रती पक्वाङ्ग


यतिबेला सिंगो संसार कोरोना कहर भोगिरहेछ । करिब आधा बर्ष यतादेखि यो भाइरसले संसारलाई आफ्नो कब्जामा लिन खोजिरहेछ । हामी भाइरससंग बच्ने र जुध्ने प्रयास गरिरहेछौं । भाइरससंग जुध्ने चेतना र आवश्यक सामाग्रीको अभाव दुबैथोक एकैपटक झेलिरहेका पनि छौं । कोरोना संसारको साझा समस्या हो । योसंग जुध्दै अघि बढ्नुको विकल्प छैन । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु कोरोना बिरुद्धको लडाईंको अग्रमोर्चामा छन् । ‘सेवा नै धर्म हो’ भन्ने पवित्र भावले अस्पतालमा खटिइरहँदा हामी स्वास्थ्यकर्मीले अनेक अप्ठ्यारोसंग जुध्नु परिरहेको छ । आफू संक्रमित हुने डरभन्दा माथी आफ्ना विरामी र परिवारलाई कसरी जोगाउने भन्ने भाव मनभरी छ । आफू जोगिए अझ बढी सेवागर्न सकिन्छ भन्ने भावले सीमित स्रोधसाधनका बाबजूद आफ्नो मनोवल जोगाएकै छौं । स्वास्थ्यकर्मीमा संक्रमण देखिने क्रम बढ्दै जाँदा उनीहरुले झेल्नु परेका पीडा र अपमान अकल्पनीय छन् । म यो आलेखमा त्यही पाटो उप्काउने प्रयास गर्दैछु । असाध्यै गह्रौं मन लिएर । अटेसमटेस भावना शब्दमा पोखिन मानिरहेका छैनन् ।
    नेपालकै सबैभन्दा जेठो बीर अस्पतालमा म बिगत १७ बर्षदेखि काम गरिरहेको छु । हाल नर्सिङ अधिकृतको भूमिकामा त्यहाँ सेवारत छु । मानव सभ्यतामाथीकै ठूलो चुनौतीको यो कष्टकर घडीमा हामी अत्यन्तै संवेदनशील भएर अहोरात्र विरामीको सेवामा खटिएका छौं ।  कोरोना संक्रमित विरामीको आत्मबल कम होला कि, चित्तमा ठेस लाग्ला कि भनेर असाध्यै सचेतपनि छौं । यसरी काम गरिरहँदा संक्रमित स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरिएको, संक्रमितको घर भनेर ब्यानरै टाँग्न खोजिएको, सामाजिक बहिष्करणमा पारिएको खबर सामाजिक सन्जाल, टिभी र पत्रपत्रिकामा आउँदा असाध्यै छटपटी हुन्छ । बेलाबेलामा मनोबल ढल्न खोज्छ । तर धरमराएको मनलाई आफैंले टेका दिन्छु । दुखेको मनलाई आत्मबलको मलम लगाउछु । हिड्न सिक्दै गरेको बच्चाजस्तै हुन्छ मन । धरमराउँदै उठ्छ मन । त्यसरी उठेको मनले संक्रमित र अरु विरामीको सेवामा खट्न अह्राउँछ ।
    यस्तै सन्त्रासको समय चलिरहँदा कोरोनाले मलाईपनि एकदिन अँगालो हाल्यो। नमिठो र त्रासदीपूर्ण अँगालो । अस्पतालको अस्तब्यस्त शैलीले भाइरसललाई पीपीइले छेकेन । संगै काम गर्ने आत्मीय सहकर्मी, आदरणीय अग्रज र कैयन साथीहरुले पनि कोरोनालाई छल्न सक्नुभएन । मेरो नियमित सेवाकर्ममा अस्थायी ब्रेक लगाउने गरी मोबाईलमा सन्देश बज्यो, कोभिड—१९ डिटेक्टेड भनेर । यो सन्देशले केहीबेर मलाई स्तब्ध बनाएपनि यो दिन आउन सक्छ भनेर म मानसिक रुपमा पहिल्यैदेखि तयार थिएँ । म एक जिम्मेवार नागरिकसंगै अनुभवी, सक्षम र जिम्मेवार स्वास्थ्यकर्मी पनि हुँ । यो भाइरसका असर र प्रभावबारे मसंग राम्रो ज्ञान छ । यसबाट बच्न, जोगिन र उम्कन बारम्बार कयौंलाई हौसला पनि दिएकी छु ।
    कार्यक्षेत्रमा रहँदै मलाई भदौ २५ गते साँझपख अलि सन्चो नभएको महसुस भएको थियो। शरीरका हरेक अंग थाकेको महसुस भएको थियो र मध्यम खाले ज्वरो आएको थियो। शरीरमा भएको यो परिवर्तनलाई महसुस भएतापनि ठिक त्यसैबेला एक बिरामीको रोगसँग लड्दालड्दै मृत्यु भएको कारण सम्पूर्ण जिम्मेवारीपूर्ण काम गर्न बाँकी हुँदा आफ्ना सारा शारीरिक पिडालाई भुलेर आफ्नो कार्य सिध्याएँ ।  काम सकिएपछि आफूलाई गाह्रो भएको कुरा आफ्नो सहकर्मीलाई भनेँ र कोरोना जाँचको लागि लागेँ । त्यही क्षणबाट एकान्तबासमा बसेपनिमनमा परिवर्तित मौसमको कारण आफूलाई सन्चो नभएको होला भन्ने लागेको थियो । कोरोनाले छोयो भन्ने सोचेको थिइन ।
    कमजोर हुँदा मुसाले सिंहलाई पनि पछार्छ भन्छन्। मानसिक र शारीरिक पिडाको समुद्रमा डुबिरहँदा कतिपय आफ्नाहरु आफ्नाजस्ता हुँदैनन् भन्ने कुरा मैले महसुस गरेँ । जानीनजानी समाजका सदस्यबाट मेरा सन्ततीमाथि सामाजिक दुरीको लागि व्यङ्गयात्मक घोचपेच हुँदा मलाई त्यस्तो महसुस भयो। सायद आकाशमा चिल उड्नु र तल रूख ढल्नुको संयोगजस्तै भएको पनि हुनसक्छ। परिवारका सदस्यहरुको रिपोर्ट केकस्तो आउँला भन्ने डर मनैभरी थियो । धन्न सबैको रिपोर्ट धमाधम नेगेटिभ आइरहेको थियो । यसो हुँदा आफ्नो पीडा कम भएको थियो । मैले पहिलेदेखि नै सचेतना अपनाएको र आफूले जानेको ज्ञान परिवारमा लागु गर्नुको सकारात्मक परिणाम थियो यो । तरपनि समाजको कमजोर चेतनाको प्रभावबाट म अछूतो रहन सक्ने कुरै भएन । कोरोनाको पिडाजस्तै दुखद रह्यो आफ्नो सेरोफेरोबाट पाएको दुखपनि । कसैलाई दोष लगाउने मेरो रहर छैन । यो साझा समस्या हो । भोली जसलाई पनि पर्न सक्छ । मानवता नहल्लियोस् भन्नेमात्र मेरो सोचाई हो ।
समय आफ्नै गतिमा बगिरहन्छ । मौका आउँछ पर्खदैन। एकान्तबास (आइसोलेशन) को समय नितान्त व्यक्तिगत र आफ्नो समय हो। यसको सबैले भरपुर सदुपयोग गर्नुपर्छ र मन बहलाउनुपर्छ । मैले मेरो एकान्तबासको समयमा सम्बन्धित निकायलाई सूचित गरेँ र सृजनशील आफ्ना हातहरूलाई आफ्नो रुचिको काममा ब्यस्त बनाएँ ।  सिलाईबुनाई मेरो रुचि हो । तसर्थ पुराना कपडाको भण्डारलाई खोतली ‘बेस्ट फ्रम वेस्ट’ बनाई रमाएँ। फिल्मी मनोरञ्जनमा आफूलाई खुसी बनाएँ। मेरो आत्मीय दाजुको प्रेरणाले बिपश्याना ध्यानमा तल्लीन रहेँ । जीवनको अभिन्न साथी (जीवनसाथी) को कहिल्यै नहल्लिने माया, साथ, सहयोग र प्रेरणाले मलाई त्यो कठिन समय गुर्जान धेरै सहज भयो । जीवनसाथीको असिम मायाले विषम परिस्थिति पार गर्न धेरै सजिलो भयो ।
    सुरुका दिनमा म कोरोना संक्रमित छु भनेर कसैलाई भन्न पनि मन भएन । त्यसले  मानसिक तनाव दिंदो रहेछ ।  सायद मैले यसो गर्नुमा हाम्रो सामाजिक संरचना र अवस्था पनि हुनसक्छ तर मलाई यसमा खेद छैन। कोरोना संक्रमण भएका मेरा साथीहरु अस्पतालले ब्यवस्था गरेको ठाउँमा एकान्तबासमा बसे । मलाईचाहि आफ्ना मुटुका टुक्राजस्ता बच्चाहरुबाट पर बस्न मन भएन । उनीहरुको हाँसो मेरो जीवनको उर्जा हो । त्यो उर्जाबाट पर बस्न मन भएन । त्यसैले घरकै एकान्तबास रोजें । उनीहरुको पीसीआर परिक्षण रिपोर्ट नआउँदासम्म मन निकै आत्तियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि मन हल्का भयो । मेरो घरछेउको सरकार— भक्तपुर नगरपालिकाले असाध्यै माया दियो । त्यहाँको जनस्वास्थ्य कार्यालयले हालखबर सोध्यो । वडा सदस्य दाई दिदीहरु आवश्यक सामाग्रीको बाकससहित घर आउँदा मन निकै हर्षित भयो । उहाँहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
कोभिड—१९ सामाजिक दूरी कायम गर्ने रोग होइन । सामाजिक दूरी र भौतिक दूरीमा आकाश र पातालको फरक छ । सामाजिक दूरीले मानिसलाई एक्ल्याउँछ । अत्याउँछ । छिछि र दूरदूरको पात्र बनाउँछ । यो त्यस्तो बेथा होइन । यो त भौतिक दूरी कायम गरेर अलिकति पर तर आत्मीय रुपले परिवार, समाज र इष्टमित्रको माया, ढाँढस र स्याहारले नियन्त्रण गर्न सकिने बेथा हो । समाज, परिवार सबै मिलेर हेला गरेभने कुनैपनि बेथाबाट पार लगाउन  । यसकारण यसलाई भौतिक दूरीको रुपमा मात्र बुझौं । संगसंगै तर अलक्क र अलिपर बसेर मिलेर जिउने कला जान्नुपर्छ । रोगसंग सचेत बनौं । कुनैपनि रोग लागेका ब्यक्तिलाई होलाहोचो नगरौं । समाजसंग अलग नगरौं । दुव्र्यवचन नगरौं । आफ्नाहरुको आवश्यकता अप्ठेरोमा झन् बढी पर्छ । अप्ठेरोले आत्तिएको मनमा मलम लगाऔं । कोरोना साझा समस्या हो । मिलेर जोगिऔं । बेथालाई मायाले जितौं ।
(लेखक परिचय— म बीर अस्पतालमा नर्सिङ अधिकृतका रुपमा कार्यरत छु ।)

...

All Comments.......


Please Login/Register To Comments