काठमाडौं । कोरोना लकडाउन र निषेधाज्ञासँगै विकास निर्माण कार्य ठप्प हुँदा हेभी इक्वेपमेन्ट व्यवसायी पनि संकटमा परेका छन् । निर्माण कार्य ठप्प हुँदा हेभी इक्वेपमेन्ट व्यवसायीको अर्वोको लगानी जोखिममा परेको हेभी इक्वेपमेन्ट व्यवसायी महासंघले जनाएको छ ।
निर्माण कार्य नहुँदा झण्डै ८५ प्रतिशत हेभी इक्वेपमेन्ट थन्किएर वसेको र अधिकांस उपकरणमा झार उम्रिएको महासंघका अध्यक्ष तारावहादुर कुँवरले हिमालय टाइम्सलाई बताउनुभयो । कुँवरका अनुसार बैंकको ऋण तिर्न नसकेर कतिपय व्यवसायी डिप्रेसनमा गइकसकेका छन् । उहाँले भन्नुभयो, ‘एउटै उपकरणको १ लाख ७५ हजार रुपैयाँसम्म किस्ता तिर्नुपर्ने हुन्छ तर किस्ता तिर्ने पैसा छैन । लामो समयसम्म सञ्चालन नहुँदा डोजरमा घाँस उम्रिएको छ, दशैतिहार पछि काम सुरु होला कि भने आशा छ तर मर्मत नगरी चलाउन सक्ने अवस्था छैन ।’ कुँवरका अनुसार नेपालभर ११ व्यवसायीका ९२ हजार हेभी इक्वेपमेन्ट छन् ।
कुँवरसँग भने ट्रिपर, मिनी ट्रक, ट्रकसहितका डेढ दर्जनभन्दा बढी साधन छन् । कुँवरले श्रीलंकाबाट हेमाज ब्राण्डका कुमारीका कस्मेटिक एवं वेवी प्रोडक्टहरू, दुवईबाट आइटिआर ब्राण्डको टायर र लुब्रिकेन्ट्स, दक्षिण कोरियाबाट युएसबी ब्राण्डको टाइगर ब्राण्ड ब्रेकर एवं हुन्डाई कम्पनीका फिल्टर आयात गर्दै आउनुभएको छ ।
व्यवसायसँगै समाजसेवा पनि
समस्या र चुनौतीबीच पनि हेभी इक्वेपमेन्ट व्यवसायी ताराबहादुर कुँवर भने सामाजिक काममा पनि क्रियाशील हुनुहुन्छ । कोरोना लकडाउन अवधिमा उहाँले काठमाडौंमा समस्यामा रहेका, अपांगता भएका व्यक्ति, अशक्त, सुत्केरी, एकल महिला र बिरामी गरी १४ सयजनालाई राहत सामग्री वितरण गर्नुभएको बताउनुभएको छ ।
भूकम्पको वेला पनि राहत वितरण गर्नुभएको थियो । आफूले कमाएको २० प्रतिशत रकम सामाजिक कार्यमा नै खर्च गर्ने प्रतिबद्धताअनुसार समाजसेवामा लागेको उहाँको भनाइ छ । त्यत्तिमात्र नभइ उहाँ चक्रपथ सरसफाई अभियानमासमेत सक्रिय हुनुहुन्छ । लकडाउनले व्यवसाय घाटामा गएपनि समाजसेवामा लाग्दा सन्तोष मिलेको उहाँले बताउनुभयो ।
राहत वितरणसँगै उहाँ रक्तदान कार्यक्रमसमेत सञ्चालन गर्दै आउनुभएको छ । शनिबार पाँचौं चरणको रक्तदान कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रममा करिब १ सय जना रक्तदाताले रक्तदान गर्ने उहाँले बताउनुभएको छ । कोरोनाका कारण अस्पतालहरूमा रकम अभाव भएकाले रक्तदान कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिएको उहाँले बताउनुभएको छ ।

...

All Comments.......


Please Login/Register To Comments