भक्तपुर । हेर्दै सफा, चिटिक्क परेको भएपछि सवैले सहजै अनुमान लगाउँंछन्, त्यहाँं त महँंगो हुन्छ भनेर । तर भक्तपुरको सल्लाघारी तल हालै ६ जना युवाले सञ्चालनमा ल्याएको नेवाः ननी भक्तपुरमा भने त्यस्तो छैन । यहाँं साधारण भटी पसलमा भन्दा पनि सस्तो खानाका स्वाद चखाइरहेको छ ।
टिपिकल नेवारी खाजा तथा भोज खुवाउन भक्तपुरका युवाले भक्तपुर नगरपालिका– १ च्वंगा गणेश मन्दिर प्रवेशमार्गको उत्तरतर्फ यो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । नेवाः ननीमा ठूला ४ र सानो एक गरी पाँचवटा फल्चा (सत्तल) को व्यवस्था गरिएको छ ।
यहाँं एकै पटक २०० जनाले मौलिक एवं परम्परागत नेवारी खाजा तथा भोजको आनन्द लिन सक्ने नेवाः ननीका सञ्चालक आशराम फाँजू बताउँछन् । उनका अनुसार ननीमा विवाह, व्रतवन्धलगायतका शुभकार्यअन्तर्गत नेवारी झ्वः भ्वयः (सुकुल भोज) खुवाउने व्यवस्थासमेत छ ।
नेवाः ननी भित्र छिर्न परम्परागत शैलीको प्रवेशद्वार बनाइएको छ । करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको ननीमा ढुंगेधारा र झरना भने बनाउन बाँकी रहेको उनले बताए । हालसम्म एक करोड ५० लाख खर्च भइसकेको ननी बनाउन फाँजूसँगै दयाराम खर्बुजा, राजेश गारु, लक्ष्मीप्रसाद ख्याजू, राकेश सिन्ताकल र रोशन खर्बुजा लागिपरेका छन् ।
गएको बैशाखमा निर्माण सुरु गरिएको नेवाः ननी यही मंसिर २१ गतेदेखि पूर्ण सञ्चालनमा आउने लगानीकर्ता फाँजू बताउँछन् ।
‘ननीमा सामूहिक पिकनिक आउन पनि सकिन्छ । हरेक फल्चामा छुट्टाछुट्टै भान्छा कोठाको व्यवस्था गरेका छौं’, उनले भने, ‘४०–५० जनासम्मको कार्यशाला गोष्ठी तथा बैठक गर्न पनि सकिन्छ । विवाह र व्रतबन्ध तथा शुभ कार्यको भोज त सुरु गरिसकेका छौं ।’
उनले हरेक फल्चामा ग्राहकको रुचिअनुसार सुकुल वा टेबलमा बसेर खान सकिने बताए ।
सुरुमा आफूहरु पिकनिक स्पट बनाउने योजनाअनुसार अघि बढेको फाँजु सुनाउँछन् ।
‘च्वंगा गणेश मन्दिरमा सुविधा सम्पन्न पिकनिक स्पट छैन । त्यसमाथि कहिलेकाहीं ठाउँ नै पाइँदैन’, उनले भने, ‘त्यसैले सुविधा सम्पन्न पिकनिक स्पट आवश्यक देखेर लगानी गरेका थियौं । पछि पिकनिक स्पट बाह्रै महिना नचल्ने देखेर मौलिक नेवारी खाजा पसलतर्फ मोडिएका हौं ।’
नेवाः ननीमा नेवारी परिकारमध्ये पनि विशेषतः छुयालाको प्रवन्ध गरिने अर्का सञ्चालक दयाराम खर्बुजा बताउँछन् ।
‘नेवारी खाजा सेटसँगै योमरी, चटामरी, व (बारा) त पाइने नै भए । यसमा पनि हाम्रो छुयाला विशेष हुनेछ’, उनले भने, ‘हरेक शुक्रबार नेवारी गीतसंगीतको सांस्कृतिक कार्यक्रमसमेत हुनेछ ।’
छुयाला नै किन विशेष भन्ने प्रश्नमा सञ्चालक फाँजू भन्छन्, ‘नेवाः ननी सञ्चालन गर्ने योजना भएपछि हामीले काठमाडौं उपत्यकामा पछिल्लो समय चलेका नेवारी खाजाघरहरु पुगेर त्यहाँका परिकार चाख्यौं । त्यसमध्ये केहीमा पिरो र मसला बढी पायौं, केहीमा मासु सही पाएनौं ।’
आफूहरु पनि नेवाः भएकाले सानैदेखि खाएको छुयालाको मौलिक विशिष्ट स्वाद कतै नपाएको उनको भनाइ छ ।
‘त्यसैले हामीले छुयालामै विशिष्ट सेवा दिने योजना बनाएका हौं’, फाँजूले भने, ‘अरु त ग्राहकको मागअनुसार टिपिकल नेवारी खाजा पाइने नै भए ।’

...

All Comments.......


Please Login/Register To Comments