काठमाडौं । एनआईसी एसिया बैंकको व्यवस्थापनको लापरबाहीका कारण भित्री अवस्था निकै डरलाग्दो अवस्थामा पुगेको छ । त्यसलाई ढाकछोप गर्न राष्ट्र बैंकका अधिकारीहरूले सघाइरहेका छन् र त्यसैको आडमा सामाजिक सञ्जालको दुरुपयोग गर्दै ‘कन्टेन्ट एड’को सहारामा बैंकले आफूलाई अब्बल रहेको प्रचारबाजी गरिरहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले नेप्सेमा सूचीकृत संगठित संघसंस्थाहरूको वर्गीकरण गर्दा आफूलाई उत्कृष्ट बैंक भनी मनपरी प्रचारबाजी गर्दै आएको एनआईसी एसिया बैंक ‘ए’ समूहमा पर्न समेत असमर्थ रहेको छ र ‘बी’ समूहमा सूचीकृत हुन पुगेको छ । अरू आठवटा बैंक ‘ए’ समूहमा पर्दा आफूलाई ‘उत्कृष्ट’ बैंकको स्वघोषणा गर्दै आएको एनआईसी एसिया त्यसमा पर्न नसकेर ‘बी’ समूहमा सूचीकृत हुन पुग्नुले त्यसको भित्री आर्थिक अवस्था भयावह बन्दै गएको स्पष्ट भएको छ । एनआईसी एसिया बैंकमा गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै थुप्रिएको बैंक व्यवस्थापनले ‘ओभर भ्यालुएसन’ गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला हुँदैमा ‘प्राइम लोकेसन’को धितो लिलामीको नाममा जफत गर्नेगरेको छ । त्यसरी लिलामी गरेर बैंकको नाममा राखिएको तर त्यसलाई लिलामी गरेर सर्वसाधारणलाई बेच्न आनाकानी गरिएकै सम्पत्ति तीन अर्ब ५० करोडभन्दा धेरै रहेको छ । त्यस्तो, गैरबैंकिङ सम्पत्ति दुई वर्षभित्र लिलाम बिक्री गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, एनआईसी एसिया बैंकका व्यवस्थापक र सञ्चालकको लागि यो व्यवस्था अपवाद हुँदै आएको छ । त्यसरी गैरबैंकिङ सम्पत्ति थुपारेर राख्नु राष्ट्र बैंकको नीतिविपरीत भए पनि राष्ट्र बैंकले उसलाई कारबाही गर्न आनाकानी गर्दै आएको छ । त्यसरी बैंकको नाममा घरजग्गा (गैरबैंकिङ सम्पत्ति) थुप्रिँदै जाँदा नगद मौज्दात कम हुँदै जानु स्वाभाविक हो र एनआईसी एसियामा पनि त्यही भइरहेको छ । अहिले नेपालमा भएका बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआईसी एसिया बैंकले ऋणीका घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहनुपरेको छ । ‘बैंक पनि साथी पनि’ भनेर जनतालाई झुक्याएर त्यसरी घरजग्गा खाइदिएपछि उनीहरू त्यसविरुद्ध बाध्य भएर मुद्दा मामलामा जान थालेका हुन् ।

केही समयअघिसम्म एनआईसी एसिया बैंकले निर्बाधरूपमा किस्ता तिर्न ढिलो भएका ऋणीहरूको घरमा सुरक्षागार्ड राखेर मानसिक यातना र सामाजिक बेइज्जती गरेको थियो । राष्ट्र बैंकका अधिकारीहरूले त्यसलाई देखेनदेखेको गरेर मौन समर्थन जनाएका थिए । तर, मिडियाले त्यसको उछित्तो काडेपछि बैंकले त्यसरी सेक्युरिटी गार्ड पठाउन बन्द गरेको छ ।
एनआईसी एसियामा लगभग तीन हजार कर्मचारी छन् । तीमध्ये आधाजति अर्थात् करिब एक हजार पाँच सयभन्दा बढी कर्मचारीलाई बैंक व्यवस्थापनले करारमा राखेको थियो र छ–छ महिनामा करार नवीकरण गर्नेगरेको थियो । तर, त्यही बैंकमा राष्ट्र बैंकका अधिकारीहरूको सिफारिसमा राखिएका कर्मचारीहरूको हकमा भने त्यसरी करारमा बस्नुपर्ने बाध्यता थिएन । उनीहरू हाजिर भएको अर्काे महिनादेखि नै स्थायी हुने प्रक्रिया सुरु गरेको थियो । बैंकको त्यस्तो नियमविपरीत कार्य र विभेदकारी नीति राष्ट्रकै अधिकारीहरूको आडमा भएको हुनाले उनीहरूले थाहा नपाउने कुरै भएन । तर, राष्ट्र बैंकले त्यसलाई रोक्न लामो समयसम्म चासो देखाएन । त्यसमा पनि जब मिडियाले कुरा उठाउन थाल्यो अनि करारका कर्मचारीमध्ये केहीको करार नवीकरण नगरी निकालियो । अरूलाई स्थायी गर्ने प्रक्रिया सुरु गरियो । अहिले पनि बैंक व्यवस्थापनले तल्लो तहका कर्मचारीमाथि व्यापक दमन र विभिन्नखाले शोषण गरिरहेको छ । तर, पनि त्यसका विरुद्ध न कसैले मुख खोल्न सकेका छन् न त नियमनकारी निकायले नै त्यस्तो काम रोक्न हस्तक्षेप गरेको छ । नियमनकारी राष्ट्र बैंकले एनआईसी एसिया बैंकको यस्ता कुकृत्यलाई मौन समर्थन गर्नेबाहेक केही गरेको छैन । बैंकले राष्ट्र बैंकका अधिकारीहरूकै आडभरोसामा यसैगरी निक्षेप र कर्जाका अनेकौँ स्किमहरू सार्वजनिक गर्दै आएको छ । तर, त्यसको सफल कार्यान्वयन र नियमन हुँदै नहुँदा बैंक व्यवस्थापनलाई ब्रह्मलूट मच्चाउन सजिलो भएको छ । अर्काे बैंक तथा वित्तीय संस्था कुनै पनि नपाएका त्यस्ता स्थायी योजनाहरू ल्याएर एनआईसी एसिया बैंकले मात्र गर्न पाउनुमा अरू बैंकका व्यवस्थापकहरूले पनि आश्चर्य मान्दै आएका छन् ।

मैतीदेवीमा रहेको एक ऋणीको छ करोड चलनचल्तीको धितो दुई करोडमा बैंकले कब्जा गरेको घटनाको रुवावासीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ भने कपिलवस्तुको शाखाका ब्रान्च म्यानेजर राजेश रावलले जाँड खाएर कर्मचारी पिटेको घटना पनि त्यत्तिकै भाइरल भएको छ । बेलाबखत ऋणीहरूले एनआईसी एसिया बैंकका कुकृत्यविरुद्ध विरोध जुलुस र नाराबाजी गर्दै आएका घटनाहरू पनि यसअघि सार्वजनिक भएकै हुन् । एनआईसी एसिया बैंकले अधिकांश लगानी घरजग्गामा गर्दै आएको छ । घरजग्गामा पाइने ब्याज सहुलियतमा समेत एनआईसी एसिया बैंकले दुरुपयोग गरेको आशंकामा अन्तर्राष्ट्रिय मुद्रा कोषको दबाबमा राष्ट्र बैंकले अडिट गर्नुपर्ने अवस्था आएको छ । एनआईसी एसियाले किस्ता नतिर्ने ऋणीलाई सहुलियत दिने किस्ता तिर्ने ऋणीलाई सहुलियत नदिने विभेदकारी नीति लिँदै आएको छ र एक खर्बभन्दा बढी किस्ता नतिरेका घरजग्गा कर्जाको फर्जी ऋणीहरूको विवरण बनाएर सहुलियत दुरुपयोग गरेको आशंकामा आईएमएफले इन्टरनेसनल अडिटको दबाब दिएको हो । यी र यस्ता कुकृत्यको प्रपञ्च मिलाउने जिम्मा बैंकका एमजी अर्जुन खनियाँले लिँदै आएका छन् । उनले नै राष्ट्र बैंकका अधिकारीहरूलाई व्यवस्थापन गर्दै आएका छन् । पछिल्लो समय बैंकमा भएका बदमासी एकपछि अर्काे गर्दै सार्वजनिक हुँदै गएपछि एनआईसीका सकुनी भनेर कर्मचारीमा चिनिएका खनियाँ बिरामी भएको बहानामा अस्पताल गएको जवाफ दिएर समाचारको मुखबाट उम्किने प्रयास गरिरहेका छन् भने डीसीईओ सन्तोष राठी मौनता साँधेर पन्छिँदै आएका छन् ।

त्यहाँभित्र खनियाँ र सीईओ रोशन न्यौपानेले सञ्चालकको निर्देशनमा गरेको कुकृत्यको साक्षी बन्न अस्वीकार गर्दै अवकाशको मुखमा पुगेका सुधीर पाण्डेले राजीनामा दिएको आफ्नो प्रतिक्रियामा बताएका छन् । तर स्वयम् सीईओ न्यौपाने अब बिस्तारै अप्ठेरो अवस्थामा पुगेका छन् । बैंकभित्रका बदमासी थेग्नै नसक्ने गरी बिस्तारै बाहिर आउन थालेपछि निक्षेपकर्ताले धमाधम आफ्नो निक्षेप निकाल्न थालेका छन् । माघ महिनामा मात्र बचतकर्ताले १४ अर्ब रुपैयाँभन्दा बढी रकम निकालेको देखिएको छ । फागुन लागेपछि त्यो क्रम झनै बढ्दै गएको छ । पुस महिनामा बैंकको कुल निक्षेप तीन खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ थियो भने माघमा त्यो रकम घटेर तीन खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ । बैंकको यो गिर्दाे अवस्था रोक्न सक्ने सामान्य सीईओ न्यौपानेमा देखिएको छैन । चल्तापूर्जा ठानिएको खनियाँ समेत कान टालेर लुक्ने बाटो खोज्न थालेका छन् । बैंकले निक्षेप र कर्जाको सम्पूर्ण प्रक्रियालाई थाँती राखेर पुल्चोकको डुबेको श्री लालीगुराँस बहुद्देश्यीय सहकारीले जस्तै गरी ‘रिकभरी’मा ध्यान केन्द्रित गरेको छ । तर, अहिलेको आर्थिक मन्दीमा कर्जा चुक्ता गर्ने सामथ्र्य कुनै पनि ऋणीसँग देखिएको छैन । यस्तो अवस्थामा एनआईसी एसियाको रिकभरीको एक सूत्रीय अभियान डुबेका सहकारी संस्थाहरूको रिकभरीको मनचिन्ते अभियान यस्तै बन्न पुगेको छ । तर पनि आफ्नो गल्ती र बदमासी छोप्न र टाउको लुकाउन एनआईसी एसिया बैंकको व्यवस्थापनले एड समाचारलाई विज्ञापनको रूपमा (कन्टेन्ट एड) छापेर सामाजिक सञ्जाल रंगाइरहेको छ । नियमनकारी निकाय त्यसलाई देखेको नदेख्यै गरेर बसिरहेको छ । (आर्थिक दैनिक)

...

All Comments.......


Please Login/Register To Comments