भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षक समाज भक्तपुरले प्रकाशन गरेको ‘शैक्षिक अनुभव’ पूर्णाक १३ को बिमोचन गर्नुभएको छ । 
दशैं, शुभ दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले सेवा निवृत्त हुनुभएका शिक्षकहरुले अध्ययन र लेखन कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
पुर्खाको अनुभवले नयाँ पुस्ता पुस्तालाई ऊर्जा प्राप्त हुने बताउँदै उहाँले सेवा निवृत्त शिक्षकहरुले अझ आफूलाई राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशील बनाइराख्नुपर्नेमा जोड दिनुभयो । आफ्नो जीवनलाई शिथिल नबनाई अझ सक्रिय जीवनयापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्नु नेपालको संविधान र संघीयताको मर्मविपरीत भएको बताउँदै सरकारले बजेटमा निजी कलेजहरुमाथि नियन्त्रण गर्ने कुनै प्रावधान उल्लेख नगर्दा निजी कलेजहरुले स्वेच्छाचारी ढंगले अभिभावकहरुसँग रकम असुलिरहेको उहाँले बताउनुभयो ।
कुनै पनि संस्था आर्थिक रुपले सबल भएर मात्र नपुग्ने बताउँदै उहाँले संस्था सञ्चालक र व्यवस्थापकहरु सक्षम र इमानदार हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले ८ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरी धेरै विषयमा स्नातकोत्तर तहसम्मको विषय अध्ययन अध्यापन गराउँदै आएको बताउँदै शासक दलहरुले विभिन्न बहानामा अहिलेसम्म ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाइएको उल्लेख गर्नुभयो ।
भक्तपुर नपाले विद्यालयहरुमा समय समयमा अनुगमन, शिक्षक तालिम, अनुदान सहयोग, भौतिक पूर्वाधार निर्माणजस्ता विषयमा जोड दिएको कारण नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरु स्वतःस्फूर्त रुपमा राम्रो हुँदै आएको बताउनुभयो ।
बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले सेवा निवृत्त शिक्षकहरु देशको राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक परिवर्तनका जिउँदा इतिहासका साक्षीको रुपमा रहेको बताउँदै नयाँ पुस्ताको लागि उहाँहरु प्रेरणाका स्रोत रहेको बताउनुभयो ।
त्यस्तै एभरेष्ट इ. स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले सेवा निवृत्त शिक्षकहरु समाजका स्रोतव्यक्तिको रुपमा रहेको बताउँदै समाजले आगामी दिनहरुमा पनि विद्यार्थी केन्द्रित विविध गतिविधिहरुको आयोजना हुने विश्वास व्यक्त गर्नुभयो ।
शैक्षिक अनुभव पुस्तकका प्रधान सम्पादक ज्ञानसागर प्रजापतिले पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै पुस्तकमा सेवा निवृत्त शिक्षकहरुका गहकिला, प्रेरणादायी र पठनीय संस्मरण तथा लेखहरु रहेको बताउनुभयो ।
सेवा निवृत्त शिक्षक समाज भक्तपुरका उपाध्यक्ष रामगोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष विश्वराम कवांले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्य तुल्सीराम ग्वाछाले समाज स्थापनाका उद्देश्यहरुबारे आफ्नो धारणा राख्नुभयो ।
...

All Comments.......


Please Login/Register To Comments