डा इन्दुल केसी
प्रारम्भ
नेपालको भौगोलिक विभाजनमा हिमाल, पहाड र तराइ रहेका छन् । यी तीनै क्षेत्रको आ–आफ्नै विशेषताहरु छन् । यस लेखमा केवल उपन्यासमा देखिएको एउटा कालो पहाडको चित्र प्रस्तुत गर्दैछु । प्रजापति तिमल्सिनाले नेपाली साहित्यक्षेत्रमा ‘अनेरुवा’ उपन्यास (२०७६), ‘विधुवा बासना’ (२०७६) ता ‘कालो पहाड’ उपन्यास (२०७८) सालमा प्रकाशित गर्नुभयो । प्रकाशित कृतिहरुको समयलाई मात्र हेर्ने हो भने उहाँले विगत ६ वर्षदेखि आफ्ना कृतिहरु पाठकसमक्ष पस्किँदै आउनुभएको छ । कुनै लेखकले आफ्नो कुनै पुस्तक प्रकाशन गर्नुभन्दा पहिले निकै समय आफूले पत्रिकामा आफ्ना लेखहरु प्रकाशित गर्ने गर्दछन् । यसको अर्थ प्रजापति तिमल्सिनाको साहित्यिकयात्रा कहिलेदेखि कसरी सुरु भयो भन्ने कुरा एकिनका साथ म भन्न सक्दिनँ ।
उपन्यास
नेपाली भाषामा लेखिएका उपन्यासको इतिहासलाई हेर्ने हो भने गिरीशवल्लभ जोशीको ‘वीरचरित्र’ नामक पुस्तक वि.सं. १९६० मा प्रकाशित भएको मानिन्छ । रुद्रराज पाण्डेको ‘रुपमती’ वि.सं. १९९१ मा प्रकाशित भएको थियो । यसपछि रुपनारायण सिंहको ‘भ्रमण’ नामको उपन्यास प्रकाशित भएको थियो । यसपछिका धेरै उपन्यासकारहरुमा लैनसिंह बाङ्देल, डाइमन्ड शमशेर, रुद्रराज पाण्डे, पुष्कर शमशेर आदिको नाम आउँछ । नवोदित उपन्यासकारहरुका पङ्क्तिमा प्रजापति तिमल्सिना पनि देखा पर्नुभयो । उपन्यासकारहरुले मानिसको अनुभवलाई आफ्नो काल्पनिक रङ्ग दिएर कुनै निश्चित परिवेशमा विभिन्न पात्रहरुको कामलाई सुत्रवद्ध गरिएको हुन्छ । खासगरी समाजमा रहेका विभिन्न वर्गका पात्रहरुका पारिवारिक, आर्थिक, सामाजिक, अभिरुची इत्यादि कुराहरुलाई उपन्यासमा दर्साइने गरिन्छ ।
कालोपहाड
यस उपन्यासलाई उपन्यासकार तिमल्सिनाले निम्नलिखित पाँचओटा परिच्छेदहरुमा विभक्त गर्नुभएको छ ।
१) शब्द हराएको कथा (२) लुगा च्यातिएको पिर छैन तर मनै च्यातिन्छ कि भन्ने पिर (३) आँधीमा चिराक जल्दैन (४) त्यसैले होला पशुले आँसु नझार्ने (५) पुरुष भेडो जात पो हो ।
उल्लिखित परिच्छेदहरुको शीर्षकले यस उपन्यासका पाठकहरुलाई कौतुहलता जगाउँछ । ती कौतुहलताभित्र केही प्रश्नहरु उब्जिन्छ । उदाहरणको लागि ः
१) कसको कथा ? (२) के कुरामा के शब्द हराएको ? (३) किन मनै च्यातिन्छ कि भन्ने पिर ?
यसरी नै आँधीबेरी, हुरी चलेको बेला हावाको झोक्काले कुनै पनि बत्ती बल्न सक्दैन । यो कुरा सबैलाई थाहा नै भएको होला तर यहाँ उपन्यासकारले कस्तो आँधी र कस्तो चिराक भन्न खोजेको हो ? भन्ने कुराले सबैलाई कुरिकुरी लगाउँछ । दुःख पर्दा मानिसको आँखाबाट आँसु झर्छ यो स्वाभाविक छ तर किन पशुको आँसु झर्दैन ? यसरी नै यो उपन्यासको अन्तिम परिच्छेदको शीर्षकले पुरुष भेडो जात हो भनेर किन भनियो ?
उपन्यासकार प्रजापति तिमल्सिनाले यस उपन्यास अग्र भागमा उपोद्घात शीर्षकअन्तर्गत यो उपन्यास कुन परिवेशमा कसरी तयार गरियो भन्ने कुरालाई प्रकाश पार्नुभएको छ । यस उपन्यासका पात्रहरु माइला, अमृत, रुपालगायतले आफ्नो समाजमा भोगिआएको वर्गीय विभेद, लैङ्गिक र जातीय विभेदको एक सशक्त चित्रण उपन्यासकारले अति रोचक साथै मार्मिक रुपमा प्रस्तुत गर्नुभएको पाइन्छ । 
यस उपन्यासबारे विद्वान्को दृष्टि
यस उपन्यासलाई डा. यज्ञश्वर निरौलाले सीमान्तकृत दृष्टिकोणमा कालो पहाडअन्तर्गत निम्न उपशीर्षकहरुमा विस्तृत चर्चा गर्नुभएको छ ः
१) कालो पहाडमा सीमान्तीयता (२) महिलाको परिचय (३) वर्गीय आधारमा महिला (४) लैङ्गिक विभेदमा महिला (५) जातीय आधारमा महिला (६) वर्चश्व÷प्रभुत्वको आधारमा महिला (७) लेखकीय दृष्टिकोण र (८) निष्कर्ष गरी ८ ओटा बुँदाहरुमा विवेचना गर्नुभएको छ । डा. निरौलाले यहाँ प्रस्तुत गर्नुभएको ९ पृष्ठको समीक्षा उच्च कोटिको रुपमा रहेको मैले पाएँ ।
अन्तमा
पुष्पापराग साहित्य प्रतिष्ठान भक्तपुरले प्रकाशन गरेको २१७ पृष्ठको यो पुस्तकको मूल्य रु. ३७५ मात्र रहेको छ । सन्तोष दाहालले तयार गर्नुभएको आवरण डिजाइन आकर्षक छ । नेपाली साहित्यमा अभिरुचि राख्ने पाठकहरुले यो उपन्यास पढ्नलायक तथा पुस्तक सङ्ग्रहणीय छ भन्ने मलाई लाग्दछ ।
०००

...

All Comments.......


Please Login/Register To Comments