भक्तपुर । एउटा सामान्य पोखरीको पुननिर्माण सकिएर उदघाटन गर्दा पनि हजारौ मानिस किन आएका होलान् ? धेरै मानिसको प्रश्न हुनसक्छ । तर भक्तपुरमा यस्तै देखियो । भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीमा रहेको भाज्यापुखू (भाजु पुखू (पोखरी) को पुननिर्माण सम्पन्न भइ गरिएको उदघाटन समारोहमा सिंगो भक्तपुर नगरबासीहरु सहभागी भए । 
कार्यक्रम उदघाटनमा सहभागिताका लागि भक्तपुर नगरपालिकाले सिंगो नगरबासीलाई सार्वजनिक आह्वान गरेको थियो । कार्यक्रम अनुसार नगरको नासमनाबाट यालीसहित पोखरीमा पुग्ने र उदघाटन कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको थियो । त्यस अनुसार नगरपालिकाका मेयर, उपमेयर, दस वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु मात्रै नभई इतिहास, संस्कृति, पुरातत्वविद्, स्कुल, कलेजका शिक्षक विद्यार्थी, सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट लगायत हजारौं सर्वसाधारण नगरबासीहरु सहभागी भए । पोखरीको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका थिए । 
पोखरीमा तीन दशकअघि पानी सकेको थियो । त्यसपछि पोखरी पानी पर्ने सिजनमा थोरैथोरै पानी र नपर्ने सिजनमा पूरै खेल मैदानजस्तो बनेको थियो । यही पोखरीलाई पानी जम्ने बनाई आकर्षक रुप दियो, त्यो पनि क्रंक्रिट हालेर होइन, परम्परागत शैलीमै । कालोमाटो विछ्याएर पानी जम्ने बनाई पोखरीको रुप दिइएको हो । साथै पोखरीको चारैतिर पनि आकर्षक बनाइएको छ । भाजु पोखरी तीन तहमा बनेको छ । यही पोखरीको शुक्रबार हजारौ नगरबासीहरुको भव्य उपस्थितिमा वडो तामझामका साथ उदभाटन गरिएको हो । 
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार भाजुपुखू २०५४ सालमा निर्वाचित नगरपालिकाका जनप्रतिनिधिहरूले २०५८ सालमा नै पुनःनिर्माण कार्य सुरु गरेको थियो । कार्यकालको अन्तिम समयमा मात्र सुरु भएको हुदा २०५९ साल साउनदेखि स्थानीय निकायमा जनप्रतिनिधिविहीनतासगै भाजुपुखू पुनःनिर्माण कार्यले पूर्णता पाउन सकेन । १५ वर्ष जनप्रतिनिधिविहीन अवस्थापछि २०७४ सालमा फेरि स्थानीय निकायमा प्रजापतिकै नेतृत्वमा नगरपालिकामा जनप्रतिनिधि आए । अनि फेरि यसको पुननिर्माणको काम थालनी भयो । यसरी २०५८ सालबाट सुरु गरी अहिले यो पोखरीको पुननिर्माण सम्पन्न भएको हो । अहिले पोखरी सधैं पानी जम्ने मात्रै नभई आकर्षक रुपमा बनेको छ । दुई करोड ५१ लाख बढीको लागत इष्टमेटमा सुरु भएको पोखरी अहिले एक करोड ८७ लाख ३५ हजार ६ सय ३६ रुपैयाँं ३३ पैसामा पुननिर्माण सम्पन्न भएको हो । पोखरी ३२ रोपनी ११ आना दुई पैसाको भव्य क्षेत्रफलमा फैलिएको छ । 
यति भव्य पोखरीभित्र मन्दिर थिएन पहिला । पोखरी पुननिर्माणको क्रममा वीचमा थुम्को भने थियो । त्यसपछि पोखरी पुननिर्माणको क्रममा भक्तपुर नगर कार्यपालिकाको २०७५ साउन २९ गते बसेको बैठकले स्थानीय इतिहास एवं संस्कृतिविद् प्राडा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय अध्ययन कार्यदल गठन ग¥यो । कार्यदलले सात महिना अध्ययन गरेर त्यसको विस्तृत अध्ययन प्रतिवेदन नगरपालिकामा प्रस्तुत ग¥यो । त्यही प्रतिवेदनको आधारमा अहिले पोखरीभित्र अग्लो जलेश्वर मन्दिर पनि बनाइएको छ । त्यसको पनि शुक्रबार नै उदघाटन गरियो ।   
मन्दिरको चारैतिर तीन तहमा बाटो छ । तीनतिर बाटो बने पनि अझै पनि पोखरीको दक्षिणभाग भक्तपुर क्याम्पसतर्फ बाटो खोल्न बाँकी नै छ । त्यही कारण क्याम्पसका पदाधिकारीहरुसित त्यसबारे पटक पटक छलफल गरिराखेको मेयर सुनिल प्रजापतिले जनाए । भाजुपुखूको स्वरूप फेरिएको छ । यसले  भक्तपुर आउने आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य बन्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
पोखरी भक्तपुरको प्रसिद्ध सिद्धपोखरीको बाटो पारि छ । पोखरी भक्तपुर बहुमुखी क्याम्पससँंग जोडिएको छ । पोखरी स्थानीय लक्ष्मीनारायण खत्री, कृष्णप्रसाद दुमरु, केशव कोजू र जीवन दुवाल अध्यक्ष रहने गरी चार वटा उपभोक्ता समितिमार्फत सम्पन्न भएको जनाइएको छ । कार्यक्रममा उनीहरुसहित पोखरी पुननिर्माणमा सहयोग गर्ने धेरैलाई सम्मान पनि गरिएको थियो ।
इतिहास एवं संस्कृविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठका अनुसार अनुसार पोखरी काठमाडौंको रानीपोखरीको पनि आमा हो अर्थात् यो १२ औ शताव्दीमै बनेको देखिएको छ । कार्यक्रमका क्रममा भाजूपुखू सम्बन्धी सबै विवरण सहितको भाजुपुखू र जलेश्वर मन्दिर पुनःनिर्माण पुस्तक पनि विमोचन गरिएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments