भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनबीच बुधबार भेट भयो । भक्तपुर नगरपालिकाले नगरका विभिन्न सम्पदाहरुमा गरिरहेको रात्रीकालीन बत्ती व्यवस्थाहरु स्थलगत अवलोकनको लागि भक्तपुर पुग्नुभएका प्रमुख महर्जन, उपप्रमुख सरस्वती खड्का र प्रमुख प्रशासकीय अधिकृत सीता परियारले प्रमुख प्रजापतिसँग नगरपालिकामा भेट गर्नुभएको हो ।

दुइ नगर प्रमुखहरुको भेटमा सम्पदा संरक्षण लगायत दुइ नगरबीच साँस्कृतिक आदान प्रदानबारे छलफल भयो ।

भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरको पर्यटन विकासका लागि भइरहेको प्रयासहरुलाई थप प्रभावकारी र व्यवस्थित गर्ने उद्देश्य लिएर अगाडि बढिरहेको बताउनुहुँदै कोभिड १९ का कारण यहाँको पर्यटन क्षेत्रमा पुगेको असर र चुनौतीहरुबारे जानकारी गराउनुभयो ।
भक्तपुरमा आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सांस्कृतिक केन्द्र निर्माण गर्ने सोच रहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले कोभिड १९ को जोखिमका कारण भक्तपुर महोत्सव स्थगित गर्नु परेको बताउनुभयो । भक्तपुर नगरपालिकाले अनलाइनमार्फत शारीरिक व्यायाम प्रशिक्षण सुरु गरिरहेको, भक्तपुरको विकास निर्माण स्थानीय जनसहभागितामा चालु रहेको बताउनुहुँदै उहाँले भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेका सम्पदा क्षेत्रहरुमा रातको समयमा पनि उतिकै आकर्षक बनाउने उद्देश्यले क्रमशाःव्यवस्थित बत्तीको व्यवस्था गरिरहेको बताउनुभयो ।

भेटमा किर्तिपुरका नगर प्रमुख महर्जनले भक्तपुरको सम्पदाहरुमा बत्ती व्यवस्था गर्ने प्रविधि किर्तिपुर नपाले पनि सिक्न चाहेको बताउनुभयो । किर्तिपुर नगरपालिकाको सम्पदा बस्तीहरुमा मौलिकता जोगाउने ढंगले पुरानै शैलीमा घर पुनःनिर्माण तथा जीर्णोद्धार कार्यमा जोड दिइरहेको बताउनुहुँदै प्रमुख महर्जनले किर्तिपुरको हाते तानको प्रविधि लोप हुने क्रममा रहेको हुँदा सोको संरक्षणमा नगरबासीहरुलाई उत्साहित गर्ने कार्यहरुलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।

भेटपश्चात भक्तपुर नपाका उपप्रमुख रजनी जोशी नेतृत्वको टोलीले उहाँहरुलाई दरवार क्षेत्र लगायत भक्तपुरका विभिन्न सम्पदा क्षेत्रहरुको संध्याकालीन दृष्यहरु स्थलगत अवलोकन गराउनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments