भक्तपुर । भक्तपुरका एक सय वर्ष पुगेका हरिलाल पंच सम्मानित भएका छन् । शनिबार उनलाई उनकै परिवारका सदस्यहरुले गठन गरेको पंच मु दवु (समूह)को दोश्रो वार्षिक भेला तथा बनभोज कार्यक्रममा सम्मान गरिएको हो । संस्कृतिविद् रत्न सायमी र दवुका अध्यक्ष दुरुकाजी पंचले दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
कार्यक्रममा संस्कृतिविद् सायमीले एक सय वर्ष पुगेका मानिस हाम्रो लागि गर्वको विषय भएको बताए । नाति सरहको आफूले एक सय वर्ष पुगेका हजुरबुबा जस्तो मानिसलाई सम्मान गर्न पाउनु आफनो लागि गौरबको विषय भएको उनले बताए । उनले एक सय वर्ष मात्रै होइन, ८० वर्ष उमेर पुगेका मानिसका अनुभब लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गर्न सके भावी पुस्ताको लागि उपयोगी हुने बताए ।
पंच मु दवु पंच थर भएका भक्तपुरेहरुको समूह हो । भक्तपुरमा विभिन्न थरका मानिसहरुमध्ये पंच थर भएका परिवारले सवै परिवारलाई एकतावद्ध गर्न २०७८ सालमा पंच मु दवू गठन गरेका थिए । उनीहरुका अनुसार भक्तपुरमा पंच थर भएका परिवार भक्तपुर नगरपालिका वडा नं १ इटाछें र भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जे किवाचो दुई ठाउँंमा छन् । तर २०७२ सालको महाभूकम्पपछि भने उनीहरु जिल्लाकै सूर्यविनायक पाण्डुबजार, लिवाली, कमलविनायक, सल्लाघारी लगायतका ठाउँंमा बसाई सराई गरी बस्न थालेका छन् । हाल दवुमा दुई सय ७२ सदस्य रहेको जनाइएको छ । कार्यसमिति भने नौ जनाको रहेको जनाइयो । 
सम्मानित हरिलाल पंचको जन्म १९८१ मंसिर १९ गते भएको थियो । उनले गएको मंसिर १९ गते ९९ वर्ष पूरा गरी एक सय वर्ष प्रवेशको अवसरमा जन्मदिन मनाइएको थियो । उनकी धर्मपत्नी केशरी पंच पनि छन् । उनको जन्म भने १९८५ मंसिर २३ गते भएको थियो । उनीहरुका चार छोरा र तीन छोरीहरु थिए । तीन छोरीहरु भने वितिसकेका छन् । उनका चार छोरा र चार बुहारीहरुसहित नातिनातिना, पनातिपनातिना, खनातिखनातिनाहरुसमेत भइसकेका छन् ।
बताइए अनुसार पंच थर हुनेहरु पहिला मल्ल थिए । मल्लकालको अन्त भई शाहकाल आएपछि शाहबंशीहरुले मल्लहरुलाई लखटथे । यस क्रममा मल्लहरु भक्तपुरबाट भागेर अन्यत्र वसोबास गर्न पुगे । त्यस क्रममा एकजना मल्लले भक्तपुरमै टिकीराख्न मल्लको ठाउँंमा पंच थर राखे । यही व्यक्तिबाट पंच थरका प्रादुर्भाव भएको अहिलेसम्मको अनुसन्धानबाट देखिएको दवुका पदाधिकारीहरुले सुनाए । यस अर्थमा अहिलेका पंच पहिलेका मल्ल थिए । 
...

All Comments.......


Please Login/Register To Comments