भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा कम्पोष्ट मल बिक्री वितरण तथा माटोको गुणस्तर विषयमा सहकारी तथा कृषकहरुबीच सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माटोको सर्वराशक्तिका लागि प्रांगारिक पदार्थको भूमिका प्रमुख रहने बताउँदै माटोको उर्वराशक्ति ठीकसँग थाहा पाउन किसानहरुले आफ्नो माटोको परीक्षण प्रयोगशालामा जाँच्नु आवश्यक छ ।
कृषि क्षेत्रको विकास नै अन्य पूर्वाधारहरुको विकासको आधार भएको बताउँदै उहाँले नेपाल कृषि कर्मको लागि उपयुक्त ठाउँ भए पनि युवाहरु विदेशिने समस्याका कारण नेपालमा कृषि प्राविधिकहरुको अभाव रहँदै आएको बताउनुभयो ।
विकास निर्माणभन्दा राजनैतिक चेतना महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले भक्तपुर आजको अवस्थामा आइपुग्नुमा यहाँका राजनैतिक कार्यकर्ता र किसान कार्यकर्ताहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।
सरकारले युवाहरुलाई विदेश पठाएर देश युवाविहीन अवस्थामा पुगेको र कृषि भूमि नै बाँझो हुन थालेको प्रसंग जोड्दै प्रमुख प्रजापतिले सरकारले भारतीय तरकारी आयात बन्द गरेमा नेपाली किसानहरुले आफ्नो बालीको उचित मूल्य पाउने र कृषकहरु उत्साहित हुने बताउनुभयो ।
सरकारले नयाँ नयाँ विउ विजन र आधुनिक खेतीको लागि आवश्यक बन्दोबस्त गर्नुपर्ने उहाँले बताउनुभयो ।
भक्तपुर नपा कृषि समितिका सदस्य गोविन्द दुवालले गुणस्तरहीन रसायनिक मलको प्रयोगका कारण किसानहरुको उत्पादनमा कमी आएको बताउँदै किसानहरुले अनुदानको मल पनि दोब्बर मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
भक्तपुर नपाका कृषि प्राविधिक रवि ख्याजुले मल खाद व्यवस्थापन, जथाभावी रसायनिक मलको प्रयोगको नकारात्मक असर र त्यसलाई न्युनीकरण गर्न प्रांगारिक मलको प्रयोग र फाइदाको विषयमा प्रष्ट पार्नुभयो ।
कार्यक्रममा कृषि समितिका सदस्यद्वय कृष्णलाल किसी, भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि बोल्नुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments