लेखक जीवनाथ अधिकारी
आरम्भ
हालै अनुशीलन नेपालले शब्दसागरका मोती शीर्षकको समीक्षासङ्ग्र्रह प्रकाशनमा ल्याएको छ । यो कृतिलाई डा.इन्दुल केसीले समीक्षागत आकार दिएका छन् । केसी त्यसै पनि अक्षरसँग खेल्ने र चल्ने गरिरहन्छन् । लाग्छ, उनलाई यसो गर्न कुनै लहड चल्नुपर्दैन । त्यो लहड उनमा सदावहार देखिन्छ । उमेरले आठ दशक पार गरिसकेर पनि पच्चिसबर्से जाँगरमा दौडिरहने डा.इन्दुल केही न केही बिज्याइँ गरिरहन्छन्, लेखनका क्षेत्रमा । प्रत्येक दिन बिज्याइँका रुपमा कि कविता, कि कुनै पुस्तकको समीक्षा अथवा केही नौलो लेखन । यसै सिलसिलामा शब्दसागरका मोती प्रकाशन गरिएको छ ।
यस कृतिभित्र विभिन्न विधाका बाइसओटा समीक्षा सङ्गृहीत छन् । नेपाली वाङ्मयका बाइसओटा कृतिलाई पर्गेलेर विश्लेषणात्मक ढङ्गले सङ्क्षिप्तमा आफ्ना धारणा र विचार पनि समावेश गर्नु डा.इन्दुलको विशेषता देखिन्छ यस कृतिमा । कुनै पनि पुस्तक प्राप्त भएपछि त्यसलाई तुरून्तै अध्ययन गरी जानकारी लिइहाल्ने उनको बानीले उनीभित्रको ज्ञानको गुणवत्तालाई बुझ्न सकिन्छ । मूल कृति अध्ययन गर्न समर्थ नभएकाहरुका लागि पनि यस किसिमका समीक्षात्मक पुस्तकले महत्त्वपूर्ण योगदान पु¥याएको देखिन्छ । यसै मेसोमा यस शब्दसागरका मोती पुस्तकलाई लिँदा अन्यथा ठहरिँदैन ।
शब्दसागरका मोतीभित्र समेटिएका समीक्षित पुस्तकहरु नेपाली वाङ्मयका विविध क्षेत्रका रहेका छन् । साहित्य, इतिहास, धर्मशास्त्र, भजन, सङ्गीत आदि विधालाई डा इन्दुलले यसमा समेट्न भ्याएका छन् । छोटोछरितो रुपमा कृतिको साङ्गोपाङ्ग समीक्षा गरी आकर्षक स्वरुप दिनु उनको शैलीगत वैशिष्ट्य देखिन्छ । प्रत्येक समीक्षाका अन्त्यमा उक्त पुस्तकको चित्रसमेत समावेश हुँदा मूल कृतिको रुप थाहा पाउन मद्दत पुग्छ पाठकलाई ।
शब्दसागरका मोतीको बाहिरी आवरण पृष्ठ निकै आकर्षक देखिन्छ । निलो सागरका छेउमा सेता मोतीहरुको दाना उनेर बनाइएको मालाको अर्ध गोलाकार आकृति रहेको छ भने त्यसैमा पुस्तकको शीर्षक दिइएको छ ‘शब्दसागरका मोती’। तल बायाँपटि कृति प्रकाशक संस्था अनुशीलन नेपालको लोगो (प्रतीक) रहेको छ भने दायाँपटि समीक्षक डा इन्दुल केसीको नाम रहेको छ ।
पुस्तकभित्र प्रवेश गरेपछि सुरूमा शुभेच्छा शीर्षकमा पत्नी सावित्री राणा केसी र छोरी रजनी केसी मानन्धरको चित्रसहित शुभकामना मन्तव्य रहेको छ । यसमा आफ्ना पिताको लेखनप्रतिको रहर र समर्पणलाई सड्ढेत गर्दै पिताको लगनशीलताको चर्चा गरिएको छ ।
समालोचकीय भूमिका भनेर प्राडा कृष्णप्राद दाहालले शब्दसागरका मोती कृतिका प्राप्तिहरु शीर्षकमा पुस्तकमा रहेका विषयवस्तुको औचित्यका बारेमा प्रस्ट्याएका छन् । त्यसपछि लेखकीय भनेर स्वयम् डा इन्दुलले विभिन्न व्यक्ति र प्रकाशकलाई धन्यवाद दिँदै आफ्नो सो पुस्तकको तयारीबारे मन्तव्य राखेका छन् ।
प्रकाशीयका रुपमा अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीले डा इन्दुलको यो कृति प्रकाशन गर्ने अभिभारा दिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
विषयसूचीमा २७ ओटा शीर्षक रहे पनि २२ ओटा शीर्षक समीक्षाका विषयवस्तुमा आधारित छन् भने अन्य शीर्षकमा लेखकको परिचय, जीवनी विवरण, लेखकका सम्मानपत्रहरु, शैक्षिक प्रमाणपत्र र अन्तमा उनै समीक्षकद्वारा रचित सगुन भजन रहेका छन्। पुस्तक जम्माजम्मी १०० पृष्ठको रहेको छ ।
समीक्षा गरिएका पुस्तकहरु
पहिलो समीक्षा वेद के भन्छ ? मेरो दृष्टिमा भन्ने रहेको छ । यो पुस्तक ओतबहादुर खड्काले अनुवाद गरेको वेद के भन्छ ? कृति हो । दोस्रो समीक्ष्य शीर्षक ईशावास्योपनिषद् – एक परिचर्चा रहेको छ । यसमा ईशावास्य उपनिषद्को चर्चा छ। अर्को पाशुपत योग ः एक उपयोगी पुस्तक शीर्षकको समीक्षा रहेको छ । महात्मा सुशीलकृत पाशुपत योग शीर्षकको पुस्तकको समीक्षा यसमा रहेको छ । अर्को समीक्षाको शीर्षक छ– साधना – सूत्र पचिर्चाको आलोकमा । योगाचार्य उद्धवप्रसाद भट्टराईद्वारा लिखित महर्षि विशुद्धदेव एवम् दिव्य साधना – सूत्र कृतिको चर्चा यसमा गरिएको छ । अर्को समीक्षा टीकाराम अर्याललिखित जीवन दर्शनका बारेमा आफैँलाई चिनाउने कृति ः जीवन दर्शन रहेको छ । त्यस्तै अर्को समीक्षा महर्षि याज्ञवल्क्य नाटकका दृश्य शीर्षकमा सत्यमोहन जोशीबाट लेखिएको महर्षि याज्ञवल्क्यमा आधारित छ । ध्यानको ज्ञान र साधना शीर्षकको समीक्षा एसपी आशालिखित छ्यासमिस कृतिका बारेमा रहेको छ। यसैगरी बौद्ध दर्शनका पुस्तकमा एक सङ्क्षिप्त दृष्टि शीर्षकको समीक्षामा दुई कृतिहरु ः क) राहुल सांकृत्यायनद्वरा लिखित र ललिजन रावलले अनुवाद गरेको बौद्ध दर्शनको किताब र गोपीरमण उपाध्यायले लेखेको बौद्धदर्शन सरल अध्ययन पुस्तक रहेका छन् ।
भजन र जीवनको अन्तर्सम्बन्ध समीक्षामा गायक केशवराज राजभण्डारीलिखित भजन र सङ्गीतमा जीवन कृतिका बारेमा चर्चा गरिएको छ । समीक्षा गरिएको अर्को कृति रहेको छ ‘प्राचीन विश्वइतिहासको सङ्क्षिप्त चर्चा’। जीवनाथ अधिकारीलिखित यस कृतिलाई समीक्षा गर्दै लेखकले प्राचीन विश्वइतिहासको सङ्क्षिप्त चर्चा ः मेरा आँखामा शीर्षक दिएका छन् । अर्को समीक्षा रहेको छ वासुदेवढकालको कृति उत्तरी ध्रुवप्रदेशको यात्रा साथै लेखन्तेको जीवनयात्रा पुस्तकबारे उत्तरी ध्रुवसमेतको जीवन–यात्रा शीर्षकमा । अर्को समीक्षा छ मुटुको चिरफार । पशुपतिमान पःमाँले नेपाल भाषामा लेखेको नुगः घाः कथासङ्ग्रहको परिचर्चा यसमा गरिएको छ । यसै मेसोमा वरिष्ठ कथाकार परशु प्रधानले लेखेको धनिया शीर्षकको कथासङ्ग्रहको समीक्षा धनिया ः कथा र व्यथा नामबाट पाठकसामु आएको छ । यस्तै प्रेमकृष्ण ताम्राकारलिखित मतिनाया सः पुस्तकलाई मतिनाया सः (प्रेमको आवाज) शीर्षकमा नेपाल भाषामा समीक्षा गरेका छन् डा इन्दुलले । यसै क्रममा प्रजापति तिमल्सिनालिखित उपन्यास कालो पहाडको पनि समीक्षा रहेको छ । यसको समीक्षाशीर्षक कालो पहाडको दृश्य ÷चित्र रहेको छ । समीक्षाका क्रममा विषय र विवेचना कृतिको उपयोगिता शीर्षकमा चुडाप्रसाद चौंलागाईंलिखित विषय र विवेचनाको चर्चा गरिएको छ। निर्मला श्रेष्ठको आफू अरुका लागि कृतिको समीक्षा आफू अरुका लागि कृतिको सार शीर्षकको समीक्षा डा इन्दुलले प्रस्तुत गरेका छन् भने साधुराम गिरीको मान्छे, प्रकृति र भेगन कवितासङ्ग्रहको समीक्षा मान्छे, प्रकृति र भेगन एक उपयोगी कृति शीर्षकमा समीक्षा लेखिएको छ । यस्तै प्रकाशप्रसाद उपाध्यायको कृति छेउ न टुप्पोलाई छेउ न टुप्पोमा दृष्टि पर्दा नाममा चिरफार गरिएको छ यस समीक्षासङ्ग्रहमा । समीक्षा गर्ने क्रममा मेरी परी कृति नियाल्दा शीर्षक दिएर विष्णु ओलीको मेरी परी मुक्तकसङ्ग्रहलाई केलाइएको छ । डा इन्दुल केसीले पदम दाहालको आँसुको कवितासङ्ग्रहलाई खोतल्दै आँसुको दहभित्र मनको बह नामबाट दृष्टि दिएका छन् । सङ्ग्रहभित्र अन्तिम समीक्षाका रुपमा सङ्गीत मन्थनाञ्जलीको आचमन शीर्षकमा सरोजनी तण्डुकारको सङ्गीत मन्थनाञ्जली कृतिको विश्लेषण गरिएको छ ।
यसप्रकार समीक्षक डा इन्दुल केसीले शब्दसागरका मोती समीक्षासङ्ग्रहका माध्यमबाट धेरै जना लेखकलाई एकै पटक चिनाउने काम गरेका छन् भने तिनका कृतिभित्रको गुदी पनि देखाइदिएका छन् । यस स्तुत्य कार्यका लागि डा इन्दुल धन्यवादका पात्र त बनेका छन् नै, उनीबाट धेरै लेखकहरुले नेपाली वाङ्मयका क्षेत्रमा परिचित हुने अवसर पनि प्राप्त गरेका छन् । डा इन्दुल केसीको यस सत्प्रयासलाई हार्दिक शुभकामना !
अध्यक्ष
    अनुशीलन नेपाल

...

All Comments.......


Please Login/Register To Comments