भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर ट्रक व्यवसायी संघ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रा.लि.को २२, २३ र २४ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनको सोमबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले नेपालमा दलाल पुँजीपति वर्गको हाबी भइरहेको बताउँदै राष्ट्रिय पुँजीपति वर्ग मिलेर विदेशी दलाल र पुँजीपति वर्गको विरोधमा संघर्ष गर्नु आवश्यक भएको सो अवसरमा बताउनुभयो ।
उहाँले हातहतियार बोक्ने मान्छेजस्तै सवारीसाधन भएका मानिस पनि सचेत हुनुपर्ने बताउँदै सरकारले सवारीचालकहरुलाई लाइसेन्स दिने बेला ध्यान दिनुपर्ने, राजमार्गभन्दा १५—२० मि. टाढा बस्ती बसाल्नुपर्ने र सवारीसाधन खरिद गर्नुअघि ग्यारेजको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
देशको नीति निर्माण गर्ने थलो संसद राम्रो नभएसम्म देशको अवस्था राम्रो नहुने बताउँदै उहाँले सदनमा व्यवसायीहरू पुग्न सके सहज हुने तथा देशलाई माया गर्ने र देशको हितमा काम गर्ने कर्मचारीहरूको बाहुल्यता भए देशको विकास छिटो हुने बताउनुभयो ।
पार्किङको लागि भक्तपुर नपाले ठाउँ ठाउँमा ग्यारेज निर्माण गर्नुपर्ने बताउँदै सरकारले एउटै देशको सवारीसाधन खरिद गर्न बन्द गर्नुपर्ने र विदेशीहरूको बैंकमा पैसा राख्न नहुने धारणा उहाँले उक्त कार्यक्रममा राख्नुभयो ।
उहाँले व्यवसायीहरूमा राष्ट्रिय भावना भएन भने ट्रक व्यवसायी, अर्बपति, खर्बपतिहरू नाङ्ले पसलमा झर्ने स्थिति आउन सक्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले हचुवाको भरमा वर्षौंसम्म जग्गाको कित्ताकाँट रोकेको कारण देशको आर्थिक कारोबारमा समेत असर परेको बताउनुभयो । 
नेपालमा चरम बेरोजगारी, राजनैतिक अस्थिरता, भ्रष्टाचारका कारण उत्पन्न आर्थिक संकटका कारण बितेको १९ महिनामा २४ लाख युवाहरुले नेपाल छाडेको तथ्यांक रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले गत आ.व. २०७९।८० मा श्रम रोजगारी स्वीकृतिमा नेपालका ८ लाख र अध्ययन गर्नको लागि १ लाख १० हजार युवाहरु विदेशिएको तथ्यांक उक्त कार्यक्रममा प्रस्तुत गर्नुभयो ।
उहाँले भन्नुभयो – सार्वजनिक तथ्यांकअनुसार यो आर्थिक वर्षमा चीनका ११ करोड, भारतका ८० लाख र बंगलादेशका २० लाख पर्यटकहरु विदेश भ्रमणमा जाने रेकर्ड छ । त्यसको ५ प्रतिशत मात्र नेपाल आउने वातावरण बनाउन सके देशको लागि ठूलो टेवा पुग्ने देखिन्छ । 
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले भूकम्पबाटे समयमा ठूलो चुनौतीको बीच काम गरेको अनुभव सुनाउँदै यातायातलाई प्रविधिसँग जोड्नुपर्ने र यातायात सुधारको लागि कार्यदल गठन भएको उहाँले सोही अवसरमा बताउनुभयो ।
नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर श्वारले यातायात व्यवसायीहरूको समस्या सरकारसमक्ष राख्ना पनि सरकारले गम्भीरता पूर्वक नलिएको बताउँदै यातायात व्यवसायीहरू नागरिकहरूप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ रोशनीकुमारीले अपराधी नियन्त्रणमा ट्रक व्यवसायी संघले सहयोग गर्दै आएकोमा धन्यवादज्ञापन गर्दै सवारी चालकहरूको गतिविधि व्यवस्थित गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने बताउनुभयो ।
भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments