मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ लाय्कु अगाडिको श्वेतभैरवनाथ मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ को ५ लाख रुपैयांको लागतमा उक्त मन्दिर पुनर्निर्माण गरिएको उपभोक्ता समितिका सचिव उमेश श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समयमा प्रायजसो मध्यपुर थिमि र भक्तपुर जिल्लाको निर्वाचनमा उम्मेदवारहरुले उक्त मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेपछि चुनाव जित्न आत्मबल बढ्ने र चुनाव जित्ने जनविश्वास रहेको छ । उक्त मन्दिर परम्परागत शैलीमा स्थानीयकर्मीहरुद्धारा पुनर्निर्माण भइरहेको छ । श्वेतभैरवनाथ मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि क्षमापूजा गरेर भोज गर्दा लाग्ने खर्चका लागि स्थानीय संघसंस्था र व्यक्तिले स्वेच्छाले आर्थिक सहयोग गर्ने क्रम बढेको उपभोक्ता समितिका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।  श्वेतभैरव, गणेश, शिव लगायत ७ वटा देवताहरुको प्रतिमा उक्त मन्दिरमा रहेको पनि सचिव श्रेष्ठले बताउनु भयो । आफ्नो मुद्दा मामिला भएको व्यक्तिले उक्त मन्दिरमा पूजा आराधना गर्दा आफ्नो पक्षमा फैसला आउने जनविश्वास रहिआएको स्थानीय बासिन्दाले बताएका छन् ।

...

All Comments.......


Please Login/Register To Comments