भक्तपुर । वागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले चाँगुनारायण नगरपालिकामा साँस्कृतिक औद्योगिक ग्राम स्थापना गर्ने बताउनुभएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघको ३३ औं साधारणसभा तथा महिला उद्यमी समितिको ३१ औं साधारणसभालाई मंगलवार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री चित्रकारले करिव ६० रोपनी क्षेत्रफलमा सो साँस्कृतिक औद्योगिक ग्राम स्थापनाहुने जानकारी दिनुभएको हो ।उहाँले औद्योगिक ग्रामका लागि नगरपालिकाले ६० रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको र सो ग्रामको सम्भाव्यता अध्ययन तथा डिपिआर निर्माण प्रक्रिया अघि बढीसकेको बताउनुभयो ।उहाँले प्रदेशको उद्योग, वाणिज्य सम्बन्धी ऐनहरु त्रुटीपूर्ण रहेको र उद्योगी व्यवसायी मैत्री हुन नसकेको महसुश गरी परिमार्जनको तयारी भइरहेको बताउँदैं स्थापनाको छोटो समयमा मन्त्रालयले उद्योगी व्यवसायीहरुको हितमा उल्लेख्य कार्य गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले सरकारका विभिन्न नीतिहरु घरेलु तथा साना उद्योग मैत्री बन्न नसक्दा मुलुकको ३० प्रतिशत घरेलु तथा साना उद्योग बन्द भएको बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले उद्योगी व्यवसायी मुलुकको आर्थिक गतिविधि विकासको मेरुदण्ड भएको बताउँदैं जिल्ला प्रशासन उद्योगी व्यवसायीका समस्या समाधानमा सहजीकरण गर्दै अघि बढ्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिले भक्तपुरको मौलिक उत्पादन जुजु धौ व्यवसायी समस्या समाधान हुनुपर्नेमा जोड दिनुभयो । महासंघका अर्का उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले घरेलु मदिराको उदाहरण दिँदैं नेपाली परम्परागत उत्पादनहरु कानूनको दृष्टिमा अवैध उत्पादन हुँदैं गएको र यसले मुलुकको मौलिक उत्पादन संकटमा पर्दै गएको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले संघले साना ठूला व्यवसायीको रुपमा भेदभाव नगरी भक्तपुरका विभिन्न व्यवसायीक संघ संस्थाहरुको संयुक्त कार्यदल गठन गरी उद्योगी व्यवसायीका समस्या हल गर्न सामूहिक प्रयास गर्ने वातावरण निर्माण गरिरहेको बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले समितिले घरेलु संघसँगको सहकार्यमा गो लोकल कार्यक्रम र युवाहरुलाई स्वरोजगार बनाई विदेशिनबाट रोक्ने योजनाका साथ काम गरिरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले घरेलु उद्योगका उत्पादनलाई आम नागरिकले बेवास्ता गर्नाले उद्योग व्यवसाय फस्टाउन नसक्दा मुलुकमा बेरोजगारी समस्या बढ्नुका साथै युवा विदेश पलायन हुने अवस्था आएको बताउँदैं सबै नागरिकले नेपाली मौलिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले संघका विभिन्न ३३ विधाका ८८४ उद्यमीहरु संघमा आवद्ध भएको जानकारी दिँदैं संघले उद्योग दर्ता नविकरणको लागि सहजीकरण, प्यान दर्ता तथा आयकर तिर्न सहजीकरण, तालिम तथा गोष्ठिलगायतका कार्यक्रम मार्फत उद्योगीहरुको हितमा संघले काम गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा संघका सचिव श्याम सुन्दर श्रेष्ठ, महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठ, सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष समिता ध्वजु, भक्तपुर घरेलु वचत तथा ऋण सहकारी संघका अध्यक्ष लक्ष्मण ग्वाछा, काठमाण्डौं घरेलु तथा साना उद्योग संघका अध्यक्ष सीता कार्की, भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष विरेन्द्र जती, भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश महिला उद्यमी समितिका अध्यक्ष सुलोचना श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका उद्योग अधिकृत आशिष दाहाल, आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख दिलिप गौतमलगायतले घरेलु उद्योगी व्यवसायीहरुको समस्या समाधान गरी यसको प्रवद्र्धनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।सभाले संघका सचिव श्यामसुन्दर श्रेष्ठको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष हरिगोपाल त्वायनाको आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गरेको अध्यक्ष खर्बुजाले जानकारी दिनुभयो ।
सो अवसरमा संघले विगत लामो समय देखि उद्योग स्थापन गरी संचालन गरी रहनु भएको पुर्ण श्रेष्ठ राईस मिलका गोविन्द किल्ला श्रेष्ठ र नेवा तान उद्योगका प्रोपाइटर कमलकेशरी कर्माचार्यलाई सम्मान गरिएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments