भरत ज्ञवाली
सिद्धिशालिग्राम जेष्ठ नागरिक आश्रम,
भीमसेनस्थान, भक्तपुर
प्रारम्भ
‘शब्दसागरका मोती’ शीर्षकको पुस्तक बहुआयामिक विशेषतायुक्त व्यक्तित्व डा. इन्दुल केसी (हालै मात्र मैले उहाँलाई डा. इन्दुआनन्द झाको नामले पनि चिनेँ)द्वारा लिखित समीक्षासङ्ग्रह हो जुन पुस्तक आवरणमा नै उल्लेख छ ।
पुस्तकको विषयसूचीको क्रमानुसार प्रस्तुत शब्दसागरका मोती भनिएका २२ वटा मोतीलाई क्रमशः औंलाले समाउँदै हत्केलामा राखेर सुम्सुम्याउँदा एउटा ठूलो मिठाई पसलमा बसी विभिन्न मिठाईहरुको रसास्वादन गरेझँै अनुभूति भयो ।
शब्दसागरका मोतीहरु
पुस्तकमा डा. सत्यमोहन जोशी (नाटक), महात्मा सुशील (योग), परशु प्रधान (कथा), केशवराज राजभण्डारी (भजन), पशुपतिमान पःमां (कथा), सरोजनि तण्डूकार (सङ्गीत), ओतबहादुर खड्का (राधेश्याम खेमका लिखित वेद सम्बन्धी रचना अनुवाद), बासुदेव ढकाल (यात्रा), ललिजन रावल (राहुल सांस्कृत्यायन लिखित बौद्ध दर्शनको अनुवाद), निर्मला श्रेष्ठ (निबन्ध), जीवनाथ अधिकारी (इतिहास) लगायत अन्य विविध विषयका रचनाहरुको समीक्षा गरिएको छ । समीक्षा छोटा–छोटा, मिठा–मिठा हुनुका साथै मूल रचनालाई र रचनकारलाई चिनाउन सफल छन् । यहाँ उल्लेखित रचनाहरुको नाम समीक्षाले अँगालेका विविध विधाहरुको प्रतिनिधि पात्रको रुपमा मात्र प्रस्तुत गरिएको हो, अन्य रचनाकारहरुको नाम उल्लेख नगर्नु उहाँहरुको कृतिलाई कम महङ्खव दिइएको अवश्य पनि होइन ।
अब, शब्दसागरमा समावेश रचनाहरुको समीक्षाका सम्बन्धमा दुई चार शब्द कोर्न चाहन्छु । पुस्तकको समालोचकीय भूमिकामा प्रा.डा. कृष्णप्रसाद दाहाल लेख्नुहुन्छ, “शब्दसागरका मोती एकै खालको मोतीले उनिएको छैन .... वैदिक साहित्यदेखि लिएर अर्वाचीन साहित्यसम्मका विषयवस्तुहरुले यो कृतिको आयाम तयार भएको छ ।” प्रश्न उठ्न सक्छ समीक्षाकालागि छनौट गरिएका कृतिहरुलाई नै छान्नु पर्ने आधार के हो ? यो प्रश्नको जवाफ लेखकीयमा उल्लेख “‘शब्दसागरका मोती’ यो मेरो अनुभूति र अध्ययन त्रिवेणी बनेर आएको कृति हो” भन्ने लेखकको भनाईबाट स्पष्ट हुन्छ । हुन पनि लेखक कुनै एक विधाको वैशिष्ट्यमा जड भएर अडिरहने नभई चौतर्फी बुर्कुची मार्ने व्यक्तित्व हुन् । यसो हुँदा पनि प्रस्तुत गरिएका समीक्षाहरु विविध विषयमा सतही अध्ययन गरेर नभई गहन र विश्लेषणात्मक अध्ययन गरेर नै प्रस्तुत गरिएको भन्ने प्रष्ट हुन्छ । काठमाडौंमा मात्र झुत्तिरहने लेखकहरुको परिधि पार गरेर डा. इन्दुलले काठमाडौं बाहिरका रचनाकारहरु, नेपाली भाषाका मात्र नभई नेवारी भाषामा कलम चलाउने लेखकहरुलाई पनि सम्झनुभएको छ ।
विविधता
यसरी एउटै लेखकले विविध विधा – वेददेखि लिएर साहित्यका हाँगाबिंगा – निबन्ध, उपन्यास, कविता, कथा, मुक्तक भजन, नियात्रा, सम्बद्ध रचनाहरुका विहङ्गम समीक्षा प्रस्तुत गर्नु निकै नै दुरूह प्रयास हो जस्तो लाग्छ । समीक्षा सङ्ग्रहमा प्रकाशित गरिएका समीक्षाहरुको न्यायोचित समीक्षा गर्न (समीक्षाको पनि समीक्षा गर्न) त मूल कृति नपढी सतही गन्थन गर्नुको खासै अर्थ रहँदैन तापनि पुस्तकमा समीक्षाकारबाट प्रस्तुत भएका झण्डै चौधवटा विभिन्न विद्याका बाइसवटा रचनाहरुको समीक्षा सरसर्ती पढेपछि मूल कृतिको चिरफाड गरी पाठकलाई चिनाउन समीक्षाकारलाई सफल नै भएको ठान्नुपर्छ ।
पुस्तकमा प्रस्तुत विविधतायुक्त समीक्षात्मक रचनाहरुलाई पढेपछि पाठकमा मूल कृति पढ्ने हुटहुटी जगाउन सक्नु समीक्षाको उपलब्धी हो । समष्टिमा पुस्तकलाई शब्दसागरका मोती खोज्ने क्रममा देखिने सागरका विविध रुप, सुनामी, टोरनेडो, टाइफून, हरिकेन जस्ता आँधिबेरी छिचोली कुशलतापूर्वक पानी जहाज चलाएर मोती टिप्न सक्नु नै समीक्षकको एक कुशल चालकका रुपमा सफलता हो । अर्को शब्दमा, प्रस्तुत कृतिलाई एक कुशल शिल्पीले उनेको ‘शब्द नौगेडी’को सुन्दर माला भन्नु अत्युक्ति नहोला । जुन नौगेडीहरुमा बाइस मोतीको टलक र झलक दिन सक्नु शिल्पकारको खुबी मान्नु पर्छ ।
अन्तमा,
डा. इन्दुल केसीले यो ‘शब्दसागरका मोती’ समीक्षा सङ्ग्रह पाठक सामू पस्केर प्रशंसनीय कार्य गर्नुभएको छ । यस समीक्षात्मक कृतिलाई ‘गागर मे सागर’ भने हुन्छ । सङ्ख्याका रुपमा बाइस र विधागत रुपमा करीब चौध समूहको बिम्ब दिने नौगेडीको माला झैं आकर्षक भन्न मिल्ने यो पुस्तक एकपटक गहिरिएर वा त्यो नभए पनि सरसरती पढ्नु समीक्षित मूल रचनाहरु खोजी खोजी अगाडि अध्ययन गर्नका लागि प्ररेणादायी हुने मेरो धारणा छ ।
जीवनको यस घुम्तीमा आइपुगेर पनि डा. इन्दुलले यतिका कृतिहरुको समीक्षा गरी ‘शब्दसागरका मोती’को रुपमा एकैसाथ पुस्तकाकारमा प्रस्तुत गरेर आफ्नो लेखन यात्रा अनवरत राख्दै धैर्यताको र अध्ययनशीलताको परिचय दिनुको साथै साहित्यप्रेमीहरुका लागि अविस्मरणीय खुराक दिनुभएको मैले अनुभव गरेको छु ।
(७७ वर्षीय यी पङ्क्तिकार सिद्धिशालिग्राम जेष्ठ नागरिक आश्रम, भिमसेन स्थान, भक्तपुरमा बस्दै आउनुभएको छ ।)

...

All Comments.......


Please Login/Register To Comments