नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिन्चोकमा निर्माण गरेको हेलिपोर्ट छ महिनाभित्रै सञ्चालनमा ल्याइने भएको छ । २०७९ साउन १ गतेबाट निर्माण सुरु गरिएको उक्त हेलिप्याडमा  परीक्षण उडान गरिएको छ । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले माउन्टेन एयरको हेलिकोप्टरबाट परीक्षण उडान गरिएको र परीक्षण उडानको प्रतिवेदनका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर उडान नलिन्चोकमा स्थानान्तरण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राधिकरणले २७ वटा हेलिकोप्टर राख्न मिल्ने गरी गत असार मसान्तमै निर्माण सम्पन्न गरेको हेलिपोर्टमा डेमो उडान गरिएको छ । अब कहाँबाट उडान गर्ने ? कुन दिशाबाट गर्ने ? लुक्लाको उडान कसरी व्यवस्थापन गर्ने भन्नेबारे टुङ्गो लागेपछि हेलिपोर्ट सञ्चालनमा आउने छ ।”

उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.२ नटिकल माइल टाढा रहेको यो हेलिपोर्टमा निर्माणका क्रममा रहेका टर्मिनल भवन, चेकिङ काउन्टर, कार्यालय छदेखि नौ महिनाभित्रै निर्माण सकेर पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने छ । 

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेलिप्याड धावनमार्ग नजिक रहेको, बुद्ध एयरको ह्याङ्गर पनि त्यहीँ रहेको, विमानस्थल विस्तारमा सहजता थप्न, हेलिकोप्टरको उडान तथा सञ्चालन विधि र प्रक्रिया नै फरक भएकाले हवाई सुरक्षामा सुधार ल्याउन नालिन्चोकबाट हेलिपोर्ट सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । हेलिपोर्ट सञ्चालनमा आए पनि सुरक्षा तथा आपत्कालीन उद्धारका उडान, बढी ध्वनि र हावा फाल्ने हेलिकोप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सञ्चालन गरिने छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर उडान अवतरण गर्दा अप्ठ्यारो, विमानस्थलमा बढी हेलिकोप्टर पार्किङ गर्दा सुरक्षाका दृष्टिकोणले खतरा बढेको र विमानस्थलमा हवाई ट्राफिक बढेको भन्दै प्राधिकरणले एक वर्षपहिले ११ कम्पनीका ३८ वटा हेलिकोप्टरमध्ये २४ वटा हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने र १४ वटा तोकिएको आधार (अपरेटिङ बेस) अनुसार रातको समयमा उपत्यका बाहिरको विमानस्थलमा पार्किङ गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले सूर्यविनायक नगरपालिकामा रहेको ३३ रोपनी जग्गामा सुविधा सम्पन्न टर्मिनल भवनसहितको हेलिपोर्ट सञ्चालनमा ल्याउन लागेको हो । सो स्थानबाट हाल हवाई जहाजका लागि बनाइएको लोकेटर स्टेसन सञ्चालन भइरहेको छ । हेलिपोर्ट क्षेत्रमा स्थायी इन्धन ट्याङ्क, फायर फाइटिङ कक्ष, यात्रु प्रतीक्षालय, टर्मिनल भवन, कन्फेक्सरी सप, हेलिकोप्टर कम्पनीका लागि कार्यालय र हेलिकोप्टर मर्मत सम्भारका लागि ह्याङ्गरसहितको सुविधा रहनेछ ।

...

All Comments.......


Please Login/Register To Comments