भक्तपुर, २० कार्तिक । सिद्धि कृषि सहकारी संस्था लि.को ११ औँ वार्षिक साधारणसभाको सोमबार एक कार्यक्रमबिच नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि गोसाईले सरकारको गलत आर्थिक र कृषि नीतिका कारण विगतमा कृषि उपज निर्यात गर्न सक्ने देश अहिले खर्बौको आयात गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै देश आत्मनिर्भर बन्न कृषिमा पहिले आत्मनिर्भर बन्नुपर्छ भन्नुभयो । उहाँले देशमै रासायनिक मलको उत्पादन र समयमै किसानलाई मल उपलब्ध गराउने पक्षमा आजसम्मका कुनै सरकार नभएको बताउँदै कमिसनका लागि कृषिमन्त्री बन्नेहरू रहेसम्म कृषि क्षेत्र उँभो लाग्न नसक्ने ठोकुवा गर्नुभयो । किसानहरू पेशागत ज्ञान सीपका साथै राजनीतिक रूपमा पनि सचेत र सङ्गठित हुनपर्नेमा जोड दिंदै प्रदेश सांसद गोसाईले जग्गा जमिन बाँझो राख्न नहुने बताउनुभयो । उहाँले खेतीपातीमा रासायनिक मलको मात्र प्रयोग नगरी कम्पोष्ट मलको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आजम्म भक्तपुर नगर किसान बाहुल्य नगर भनी चिनिए तापनि विस्तारै नगरवासीहरूको पेशा परिवर्तन हुँदै गएकोबताउनुभयो । उहाँले बाँकी खेत वा जग्गामा आधुनिक विधि र प्रविधिले खेती गर्न सके थोरै क्षेत्रफलमा धेरै उत्पादन हुने बताउँदै खेत नहुनेले कौशी खेती गरेर तरकारी उत्पादन गरी समयको सदुपयोग र पैसा बचत गर्न सक्ने औंल्याउनुभयो । उहाँले भनपाले वडा वडामा माटो परीक्षण शिविर आयोजना गरेको, कौशी खेती र रासायनिक मलको उचित प्रयोग सम्बन्धी तालिम दिइरहेको बताउनुभयो । भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कृषियोग्य जग्गामा प्लटिङ र घर निर्माण बढेपछि भक्तपुरमा किसान र कृषि मजदुरको सङ्ख्या घट्दै गएको बताउँदै स्थानीय उत्पादन घटेमा तरकारीलगायत कृषि उपज अत्यधिक महँगो हुने बताउनुभयो । अरु देशमा खेतीपाती गर्नसमेत नेपाली युवा सस्तो ज्यामीका रूपमा लाने गरेको तर नेपालमा कृषि पेशा गरेर जीवननिर्वाह गर्न कठिन हुनुमा सरकारको गलत नीति जिम्मेवार रहेको उहाँले बताउनुभयो । युवा जनशक्ति विदेश पठाएर देशको विकास नहुने बताउँदै रोजगारको लागि नेपालमै कृषिको विविधीकरण गर्नुपर्ने बताउनुभयो । संस्थाको सञ्चालक समितिका अध्यक्ष पुण्यराम दुमरको सभापतित्वमा भएको कार्यक्रममा सिद्धि गणेश साकोका अध्यक्ष रुद्रनारायण लाखाजू, राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका बालीविज्ञ सङ्गीता कटुवाललगायतले शुभकामना ान्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव चन्द्रमान सुवालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिकृष्ण सुकुपायोले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक श्यामकृष्ण दुमरुले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो भने राम वैद्यले पनि बोल्नुभएको थियो ।...

All Comments.......


Please Login/Register To Comments