भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८० माघ २१ गतेदेखि माघ २७ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल) प्रतियोगिता माघ २७ गते शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको ‘पुरस्कार वितरण तथा समापन कार्यक्रम’ मा १५ वटा विभिन्न खेलकुदका विजयी खेलाडी र विद्यालयहरूलाई मेडल, खेलकुद सामग्री र सिल्ड वितरण गरियो ।
समापन कार्यक्रममा सांसद सुवालले खेलकुद अनुशासन, स्वास्थ्य र मित्रताको लागि खेलिनुपर्ने बताउँदै खेलकुदले हाम्रो बीच मित्रता बढाउने र खेलकुदबाट जोडिएको मित्रता जीवनभरसम्म कायम हुने बताउनुभयो । 
खेलकुदमा हार जित स्वाभाविक विषय भएको बताउँदै खेलकुदले नयाँ पुस्ताका युवा विद्यार्थीहरुको स्वास्थ्य राम्रो बनाउँछ र अनुशासित भएर जिउन सिकाउँछ भन्नुभयो ।
 सांसद सुवालले खेलकुदलाई संविधानको मौलिक हकको रुपमा राखिनुपर्ने  आवाज निरन्तर संसदमा उठाइरहेका बताउँदै खेलमैदान, खेलकुद भवन र व्यायामशालाको संख्या धेरै भयो भने नागरिकहरु पनि स्वास्थ्य हुन्छन् भन्नुभयो ।
विद्यालय र कलेजका भवन वरिपरि सरकारले खेलमैदान, खेलकुद सामाग्रीको बन्दोबस्त गर्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय खेलकुद परिषद् र जिल्ला जिल्लाको खेलकुद समितिहरुमा खेलकुदमन्त्रीले आफ्नो व्यक्ति नियुक्ति नगरी खेलाडीहरु बीचबाट निर्वाचन गरी योग्य र इमानदार मान्छेलाई खेलकुदको जिम्मा दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपालका ८० लाख युवाहरुलाई १७१ भन्दा बढी देशमा सस्तो ज्यामी बन्न पठाइरहेको सन्दर्भ जोड्दै उहाँले नेपालका नदीनालाबाट उत्पादित बिजुली नेपालीहरुलाई खाना पकाउन, कृषि, उद्योग, व्यापार चलाउन सस्तोमा दिनुपर्ने पक्षमा संसदमा आवाज उठाइरहेका चर्चा गर्नुभयो ।
उहाँले तेस्रो विश्वयुद्ध दक्षिण एसियामै हुने खतराबारे प्रष्ट पार्दै संसारका न्यायाप्रेमी जनताले युद्धको विरोध गरी शान्तिको पक्षमा आवाज उठाइरहेको बताउनुभयो । 
युक्रेनमा रुसविरुद्ध अमेरिकाको छद्म युद्ध र इजारयली फा“सीवादलाई अमेरिकी सरकारले हातहतियार उपलब्ध गराएर प्यालेस्टाइनी जनताको भूमि कब्जा र नरसंहारजस्ता गतिविधिले तेस्रो विश्वयुद्ध एसियामै हुने अझ प्रष्ट भइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यस वर्ष भक्तपुर नपाले फागुनको अन्तिम सातामा अन्तरनगर ‘महिला कबड्डी प्रतियोगिता’’ गर्ने घोषणा गर्नुभयो ।
उहाँले सप्ताहव्यापी रुपमा सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ७८ वटा विद्यालयको सक्रिय सहभागिताले भक्तपुर नपालाई अगामी दिनहरुमा यस्ता खेलकुद गतिविधि सञ्चालन गर्न ऊर्जा मिलेको बताउनुभयो ।
सक्रिय व्यक्तिको आयु लामो हुने बताउँदै प्रमुख प्रजापतिले शिक्षा र स्वास्थ्यमा अगाडि बढेको देशको विकास पनि तीव्र रुपमा भइरहेको दृष्टान्तहरु प्रस्तुत गर्नुभयो ।
बागमती प्रदेश सांसद सृजना सैंजुले खेल जगतमा नयाँ पुस्तालाई उत्साहित गर्दाको दीर्घकालीन परिणाम सकारात्मक नै हुने विश्वास व्यक्त गर्दै भक्तपुर नपाले खेल महोत्सवको आयोजना गरी नगरका चोक चोक र सम्पदाका प्रांगणहरुलाई खेलमैदान बनाई समुदायको अपनत्व ग्रहण हुने ढंगले खेलकुद महोत्सव सम्पन्न भएको बताउनुभयो ।
भक्तपुर नपाका हरेक गतिविधिहरुमा यहाँका सामुदायको पनि सक्रिय भूमिका निर्वाह गरिरहेको बताउँदै उहाँले खेलकुदलाई सर्वसाधाण र जीवनपद्धितको रुपमा विकास गर्ने प्रयासमा भक्तपुर नपा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले अध्ययन र पढाईलाई सँगसँगै अगाडि बढाए मात्र विद्यार्थीहरुको सर्वाड्डिण विकास हुने बताउँदै विद्यार्थी जीवनलाई सक्रिय बनाइराख्न खेलकुदको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले खेलकुद र देश विकास समानान्तर ढंगले अगाडि बढ्न आवश्यक भएको बताउँदै विकसित देशहरुमा पदक पाउन भन्दा पनि स्वस्थ हुन मानिसहरु खेलकुदमा सक्रिय रहने बताउनुभयो ।
कार्यक्रममा भनपा युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाको आयोजनामा भएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा सहभागी ७८ वटा विद्यालयमध्ये ६० वटा विद्यालयले पदक पाउन सफल भएको बताउनुभयो । साथै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने रेफ्रि, निर्णायक र प्रशिक्षकलाई धन्यवादज्ञापन गर्नुभयो । कार्यक्रममा भनपा युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल र रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments