भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा २०७६ र २०७७ भर्ना समूहका विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०७९।८० को गरिब तथा जेहेनदार विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार कलेजसभाहलमा सम्पन्न भयो । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ७१ जना विद्यार्थीहरुलाई रु. ३४ लाख बराबरको छात्रवृत्ति रकम वितरण गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले कलेज स्थापनाको उद्देश्य र इतिहासबारे प्रष्ट पार्दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, मानविकी जस्ता विभिन्न विषयहरुमा स्नातोत्तरसम्मको शिक्षा प्रदान गरिरहेका बताउँदै नपाले ख्वप विश्वविद्यालयको स्थापनाको लागि पनि निरन्तर पहल गरिरहेको बताउनुभयो । 
भक्तपुर नपा शिशुस्याहार केन्द्रदेखि कलेजहरुसम्म संचालन गर्ने देशकै एक मात्र नगरपालिका भएको बताउँदै नगरबासी विद्यार्थीलाई आर्थिक कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नपर्ने व्यवस्था मिलाउँदै गरिब परिवारका विद्यार्थीलाई रु. ५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्ने नीति अवलम्बन गर्दैै आइरहेको बताउनुभयो ।
छात्रवृत्ति रकमको सही सदुपयोग गरी देश र जनताप्रति उत्तरदायी भई काम गर्न मार्गनिर्देश गर्नुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुमा पर्याप्त छात्रवृत्तिको व्यवस्था गर्दै आएको विचार राख्नुभयो ।
उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले विद्यार्थीहरुलाई कलेजको छात्रवृत्तिमा अध्ययन गर्न पाउनु आफैमा सुनौलो अवसर भएको र इमानदारिताका साथ अध्ययन गर्न मार्गनिर्देश गर्नुभयो ।
...

All Comments.......


Please Login/Register To Comments