भक्तपुर । भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभा बुधबार सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको पन्ध्रौं नगरसभाको आज बसेको बैठकले भक्तपुर नगरपालिकाको नगर प्रहरी ऐन २०७५, भक्तपुर नपा शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५ र भक्तपुर नपाको शिक्षा ऐन, २०७४ मा संशोधन गर्न बनेको विधेयक प्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । उक्त बैठकले सभाका उपाध्यक्ष उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत भक्तपुर नपाको बजेट रकमान्तरसम्बन्धी प्रस्ताव पनि पारित गर्यो ।
नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष प्रजापतिले उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, अतिथि, राजनैतिक तथा सामाजिक अगुवा, बुद्धिजीवी, मजदुर, उद्योगीका साथै नगरसभा अवधिभर सहयोग गर्ने जनप्रतिनिधि र कर्मचारीलगायतमा धन्यवादज्ञापन गर्नुभयो ।
सोही क्रममा उहाँले नगरसभालाई सभाको रुपमा मात्र नभई वैचारिक र राजनैतिक स्तर उकास्ने थलोको रुपमा अभ्यास गरिरहेको बताउनुभयो ।
बि.सं. २०३१ साल माघ १० गते स्थापना भएको नेपाल मजदुर किसान पार्टी स्थापनाका आधारहरुबारे प्रष्ट पार्दै उहाँले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अवलम्बन गर्दै सामन्तवाद, पुँजीवाद, उपनिवेशवाद र साम्राज्यवादविरुद्ध अविचलित रुपमा संघर्षरत रहेको बताउनुभयो ।
बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हक सुरक्षाको आन्दोलन जस्ता किसान आन्दोलनको जगमा उठेको नेमकिपा महँगी विरोधी र भ्रष्टाचारविरोधी आन्दोलन गर्दै देशको राजनैतिक आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै प्रमुख प्रजापतिले चुनावलाई जनताको राजनैतिक र सांस्कृतिक स्तर उठाउने एक राजनैतिक संघर्षको रुपमा उपयोग गर्दै आएको धारणा व्यक्त गर्नुभयो । 
नगरसभाको विशेष समयमा सभासद्हरु मन्जुमैंया लाखा, रिता फसिकवा, कल्पना शिल्पकार, हेरा ख्याजु, जितेन्द्र मुनंकर्मी, नारायणप्रसाद त्वानाबासु, पुरुषोत्तम तमखु, हरिरत्न गोर्खाली, श्यामसुन्दर मातां, इन्द्रबहादुर प्याथ, सूर्यप्रसाद श्रेष्ठ, राजकुमार शिल्पकार, कृष्णसुन्दर प्रजापति, सिद्धिराम अवाल, कृष्णलाल किसी र गोविन्द दुवालले स्थानीय, नगर र नगरबासीहरुको समस्या, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा बोल्नुभयो । 
सभामा उठेका जिज्ञासामाथि सहकारी तथा लेखा समितिका संयोजक हरिप्रसाद बासुकला, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, कृषि समितिका संयोजक राजकृष्ण गोरा, निर्माण समितिका संयोजक उकेश कवां र शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य एवम् वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वले सम्बन्धित विषयमाथि प्रष्ट पार्नुभयो ।
२०८० पुस २५ गतेबाट सुरु भई माघ ३ गते सम्पन्न भक्तपुर नपाको पन्ध्रौं नगरसभाले ‘शिक्षक, बालबालिका सहजकर्ता तथा विद्यालय कर्मचारी कामकाजमा खटाउने सम्बन्धी कार्यविधि २०८०’ सर्वसम्मतिबाट पारित गर्यो भने भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जितियरिङ २०६५ र ख्वप कलेज अफ ल २०८०, ख्वप कलेजको विनियम २०६५, ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ को विनियम संशोधन प्रस्ताव सर्वसम्मतिबाट पारित ग¥यो । सभाले भक्तपुर नगरपालिकाको नगर प्रहरी ऐन २०७५, भक्तपुर नपा शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५ र भक्तपुर नपाको शिक्षा ऐन, २०७४ मा संशोधन गर्न बनेको विधेयक प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको थियो ।
...

All Comments.......


Please Login/Register To Comments