काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते वरिष्ठ सङ्गीतज्ञ तथा प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको ८६ आँै जन्म जयन्तीका अवसरमा साङ्गीतिक प्रस्तुति सहितको कार्यक्रम प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजना गरेको छ । 
प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माकोे अध्यक्षता र  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम स्व. अम्बर गुरुङको तस्विरमा माल्यार्पण सहित दीप प्रज्वलन गरी शुभारम्भ गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति निशा शर्माले अम्बर गुरुङको योगदानलाई भुल्न नहुने र उहाँले देखेको नेपाली अकेष्ट्राको सपनालाई साकार पार्न प्रज्ञा प्रतिष्ठान प्रयासरत रहेको र सबैको सल्लाह अनुसार नै गतिविधिहरु अगाडि बढाउने बताउनु भयो । 
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले अम्बर गुरुङलाई राष्ट्रगानका सङ्गीतकार भनेर सम्बोधन गर्दा उहाँ साङ्गीतिक योगदान ओझेलमा पर्ने बताउनु हुँदै उहाँको बहुआयामिक व्यक्तित्वको चर्चा गर्नु भयो । उहाँले सङ्गीतज्ञ अम्बर गुरुङलाई सङ्गीतको ऋषिमुनिका रुपमा चित्रण गर्नुभयो ।
वरिष्ठ सङ्गीतकार दिपक जंगमले अम्बर गुरुङको नेपाली अकेष्ट्रा गर्ने सपनालाई सङ्गीतका विज्ञहरुसँग सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा आफ्नो बुबालाई सम्झने क्रममा छोरा किशोर गुरुङले बुबाले आफूलाई लेखेको पत्र वाचन गरेर सुनाउनु भएको थियो ।
कार्यक्रममा वरिष्ठ गायिका संगिता प्रधानले ‘कति सम्हालुँ चोटहरु...’; वरिष्ठ गायिक कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने...’; र विष्णु विष्णु अधिकारीले ‘मेरो यो गीतमा जुन मुर्छना...’बोलका गीतहरु गाउनु भएको थियो ।  
उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा वरिष्ठ गीतकार श्याम प्रकाश तमोट, सङ्गीतकार अमूल कार्की ढली लगायतले आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।  
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका परिषद सदस्यहरु, सभा सदस्यहरु, वरिष्ठ सङ्गीत तथा नृत्य  साधकहरु लगायत सङ्गीत नाट्य विधासँग सम्बन्धित  विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

...

All Comments.......


Please Login/Register To Comments