सम्झौता गर्‍यो तर ६ वर्ष बितिसक्दा पनि नयाँ मेसिन जडान समेत भएको छैन।

२०६८ मा स्थापना भएको त्रिवि शिक्षण सुरेश वाग्ले स्मृति क्यान्सर अस्पताल महाराजगन्ज र सिभिल अस्पताल बानेश्वरमा पनि रेडियोथेरापी छैन। दुवैले रेडियोथेरापी मेसिन राख्न बंकर भने बनाइसकेका छन्। तर मेसिन खरिदमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन। मुलुकमा बर्सेनि २५ देखि ३० हजार क्यान्सरका नयाँ बिरामी थपिने अनुमान छ। क्यान्सरबाटै प्रत्येक वर्ष १५ देखि २० हजार जनाको मृत्यु हुने स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

नेपालमा सबैभन्दा बढी श्वासनली तथा फोक्सोका क्यान्सर बिरामी छन्। त्यसपछि पाठेघर, स्तन र पुरुषमा घाँटी र पेटको मुख्य समस्या छ। स्वास्थ्य विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार मुलुकमा ७६ हजार ८ सय ८४ जना क्यान्सरका बिरामी छन्। भक्तपुर क्यान्सर अस्पताल मात्रै होइन, वीरलगायत ठूला अस्पतालमा क्यान्सर उपचारका लागि अत्यावश्यक उपकरण अभावमा दैनिक सयौं बिरामीले सास्ती भोगिरहेका छन्।

२०७९ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा अनुदानमा दिइएको करिब १२ करोड रूपैयाँ पर्ने रेडियोथेरापी ९ कोबाल्ट ६०० र सिमुलेटर मेसिन पनि सञ्चालनमा छैनन्।

निजी क्षेत्रमा नेपाल क्यान्सर अस्पताल र नेपाल क्यान्सर सेन्टरमा रेडियोथेरापी भए पनि महँगो पर्ने कारण विपन्न बिरामी निजीमा जान सक्दैनन्। यस्तो अवस्थामा समयमै उपचार नपाएर निको हुनुपर्ने क्यान्सर बल्झिन सक्ने चिकित्सक बताउँछन्।

विशेष गरी नाक, कान, घाँटी र पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया गरेको बेला छ। हप्ताभित्र रेडियोथेरापी दिइसक्नु डा. बराल बताउँछिन्। बिरामी पालो कुर्दा ढिला भएमा क्यान्सर अर्को भागमा सर्ने उच्च जोखिम हुने जनाउँदै उनले भनिन्, ‘बिरामीको अवस्थाअनुसार प्राथमिकता राखेर उपचारको प्रयास गरिरहेका छौं। तैपनि सबै बिरामीलाई व्यवस्थापन गर्न सम्भव नै छैन।’

भक्तपुर क्यान्सर अस्पतालमा एक महिनाको रेडियोथेरापी सेवा लिनको लागि १ लाख रूपैयाँले पुग्छ भने निजीमा यो सेवा लिनका लागि ३ लाख रूपैयाँ लाग्छ। विपन्न बिरामीहरूका लागि यो खर्च पहुँचमा नहुने भएकाले पनि बिरामी भक्तपुर क्यान्सर अस्पतालमै धाउने गरेको अस्पताल प्रशासनले जनाएको छ।

रेडियोथेरापी सेवा दिन एउटा बिरामीलाई समस्या हेरेर कसैलाई कम्तीमा १५ मिनेट लाग्छ भने कतिपयलाई ४५  मिनेट लाग्छ।


...

All Comments.......


Please Login/Register To Comments