ललितपुर महानगरले मंगलबजारदेखि महानगरको प्रमुख बसपार्क एवं बजार बन्दै आएको लगनखेलबाट फुटपाथ पसल हटाउन शुरु गरिएको छ । ललितपुर महानगरपालिका १९ वडाका अध्यक्ष राजेन्द्र महर्जनले ऐतिहासिक एवं सांस्कृतिक महत्वको यी स्थानको सुन्दरता कायम राख्न तथा पैदल यात्रु र सवारी आवागमनमा सहजताका लागि फुटपाथ पसल हटाउन शुरु गरेको भन्नुहुँदै लगनखेल बसपार्क अब बसस्टप मात्र रहने समेत बताउनु भयो । वडा एवं महानगर प्रहरी बलले स्थायी पसलहरुले घर अगाडीको पेटीमा पैदल यात्रु हिडडुल गर्न अवरोध पुग्ने गरी सामग्री प्रदर्शनका लागि बनाएका फलामे रेलिङहरु समेत हटाएको छ भने सडक पखाली सफा गर्ने कार्य पनि थालेको हो । महानगरको यस कार्यबाट सन्तुष्ट स्थानीय महानगरकै अनुमतिमा साँझ परेपछि सडकमात्र होइन, बसपार्क समेत साँगुरिने गरी राखिने फुटपाथ पसल प्रमुख समस्याको रुपमा रहेको बताउँछन् । यसकारण पैदल यात्रु हिडडुल तथा सवारी आवागमनमा सास्ती हुने मात्र नभइ अत्यावश्यक एवं आकस्मिक सेवा एम्बुलेन्स तथा दमकमलाई समेत गाह्रो पर्ने स्थानीयको भनाई रहेको छ । स्थानीयको यस समस्याबारे सोध्दा वडा १९ का अध्यक्ष महर्जनले विहान ८ बजेसम्म तरकारी विक्री बाहेक अन्य सबै फुटपाथमा तथा बसपार्क अतिक्रमण गरी राखिएका पसलहरु सँधैका लागि हटाइने बताउनु भयो । यस अघि पनि महानगरपालिकाले यस्ता पसलहरु हटाउने कार्य थालेपनि कार्यान्वयन पक्ष फितलो हुँदा मौसमी प्रयास जस्तो मात्र देखिएको थियो । यसपटक भने वडा १९, वडा १२ तथा महानगर प्रहरी बलले स्थानीयको ब्यापक सहभागितामा ठाउँठाउँमा ब्यानर राखी, ¥यालीहरु आयोजना मंसीर २४ बाट फुटपाथ पसल तथा बसपार्क अतिक्रमण गरी राखिने पसलहरु हटाइनेबारे ब्यापक प्रचार पनि गरेको हो ।...

All Comments.......


Please Login/Register To Comments