भक्तपुर । एसिया–प्रशान्त चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री परिसंघ (क्यासी) को टोलीलाई बुधबार भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) मा स्वागत गरिएको छ । 
परिसंघका अध्यक्ष पिटर म्याकमुलिनको नेतृत्वमा आएको टोलीलाई एक कार्यक्रमका बीच संघका अध्यक्ष शिवप्रसाद मानन्धरले खादा लगाइदिएर स्वागत गरका हुन् । अध्यक्ष मानन्धरले संघका पदाधिकारीहरु र क्यासी टोलीका प्रतिनिधिहरु बीचको भेट तथा छलफल एकदमै महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । यसप्रकारको भेटले संघ र क्यासीबीच घनिष्ट सम्बन्ध कायम गर्न मद्दत पुग्ने भन्दै उनले भविष्यमा एकआपसमा सहयोग तथा सहकार्य गरी अगाडि बढ्न संघ सदैव तयार रहेको बताए । संघ र क्यासीबीच सम्बन्ध विस्तारसँगै दुवैसँग भएको सिप, ज्ञान एकआपसमा आदानप्रदान गर्नुका साथै संस्थागत विकास तथा प्रविधिको विकासका लागि थप मद्दत पुग्ने उनको भनाइ छ । 
क्यासीका अध्यक्ष म्याकमुलिनले कला र संस्कृतिको हिसाबले धनी जिल्ला भक्तपुरस्थित भक्तपुर उद्योग वाणिज्य संघलाई क्यासीको सदस्यको रुपमा पाउँदा अत्यन्त खुसी लागेको बताए । उनले संघले हासिल गरेको उपलब्धिको खुलेर प्रसंशा गरे । उनले उद्योग, व्यवसायको विकासलगायतका विषयमा क्यासी र संघबीच सहयोग आदानप्रदान गर्न तत्पर रहेको बताए । उनले उद्योग, व्यापारको विस्तार, व्यवसायिक पैरवी र व्यवसायिक मध्यतास्थतामा क्यासी र संघ मिलेर अगाडि बढ्ने समेत जानकारी दिए । 
सो अवसरमा परामर्शदाता उत्तम झाले भक्तपुर उद्योग वाणिज्य संघको इतिहास, उद्देश्य, गतिविधिहरु बारेमा जानकारी गराएका थिए । साथै उनले जिल्लाका विभिन्न पर्यटकीय स्थल, धार्मिक स्थललगायतका विषयमा क्यासी टोलीलाई जानकारी गराए । कार्यक्रममा क्यासीको तर्फबाट अध्यक्ष म्याकमुलिनसहित सातजना सहभागी भएका थिए भने संघको तर्फबाट अध्यक्ष मानन्धरसहित पदाधिकारीहरु र कार्यसमिति सदस्यहरु गरी आठजना सहभागी भएका थिए ।
यसैबीच, संघले क्यासी टोलीलाई भक्तपुरका विभिन्न सम्पदाहरुको अवलोकन गराएको छ । भक्तपुर नगरपालिकास्थित प्रसिद्ध पाँचतले मन्दिर, दरबार स्क्वायर, पचपन्ने झ्याल दरबारलगायतका क्षेत्रमा अवलोकन गराएको संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जाले बताइन् । अवलोकनपश्चात पाँचतले मन्दिर परिसरमा संघका अध्यक्ष मानन्धरले क्यासीका अध्यक्ष म्याकमुलिनलाई मयुर झ्याल प्रदान गरी बिदाई गरे । 

...

All Comments.......


Please Login/Register To Comments