नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यको ज्याःजंकु अर्थात भीमरथारोहण (ज्येष्ठ उमेरमा गरिने पास्नी) को अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्री भित्रको कथा” पुस्तक प्रकाशन गरी नामसंगीति वाचनमा सक्रिय सयौंलाई उपहारस्वरुप प्रदान गरिएको छ । पाटनको बालिफलमा गुरु बज्राचार्यका ५०० भन्दा बढी शिष्यहरुसाथ नामसंगीति पाठ गरिएको समारोहमा विमोचन गरिएको सो पुस्तक बज्राचार्यका सुपुत्रहरु सुरजवीर, संजिववीर, सुदिजवीर तथा बुहारीहरु रमा र रिजु बज्राचार्यले प्रकाशन गर्नुभएको हो । पुस्तकको आवरण पृष्ठमा वरिष्ठ चित्रकार लोक चित्रकारको कृति समेटिएको सो पुस्तकको सम्पादन खेमराज शाक्यले गर्नुभएको हो । यस पुस्तकमा पण्डित बद्रीरत्न बज्राचार्यको स्वयम्भू पुराणको षष्टम अध्यायमा रहेको धर्मश्री मित्रको कथा, बौद्ध अध्येता मीनबहादुर शाक्यद्वारा सम्पादित नामसंगीति नेपालभाषा अनुवाद षटचक्र अनुशंसा र गुरु बज्राचार्यको संक्षिप्त जीवनी समावेश गरिएको छ । सो अवसरमा बज्राचार्यका गुरु एवं नेपाल परम्परागत बौद्धधर्म संघका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यलाई गुरुपूजा गरी अभिनन्दन–पत्र अर्पण गर्दै सम्मान गरिएको थियो भने नेपाल परम्परागत बौद्धधर्म संघ, यस संघका महासचिव दिनेश शाक्य तथा सम्पादन खेमराज शाक्यलाई धन्यवाद ज्ञापन–पत्र अर्पण गरिएको थियो । बौद्ध अध्येताहरुका अनुसार ११ औं शताब्दीदेखि काठमाडौं उपत्यकामा प्रचलित आर्यनामसंगीति वाचन परम्परा एउटा अमूर्त संस्कृतिको रुपमा रहेको छ । हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औंशी, पूर्णिमा, गुंला लगायतका अवसरमा विशेषरुपमा पाठ गरिने नामसंगीति प्रत्येक विहारमा दिनहुँ पाठ गर्ने प्रचलन समेत रहेको छ । यस परम्परामा समर्पितलाई सहजताका लागि पुस्तक प्रकाशन गरिएको बज्राचार्यका जेष्ठ सुपुत्र एवं वरिष्ठ सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो । गुरु बज्राचार्य र उहाँकी पत्नी ज्ञानीदेवी बज्राचार्यको गत पुस २८ गते ७७ बर्ष, ७ महिना, ७ दिन, ७ घडी, ७ पला उमेर पुगेको अवसरमा नेवाः परम्पराअनुसार भीमरथारोहण गरिएको थियो । पाटनस्थित हिरण्यवर्ण महाविहार क्वाःबहाः (गोल्डेन टेम्पल) का वीशस्थविर आःजु समेत रहनुभएका चित्रवीर बज्राचार्य ४ दशकअघिदेखि नामसंगीति वाचन परम्परामा सक्रिय रहँदै आउनु भएको छ । नेपाल परम्परागत बौद्धधर्म संघको आयोजनामा आर्यमञ्जुश्री नामसंगीति पर्वको आयोजना भएसँगै टोलटोलमा नामसंगीति वाचन सिकाउँदै यस परम्पराको प्रवद्र्धन गर्ने कार्यमा गुरु बज्राचार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । बज्रपाणी बोधिसत्वले चैत्र पूर्णिमाका दिन धान्यकटक महाचैत्यमा बसेर नामसंगीतिबारे देशना गर्नुभएको बज्रायानी बौद्धग्रन्थमा उल्लेख गरिएको छ । ...

All Comments.......


Please Login/Register To Comments