भक्तपुर । नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समितिको आयोजनामा बिहीबार ४५औं शिक्षक दिवस प्रवचन कार्यक्रमका साथ मनाएको छ ।
कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले शिक्षक दिवसको शुभकामना दिँदै शासक दलहरु जस्तोसुकै दुर्दशा भोगेपनि अन्ततः मन्त्री र पदकै निम्ति हानठाप गरिरहेको बताउनुभयो । अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गरिरहेका शासक दलहरुले भ्रष्टाचार र आर्थिक अनियमिततालाई निरन्तरता दिइरहेको उहाँको भनाइ छ । इज्जत, प्रतिष्ठा, नैतिकता, सिद्धान्त र विचारको संकट ल्याएकै कारण शासक दलहरुबाट देशमा आर्थिक मन्दी थपिएको उहाँले स्पष्ट पार्नुभयो । समुदायले बुझ्ने गरी, समाजले अनुभव गर्ने गरी शिक्षकहरुले सहभागीतामूलक र अन्तरक्रियात्मक छलफल कार्यक्रमहरु ल्याउनुपर्ने बताउँदै उहाँले विद्यार्थीहरु कक्षा १२ पछि विदेश जानुमा शासक दल, अभिभावक र शिक्षकहरुको पनि कमजोरी रहेको औल्याए । अंकको जोड घटाउतिर लागे जो सुकैले दुःख पाउने बताउँदै उहाँले शिक्षकहरु नै सभ्य र उत्कृष्ट समाज निर्माणका लागि अग्रसर हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सहसचिव जगन्नाथ सुजखुले शिक्षक संघले विगतदेखि हालसम्म नियमित रुपमा मावि तहसम्मका शिक्षा अनिवार्य र निःशुल्क गर्न जोड दिएकोमा हालसम्म पनि सरकारले नगरेको बताउनुभयो । उहाँले अग्रजहरुबाट भएको शिक्षक संघर्ष र आन्दोलनबाट हासिल गरेका उपलब्धिलाई कदर गर्दै शिक्षा क्षेत्रमा राम्रा र सक्षम शिक्षकको आवश्यकता रहेको चर्चा गर्नुभयो । उहाँले बाल विकास सहयोगीहरुलाई शिक्षकको दर्जा दिनुपर्नेमा जोड दिँदै विषय र तहअनुसारको जनशक्ति पु¥याए मात्रै शैक्षिक संस्था दिगो रहने बताउनुभयो । हरेक परीक्षाले विद्यार्थीलाई खारिँदै लाने बताउँदै शिक्षा विधेयकभित्र रहेका कमी कमजोरीहरुलाई संशोधन गरी एसइई परीक्षालाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । जोरपाटी माविका प्रधानाध्यापक हरिप्रसाद ढकालले व्यंग्यात्मक कविता प्रस्तुत गरेको उक्त कार्यक्रममा अर्का केन्द्रीय सदस्य अम्बिका न्याइच्याईले वि.सं २०२८ सालको शिक्षा ऐनलाई टेकेर काम गरिरहेका शिक्षकहरुलाई शिक्षा विधेयक २०८० ले अप्ठ्यारो पारेको बताउँदै निःस्वार्थ र प्रविधिमैत्री शिक्षाका लागि अध्ययनको परम्परालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । विगतका वर्षमा साक्षरता र प्रौढ कक्षामार्फत भक्तपुरको शैक्षिक विकासका लागि निरन्तर काम गरेको स्मरण गर्दै उहाँले श्रम र देशलाई माया गर्ने नागरिक उत्पादन गर्न संघर्षलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष गणेश राम थुसाले शिक्षक संघर्षमा अग्रजहरुको योगदानलाई कदर गर्दै उहाँले शिक्षकको सिप र साधनलाई देश र जनताको हितमा सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षक संघले क्रान्तिकारी ट्रेड युनियनबादको रुपमा काम गरिरहेको बताउँदै वि.सं २०३६ देखि भएका विभिन्न संघर्ष र आन्दोलनबाट मौलिक राजनीतिक अधिकारलाई स्थापित गरेको औल्याउनुभयो । कार्यक्रममा राजन लाखा, घनश्याम खड्कालगायतले शिक्षक दिवसको चर्चा गर्नुभयो । 

...

All Comments.......


Please Login/Register To Comments