मध्यपुर थिमि । ल्याय्म्ह बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिको १६ औं बार्षिक साधारण सभा असोज २० गते शनिवार एक कार्यक्रमका वीच सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष विनोदबाबु बज्रचार्यले बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुहुँदै कोभिडपछिका बर्षहरुमा देशको समग्र आर्थिक क्रियाकलापमा उतारचढाब बीच पनि पुनः तंग्रिदै गएको देशको अर्थतन्त्रले सहकारी क्षेत्रलगायत सबै क्षेत्रमा केही आशाका किरण देखापर्दै मुलुकको अर्थतन्त्र सुधार हुँदै गईरहेको समयमा पुनः नेपाल सरकारले घर–जग्गा बर्गिकरण गर्न भनि लगाएको जग्गा कित्ताकाट रोक्का तथा राष्ट्र बैकबाट पनि सेयर धितोमा लगाएको कर्जा प्रवाहको सिमाले गर्दा पुनः देशको समग्र आन्तरिक अर्थतन्त्रमा सुस्तता आएको बताउनुभयो ।
देशको आन्तरिक अर्थतन्त्रमा घर–जग्गा र सेयर बजार हाबी भएको कुरा हामीले नकार्न सकिन्न र यसको लागि राज्यबाट सुधार हुनैपर्ने भन्दै अध्यक्ष बज्राचार्यले तर घर–जग्गा तथा सेयर लगाएको लगामले कत्तिको दुरगामी असर पर्छ हाम्रो अर्थतन्त्रमा भन्ने कुनै बिस्तृत अध्ययन नै नगरिएको हो की भनि प्रतिप्रश्न समेत गर्नुभएको थियो । उहाँले सहकारी सदस्यहरुको सेवा सुविधाबृद्धि गर्नमा सञ्चालक समितिहरु गम्भीर भएको समेत बताउनुभयो । 
सभामा संस्थाका कोषाध्यक्ष प्रद्युम्नहरी श्रेष्ठले संस्थाले जोखिम क्षेत्र मानिने घर–जग्गामा गरिएको ऋण नियन्त्रणले गर्दा संस्थाबाट प्रवाह भएका ऋणीहरु एकदम सुरक्षित रहेकोले शेयरसदस्यहरबाट संकलित बचतहरुमा कुनै किसिम जोखिमता नभएको भन्दै आर्थिक बर्ष २०७९÷८० को अन्तसम्ममा संस्थाले ३ सय ३० जना शेयर सदस्यहरुबाट ६७ लाख ५८ हजार ५ सय रुपैयाँको शेयरपुँजी संकलन गरेको बताउनुभयो । 
सोही अवधिमा संस्थाले ५ करोड २४ लाख ९ हजार १ सय २० रुपैयाँ बचत संकलन गर्न सफल भएको भन्दै कोषाध्यक्ष श्रेष्ठले सोही अवधिमा ५ करोड ११ लाख ६२ हजार २ सय २५ रुपैयाँ ऋण लगानी गरेको समेत बताउनुभयो । 
संस्थाले आव २०७९÷८० मा १६ लाख १६ हजार ९ सय ६६ रुपैयाँ सञ्चालन नाफा गरेको थियो भने सोही अवधिमा संस्थासँग ६ करोड ६९ लाख ७७ हजार ४ सय १८ रुपैयाँको सम्पत्ति दायित्वको वासलात रहेको छ भने संस्थासँग सोही अवधिको अन्तसम्ममा जगेडा तथा अन्य कोषहरुमा गरी ६८ लाख १९ हजार ६ सय ५ रुपैयाँ रहेको छ । 
सभामा संस्थाका पुर्वअध्यक्ष रामकाजी श्रेष्ठ, उपाध्यक्ष जुलुमबहादुर, सचिव रमेश श्रेष्ठ, लेखासुपरिवेक्षण समितिका संयोजक धर्मसुन्दर बज्राचार्यलगायतका व्यक्तिले सहकारीको महत्वका विषयमा चर्चा गर्नुभएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments