भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं स्थापना दिवसको अवसरमा संस्थाको प्राङ्गणमा आइतबार संस्थाका ज्येष्ठ सदस्यहरुलाई पौष्टिक आहार वितरण कार्यक्रम गरेको छ । 
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाले भक्तपुरका जनताको स्तर उकास्न भक्तपुरमा भएको किसान संघर्षको ठूलो देन रहेको बताउनुभयो । उहाँले भक्तपुरमा आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र राजनीतिक चेतनास्तरको विकास नभएको भए धेरै पछि पर्ने स्पष्ट पार्दै नेमकिपाको नीति र विचारले भक्तपुरका किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न ठूलो हात रहेको बताउनुभयो । पार्टीको निर्देशनमा भक्तपुरका किसानले विगतमा गरेको संघर्षलाई मनन गरी नयाँ पुस्तालाई जानकारी दिनुपर्नेमा जोड दिँदै उहाँले देशमा भएका विविध चरणका पार्टीको आन्दोलनमा साथ दिनुपर्ने बताउनुभयो । 
राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा शोषित पीडित जनताको न्यायपूर्ण आन्दोलनको पक्षमा निरन्तर आवाज उठाइरहेको नेमकिपा मात्रै कम्युनिष्ट पार्टी रहेको स्पष्ट पार्दै शासक दलका पार्टीले कम्युनिष्ट पार्टीको धर्म निर्वाह गर्न नसकेकोमा खेद व्यक्त गर्नुभयो । किसानका लागि एउटा रासायनिक मल कारखाना पनि खोल्न नसक्ने सरकारले किसानको हित र भलो कहिल्यै नचाहेको स्पष्ट पार्नुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाको बारेमा जानकारी गराउँदै संस्थाको प्रगति र उन्नतिमा ज्येष्ठ सदस्यहरुको राय सुझावले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले नराम्रा सहकारी संस्थाहरुले सहकारी नीति र सिद्धान्तको पालना नगरेको स्पष्ट पार्दै वर्तमान समयमा भक्तपुर साकोसले इमान्दारीता, लगनशीलता र पारदर्शिता देखाउन सकेकै कारण ३ अर्ब ६८ करोडको कारोबार गर्न सम्भव भएको बताउनुभयो ।
प्रमुख अतिथि, अतिथिलगायतका समिति, उपसमितिका पदाधिकारीहरुले संस्थामा आबद्ध ४ सय ७९ जना ज्येष्ठ सदस्यहरुलाई पौष्टिक आहार वितरण गरेको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार विष्णुगोपाल कुसी र सचिव जगनाथ प्रजापतिले बोल्नुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments