हरि मञ्जुश्री
सावित्री राणा केसीलाई मैले चार–पाँचपटक मात्रै भेटेँ । जतिपटक भेटेँ, उतिपटक मैले उहाँलाई शालीन, शिष्ट, भद्र र मर्यादित भेटेँ । उहाँलाई भेट्ता मेरो मनमा अरू सावित्रीहरूका चित्र र चरित्र पनि आए । 
ड्ड एउटी सावित्री महाभारतकी पात्रा थिइन् । उनले यमराजले लगिसकेका आफ्ना पति सत्यवान्लाई यमराजबाट फिर्ता ल्याइन् । साथसाथै अरू चार–पाँचवटा वरदान यमराजबाट लिएर घर र माइती दुवैतिरको समाजलाई खुसी बनाइन् । 
ड्ड अर्की सावित्री मेरै बुढीहजुरआमा हुनुहुन्थ्यो । उहाँले विपन्न अवस्थाको सामना गर्दै कुशलतापूर्वक घरव्यवहार सम्हालेर पारिवारिक स्तर उकास्न ठूलो भूमिका खेल्नुभएको थियो । 
ड्ड अर्की सावित्री डा. सुरेशराज शर्माकी आमा हुनुहुन्थ्यो । उहाँलाई म कहिले फुपू दिदी भन्थेँ, कहिले दिदी मात्रै भन्थेँ । ठूलो परिवारलाई सम्हालेर, दुई गुँडका केटाकेटीमा अलिकति पनि भेदभाव नगरेर, सौता–सौताका बीचमा झगडा र लुछाचुँडी हुन्छ भन्ने मान्यतालाई गलत सावित गरेर उहाँले झन्डै दुई दर्जन सन्ततिलाई शिक्षाका लागि समान मौका दिनुभएको थियो र अरूलाई पनि शिक्षाप्राप्तिका लागि सघाउनुभएको थियो । 
ड्ड अर्की सावित्री भोलामानसिंह थापाकी श्रीमती हुनुहुन्छ । उहाँ समाजसेवी तथा लेखिका हुनुहुन्छ । उहाँले शब्दयात्रा प्रकाशनका लागि ट्रस–घर बनाइदिनुभएको छ र विद्वतवृत्तिका लागि अक्षयकोष पनि राखिदिनुभएको छ । यस लेखकी मूल पात्रा सावित्री राणा केसीका श्रीमान् डा. इन्दुल केसीका मित्र तथा सहपाठी हुनुहुन्छ । 
ड्ड अर्की सावित्री गायत्री परिवारमा आबद्ध हुनुहुन्छ । उहाँ सावित्री काफ्ले आमा र सावित्री काफ्ले दिदीका रूपमा चिनिनुहुन्छ, आफैँ यज्ञकर्म गर्नुहुन्छ र गराउनुहुन्छ । 
ड्ड अर्की सावित्री अर्थशास्त्रविज्ञ र साहित्यकार हुनुहुन्छ । सावित्री श्रेष्ठ भन्नासाथ म ‘अक्षलोक’ साहित्यिक पत्रिका सम्झन पुग्छु । 
भन्दै जाने हो भने मैले थाहा पाएका र चिनेका सावित्रीहरू धेरैजना हुनुहुन्छ । जतिजना हुनुहुन्छ, सबैजनामा कुनै न कुनै विशेषता मैले पाएको छु । 
यिनै सावित्रीमध्येकी एउटी सावित्री राणा केसीले आफ्ना श्रीमान्लाई राष्ट्रिय प्रतिभाका रूपमा सुपरिचित गराउन ठूलो त्याग गर्नुभयो । ललितपुरको मानभवनबाट भक्तपुरको मङ्गलाछेंमा विवाह गरेर भित्रिएपछि राणाबाट झा (केसी) भएकी उहाँलाई भेट्ता मलाई यस्तो लाग्थ्यो —
ड्ड उहाँले आफ्ना पति इन्दुल केसीलाई उपसचिवसम्म पु¥याउन सहयोग गर्नुभयो ।
ड्ड उहाँले पतिलाई अचेल भनिने वैकल्पिक चिकित्सा पद्धति 
(मचाहिँ एलोपेथिक चिकित्सा पद्धतिलाई वैकल्पिक मान्छु) तिर लागेर ‘डाक्टर’ बनाउन सहयोग गर्नुभयो ।
ड्ड उहाँले सामाजिक कार्य र साहित्यिक कार्यक्रममा जहिलेसुकै र जतासुकै दौडिरहने पतिलाई दौडिन दिएर व्यक्तित्व विकास गराउने मौका दिनुभयो । 
ड्ड उहाँले पतिको इच्छालाई नै आफ्नो इच्छा ठान्नुभयो र घरव्यवहार सम्हाल्नुभयो । 
ड्ड उहाँले भावनामा बगेर बहकिन लागेका भावुक पतिलाई व्यवहारका कुरा सम्झाएर व्यावहारिक बनाउनुभयो । 
ड्ड उहाँले पति आबद्ध भएका संस्थालाई आफ्ना तर्फबाट पनि आर्थिक सहयोग लगायत यथाशक्य योगदान दिनुभयो । 
ड्ड उहाँले पतिमा साहित्यिक अभिरुचि पाएर आफ्नो व्यवहारले त्यसलाई मलजल दिनुभयो । 
ड्ड उहाँले सन्ततिको हेरचाह र शिक्षादीक्षाका लागि पर्याप्त समय दिनुभयो । 
ड्ड उहाँले पतिका पुस्तकहरूको प्रकाशक बनेर पतिलाई प्रेरणा दिनुभयो । 
ड्ड उहाँले आफूभित्र धार्मिक भावना भएका कारण नेपाल र इन्डियाका तीर्थहरूको यात्रा गर्नुभयो । 
त्यसैले हो कि डा. इन्दुल केसीलाई देखेको, भेटेको र उहाँसँग कुराकानी गरेको बेला उहाँभित्र कतै न कतै उहाँकी अर्धाङ्गिनी सावित्री राणालाई देखेजस्तो, भेटेजस्तो र कुराकानी गरेजस्तो मलाई लाग्छ । 
सरल महिला, सोझी महिला, इमानदार महिला, गृहिणी महिला लाग्ने सावित्री राणा केसीलाई अब म देख्न र भेट्न पाउँदिनँ । उहाँप्रति त म शब्दश्रद्धा मात्रै व्यक्त गर्न सक्छु । 
भाउजू ! तपाईं हाम्रो सम्झनामा मात्रै आउनोस्, यस्तो असार संसारमा पुनर्जन्म लिएर नआउनोस् । तपाईंलाई शिवसायुज्य प्राप्त होस् ।

...

All Comments.......


Please Login/Register To Comments