अरुले भनेर देखाए तर उनले गरेर देखाए 
भक्तपुर । नेपाली राजनीतिक बृतमा प्रधानमन्त्रीको अफर आए पनि नबनेको भनेर चर्चा इतिहासमा छ । तर यो घटना सत्य हो वा होइन पुष्टिको कुनै आधार छैन । तर भक्तपुरका एकजना किसान नेता जो उहिलेउहिले नै प्रधानपञ्च भइसकेर पनि धेरै पछि वडा अध्यक्षमा सिमित भएर देखाएर त्यागको पुष्टि गरेका छन् । दुईदुई पटक मेयर भइसकेर पनि वडा अध्यक्षमा रहन राजी त्यागी नेता नेपाली राजनीतिक इतिहासमा सायदैमध्ये एक किसान नेता हु्न ज्ञानबहादुर न्याइच्याई । त्यही त्यागी नेतालाई भक्तपुरमा एक भव्य कार्यक्रम गरी सम्झनास्वरुप स्मृति सभा गरेको छ । 
भक्तपुर नगरपालिकामा दुईदुई पटक मेयर भएर पछि दुई पटक वडा अध्यक्ष नै भएर पनि जनताको सेवामा लागेका स्वर्गीय किसान नेता ज्ञानबहादुर न्याइच्याईलाई एक कार्यक्रम गरी सम्झना गरेको हो । उनी २०३९ र २०४९ मा गरी दुई पटक मेयर तथा २०४४ र २०५४ गरी दुई पटक भक्तपुर नगरपालिका वडा नं १ (साविक वडा नं १७) का वडा अध्यक्ष भएका थिए ।
सामान्य गरिव किसान परिवारमा जन्मिएका भक्तपुर नगरपालिका वडा नं १ (साविक वडा नं १७) का स्वर्गीय न्याइच्याईको जन्म सामान्य गरिब किसान परिवारमा विसं १९९२ वैशाख १५ गते भक्तपुरको भार्वाचो टोलमा भएको थियो । २०३९ सालको स्थानीय निर्वाचनमा उनी पहिलो पटक भक्तपुर नगरपालिका (तत्कालिन नगर पञ्चायत) मा प्रधानपञ्चमा विजयी भएका थिए । प्रधानमपञ्च भइसकेका उनी २०४४ सालको स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिका वडा नं १ (साविक वडा नं १) वाट वडा अध्यक्ष निर्वाचित भए । २०४९ सालको स्थानीय निर्वाचनमा पुनः भक्तपुर नगरपालिकाको मेयर निर्वाचित भए उनी । एकपटक प्रधानपञ्च र एकपटक मेयर भएका उनी २०५४ सालको निर्वाचनमा पुनः भक्तपुर नगरपालिका वडा नं १७ को वडाध्यक्षमा निर्वाचित भए । 
‘प्रधानपञ्च भइसकेको व्यक्ति वडाध्यक्ष हुनुपर्दा उनमा कुनै हिनताबोध थिएन, उनका समकालिन एवं भक्तपुर नगरपालिकामा उनीसँंगै वडा अध्यक्ष भई जनप्रतिनिधिका रुपमा काम गरेका रवीन्द्र खर्वुजा भन्छन्, उनी पार्टीले जो जहाँ उपयुक्त हुन्छ, त्यहाँ त्यसैले काम गर्नुपर्छ, व्यक्तिगत महत्वाकाङ्क्षा राख्नुहुन्न भन्ने मान्यताका असल मानिस थिए ।’ रवीन्द्रले उनीसँंगै भक्तपुर नगरपालिकामा २०४४, २०४९ र २०५४ साल गरी तीन कार्यकालमा वडा अध्यक्ष भएर काम गर्ने अवसर पाएका थिए । यो तीन कार्यकालमा स्वर्गीय न्याइच्याई एक पटक मेयर थिए भने दुई पटक वडा अध्यक्ष । ‘भक्तपुर नगर पञ्चायतमा जनप्रतिनिधिको रूपमा प्रवेश गर्दा उनी सडक गल्लीमा आफै च्वाफी लिई सरसफाइमा लाग्थे, खर्वुजाले थपे, यही नै अहिले भक्तपुर सफा नगर भएको पहिलो जग थियो ।
न्याइच्याईको १३ औ स्मृति सभा एवं छात्रबृद्धि वितरण गरी उनलाई सम्झेको हो । उनी संस्थापक रहेको भक्तपुर नगरपालिका वडा नं १ मा रहेको गणेश माध्यमिक विद्यालयको आयोजनामा भएको उनकै  सम्झनामा स्थापित छात्रबृति वितरण कार्यक्रममा उनलाई सम्झना गरेको हो । उनको सम्झनामा एक मिनेट मौन धारण गरी कार्यक्रम सुरु भएको थियो । साथै उनको फोटोमा माल्यापर्ण गरिएको थियो । 
‘उनी आफूसँंग औपचारिक शिक्षा नभए पनि उनैले यो स्कुलको स्थापना गरे, स्कुलका प्रधानाध्यापक गणेशराम थुसाले भने, उनले नै भक्तपुर नगरपञ्चायतको प्रधानमपञ्च हुँंदा नेपालमै पहिलो पटक कक्षा ६ र ७ निःशुल्क गर्ने निर्णय गरेको थियो । कार्यक्रममा उनको सम्झनामा स्थापित छात्रबृति कोषबाट स्कुलका १० जना छात्रछात्राहरुलाई छात्रबृति वितरण गरिएको थियो । सरकारी स्कुल भए पनि स्कुलले विभिन्न शीर्षकमा उठाउने रकम छुट हुने गरी छात्रबृति वितरण गरेको हो । उनको छात्रबृति कोषमा विभिन्न दाताहरुबाट कोष राख्ने कार्य प्रत्येक वर्ष जारी रहेको र हाल कोषमा पाँच लाख ६३ हजार भन्दा वढी रकम जम्मा भइसकेको कार्यक्रममा जनाइयो । 
स्वर्गीय न्याइच्याईको विवाह २०१२ सालमा भक्तपुर नगरपालिका वडा नं ६ बस्ने बिकुमाया दुवालसँग भएको थियो । धर्मपत्नी विकुमायाले स्वर्गीय श्रीमान् जनताको काममा दिनरात नभनी सेवा गर्ने मानिस भएको बताइन् । उनी २००९ सालदेखि नै जनताको सेवामा सक्रिय भएको उनले सुनाइन् ।
२०४५ साल भदौ ९ गते राज्यस्तरबाट गरिएको भक्तपुर काण्डको सिलसिला राति १२ बजे पक्राउ परी उनले २० महिना जेल जीवन बिताएका थिए । बहुदल पुनःस्थापनापछि भएको नेपाल मजदुर किसान पार्टी भक्तपुरको प्रथम जिल्ला सम्मेलनले उनलाई निर्विरोध जिल्ला अध्यक्ष निर्वाचित गरेको थियो । उनी २०६६ सालदेखि नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सल्लाहकारको रूपमा जीवनको अन्तिम दिनसम्म रहेका थिए ।
उनी चिनी रोगले पीडित थिए । प्रेसरको पनि रोगी थिए । खाना नरुच्ने, टाउको दुख्ने रोगका कारण लामो समयसम्म उनमा शारीरिक अस्थिरता देखाप¥यो र पछि ब्रेन ट्युमर भएको पुष्टि भयो । २०६७ चैत १२ गते ७५ वर्षको उमेरमा उनको दुःखद निधन भएको थियो । न्याइच्याई जस्तो गर्विलो वडाको वडा अध्यक्ष भएर न्याइच्याईको भावना अनुसार जनताको सेवामा समर्पित हुन पाएकोमा सोही वडाका वर्तमान वडा अध्यक्ष श्यामकृष्ण खत्रीले गर्व गरे । 

...

All Comments.......


Please Login/Register To Comments