भक्तपुर । भक्तपुरमा रहेका धेरै स्कुलहरुमध्येको एक हो भेलुखेलस्थित आदर्श आजाद मावि कलेज । यो भक्तपुरको आदर्श बसस्टपबाट उत्तरको बाटो हुँदै सिद्धि बाल तथा महिला अस्पताल जाने चोकमा  अछ । त्यही चोकको पश्चिम भएर केही पाइला पार गरेपछि बाँयातिर देखिन्छ, अर्धवृत्ताकारमा लेखिएको आदर्श आजाद माध्यमिक विद्यालय ।
त्यही नामको मुनि गेटबाट भित्र छिरेपछि देखिन्छ आदर्श आजादको शैक्षिक भव्यता । खुला चौर, हरियाली बगैंचा, पूर्व फर्केको रातो भवन, उत्तर फर्केको पहेंलो भवन, त्यही भवनको पूर्वमा छ दुई तलाको अर्काे भवन, पश्चिममा छ, अर्को भवन । विद्यालयको भौतिक पूर्वाधार यत्तिमा सीमित छैन । ती दुई भवन ( पहेंलो चारतले र रातो दुईतले) को समिपमा उत्तरतिर हेर्दा देखिन्छ, अर्काे रातो भवन । यतितमात्र हैन, स्कुलको भौतिक पूर्वाधार, उत्तरतिर फर्केका भवनको पछाडि पनि छ, अर्को दुई भवन ।
भवनहरूमात्र हैन, खुला चौरमात्र हैन, भवनका कक्षाकोठाहरू पनि भव्य छन्, कक्षाकोठाहरू विभिन्न शैक्षिक सामग्रीले भरिएका छन् । कक्षाकोठाका डेस्कबेञ्चहरू विद्यार्थीमैत्री छ । विद्यार्थीका लागि पुग्दो मात्रामा प्रयोगकर्ता मैत्री शौचालय, बालबालिकामैत्री खानेपानीको बन्दोबस्त छ । विद्यालय परिसरभित्र पुग्ने बित्तिकै बेग्लै र आफ्ना सन्तानको सुरक्षित भविष्यको सहज वातावरण भेटिन्छ ।
विद्यालयको यो बाहिरी वातावरणसँगै भित्री वातावरण अर्थात शैक्षिक वातावरणलाई दरिलो बनाउन आवश्यक तत्वहरू कक्षाकोठामम देखिन्छ । विद्यालयमा शैक्षिक सन्दर्भ सुहाउँदो पुस्तकहरू सहितको पुस्तकालय, विज्ञान विषयमा प्रयोगात्मक अभ्यास गराउनका लागि विज्ञान प्रयोगशाला, गणित विषयका शैक्षिक सामग्री कक्ष आदिको सुविधायुक्त विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिक र अतिरिक्त क्रियाकलाप गराउँदै शैक्षणिक क्रियाकलाप गराउँदै आएको छ ।
यसैकारण भक्तपुरका उत्कृष्ट विद्यालयहरूको सूचीमा पर्दै आइरहेको छ, वि. सं. २०१६ सालमा स्थापना भएको आदर्श आजाद माध्यमिक विद्यालय । विद्यालयले हासिल गरेको उत्कृष्ट नतिजा, बालबालिकाको पढाइ र सुरक्षित भविष्यका लागि गरिरहेको फरक अभ्यास, विद्यालयको मायालु र पारिवारिक शैक्षिक वातावरणजस्ता कारण सो विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको छ ।
देशभर विद्यार्थी अभियान भइरहँदा आदर्श आजादमा पनि विद्यार्थी भर्ना गराउने अभिभावकको संख्या बढ्दो देखिएको छ । विद्यालयले गरिरहेको शैक्षिक अभ्यास र प्रगति, विद्यार्थीलाई दिएको ज्ञान र सिपबाट आफू प्रभावित भई आफ्ना दुबै सन्तानलाई उक्त विद्यालयमा भर्ना गराउन आफू आएको एक अभिभावकले बताए ।
विद्यालयमम बढिरहेको आकर्षणलाई मध्यनजर गर्दै शिक्षाको स्तरलाई कायम गर्न विद्यालयले यो शैक्षिक सत्रदेखि प्रवेश परीक्षाको समेत व्यवस्था गरेको छ । प्रवेश परीक्षा उत्तीर्ण गरेपछि विद्यार्थी र अभिभावकको उपस्थितिमा दुबैको अन्तरवार्ता गरेर मात्र विद्यार्थी भर्ना लिइरहेको प्रधानाध्यापक श्रीकृष्ण किसीले जानकारी दिए ।
उनले विद्यार्थीको सिकाइलाई नै प्राथमिकतामा राखी विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप गरिने योजनालाई विद्यालयले निरन्तरता दिइरहेको जनाए । विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्न विद्यालयले विषयगत शिक्षकको समिति, इसिए, सिसिए गठन, हरेक विद्यार्थी र शिक्षकलाई डायरी वितरण र प्रयोग गराउने कार्यतालिका बनाएको छ, विद्यालयले ।
विद्यार्थीको सिकाइस्तर वृद्धि गर्नका लागि प्रत्येक परीक्षामा प्राप्ताङ्कको प्रक्षेपण गराउने, शिक्षकहरू बीच असल अभ्यासको आदानप्रदान गराउने, विद्यालय व्यवस्थापन समितिको पहलमा मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीको नियमित अनुगमनगरि आवश्यक पृष्ठपोषणसहित सिकाइ दिगो बनाउने योजना विद्यालयले जनाएको छ ।
अनुशासन नै विद्यार्थीको गहना हो भन्ने मूल नाराका साथ अघि बढिरहेको आदर्श आजाद स्कूलले विद्यार्थीलाई शिक्षामात्र नभइ संस्कार सिकाउने, अनुशासित बनाइ असल नागरिक तयार गर्ने लक्ष्यलाई कार्ययोजनामा समावेश गरेको छ । सोही अनुसार विद्यालय सञ्चालन भइरहेका कारण र आर्थिक रूपमा मध्यम वर्गीय अभिभावकको रोजाइको विद्यालय आदर्श आजाद बनेको छ ।

...

All Comments.......


Please Login/Register To Comments