- Post Date 2020-10-03 02:39:33
काठमाडौँ । नेपालमा ईजरायली कृषि प्रविधि भित्र्याउन सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्वन्धि समझारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार नेपाल र ईजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभयो । सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत शाक्य र ईजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गर्नुभएको छ ।
गत मंसिरमा राजदूत शाक्यको विशेष पहल र नेपाल सरकारको निमन्त्रणामा मसाभ प्रमुख गील हासकेलको टोली नेपाल भ्रमणमा आएको थियो । पाँच दिनको नेपाल बसाइपछि स्वदेश फर्किएको सो टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्रीलगायतसँग भेट गरेको थियो ।
विश्वका १ सय बढी मुलुकका विज्ञहरुलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो । मसाभले नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सीलेन्स वीथ सोलुसन र सेन्टर अफ एक्सीलेन्स इन एजुकेशन, साइन्स, कल्चर एण्ड स्पोर्ट गरी सरकारसँग सम्झौताका लागि प्रक्रिया अघि बढाएको थियो । राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै यो विषयमा निरन्तर पहल गरेको र आज सफलता प्राप्त गरेको जानकारी दिनुभएको छ ।
समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले तीब्रता पाउने शाक्यको भनाई छ । ‘कृषि प्रधान देश नेपालका लागि यो ठूलो उपलब्धी हो,’ राजदूत शाक्यले भन्नुभयो, ‘यो सम्झौतासँगै अब स्वदेश र विदेश दुबैमा नेपाली युवाका लागि रोजगारीका अवसर प्राप्त हुनेछन् भने नेपाललाई कृषिमा आत्मनिर्भर हुन यो प्रविधि हस्तान्तरले ठूलो योगदान दिने अपेक्षा छ ।’
उहाँले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने अपेक्षा गरेको जानकारी दिनुभयो ।
शाक्यले राजदूतको जिम्मेवारी सम्हालेको करीब डेढ वर्षको छोटो अवधीमै यो सम्झौता गर्न सफल भएको भन्दै यसका लागि सहयोग गर्ने नेपाल सरकार, इजरायली सरकार र प्रत्यक्ष–परोक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो ।
त्यसैगरी बुधबार नै नेपाल र ईजरायलबीच ‘ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ मा हस्ताक्षर सम्पन्न भएकोपनि राजदूत शाक्यले जानकारी दिनुभयो । सो सम्झौतामा पनि नेपालको तर्फबाट ईजरायलका लागि नेपाली शाक्य र ईजरायलको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री गावी अस्केनाजीको हस्ताक्षर रहेको छ । योसँगै अब ईजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माण लगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ ।
दूतावासले कार्यान्वयन चरणमा गए लगत्तै प्रत्येक क्षेत्रका लागि श्रमिक भर्नाको प्रक्रिया सुरु हुने पनि जानकारी दिएको छ । त्यसका लागि पनि छिट्टै सम्झौता हुने दूतावासले जानकारी दिएको छ ।
राजदूत शाक्यले यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति भएको भन्दै पहिलो क्षेत्रका रुपमा ईजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयरगिभर ल्याउने सम्बन्धी र त्यसका लागि छिट्टै सम्झौता हुने जानकारी दिएको छ ।
...
All Comments.......
Please Login/Register To Comments