सागर
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ९ निकोसेरास्थित सहयोगी महिला समुहद्धारा आयोजित रक्तदानमा १८ पुरुष र १५ महिला सहित ३३ जनाले रक्तदान गरेका छन् । बागमती प्रदेशकी सांसद सकुन्तला श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त रक्तदान कार्यक्रममा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भूपेन्द्र सापकोटा, मध्यपुर थिमि नपा वडा नं. ९ का वडाध्यक्ष सानुकाजी राजबाहक लगायतका अतिथिवक्ताहरुले रक्तदान मार्फत अरुलाई जीवनदान गर्न सकिने भन्दै सहयोगी महिला समूहको कार्यको प्रशंसा गर्नुभयो । उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाहाखाबजार र सहयोगी महिला समुह निकोसेराको संयुक्त आयोजनामा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको सहयोगी महिला समूहकी अध्यक्ष विन्दु प्रजापतिले जानकारी दिनुभयो । रक्तदानमा समुहकी अध्यक्ष विन्दु प्रजापति लगायतका सदस्यहरुदेखि २२ औं पटक रक्तदान गर्ने नारायण खड्का लगायतका व्यक्तिहरुले रक्तदान गर्नु भएको थियो । वि.सं. २०७७ सालमा स्थापना गरिएको सहयोगी महिला समूहले हरेक वर्ष स्थानीय संघसंस्था एवं सामाजिक व्यक्तित्वहरुसँगको सहकार्यमा खुल्ला रक्तदान गर्दै आएको अध्यक्ष विन्दु प्रजापतिले जानकारी दिनुभयो । सामाजिक जनउत्तरदायित्व अन्तर्गत मानवीय जीवन बचाउने रक्तदान कार्यक्रमलाई विभिन्न सामाजिक संघसंस्था र व्यक्तिको सहयोगमा भविष्यमा पनि निरन्तरता दिइने अध्यक्ष प्रजापतिले बताउनुभयो । सहयोगी महिला समूहमा ८० जना महिलाहरु संगठित भईसकेको पनि अध्यक्ष प्रजापतिले जानकारी दिनुभयो । सामाजिकीकरण, सचेतना, लै»्गीक समानता एवं आपसी सहकार्य गर्दै स्वावलम्बी अनि आत्मनिर्भर बन्न महिलाहरु संगठित भएमा व्यक्तित्व एवं नेतृत्व विकास पनि हुने समूहकी अध्यक्ष विन्दु प्रजापतिले बताउनु भयो ।

...

All Comments.......


Please Login/Register To Comments