प्रकाशप्रसाद उपाध्याय
वालुवाटार, काठमाडौं
धर्म, साहित्य, प्राकृतिक चकित्सा, योग साधना एवम् आध्यात्मिक क्षेत्रमा संलग्न रहँदै भक्तपुरे समाजमा प्रतिष्ठाजनक स्थान बनाउनमा सफल हुनुभएका शैक्षिक अभियन्ता डा. इन्दुल के.सी.सँग कोभिड–१९ (कोरोना काल) भन्दा केही महिनाअघि काठमाडौंस्थित नेपाल–भारत पुस्तकालयका पुस्तकालयाध्यक्षका कक्षमा भेट भएको थियो । परिचयको आदान–प्रदान र भलाकुसारीपछि उहाँले सपरिवार भक्तपुरको यात्रामा आउनको लागि निमन्त्रणा दिनुभयो र मैले पनि सपरिवार भ्रमणमा आउने र उहाँको परिवारसित केही समय बिताउने विषयमा सहमति जनाएँ । तर विभिन्न पारिवारिक परिस्थिति, अनेक किसिमको व्यस्तता एवम् कोरोनाकालको संकटपूर्ण अवस्थाले गर्दा भ्रमणको कार्यक्रम स्थगित भइरह्यो । यसैबीच २०८० साल असोज २२ गतेको दिन उहाँकी धर्मपत्नी श्रीमती सावित्री राणा केसीको स्वर्गवास भएको दुःखद समाचार प्राप्त गर्दा स्तब्ध हुन पुगें । मन पनि अपराधबोधबाट ग्रसित हुन पुग्यो सावित्रीज्यूलाई भेट्न नसकेकोमा । डा. इन्दुल के.सी.ले निमन्त्रणा दिनुभएको बेलामा जसरी पनि समय निकालेर भक्तपुर जानसकेको भए सावित्रीज्यूको दर्शनबाट वञ्चित हुनुपर्ने थिएन । तर यस्तो होला भन्ने के थाहा ?
चिकित्सकले महिलाको स्वास्थ्य परीक्षाको आधारमा गर्भधारण गरेको, शिशुको जन्म हुने महिना र गतेको सम्बन्धमा एउटा जानकारी दिए पनि मानिसको मृत्युको दिन र समयको सम्बन्धमा भने कसैले पनि भविष्यवाणी गर्न नसक्ने कुरा जगजाहेर छ । विभिन्न रोगका कारण अशक्त, जर्जर र कमजोर हुनुभएकी सावित्रीज्यूले कालले निर्धारित गरेको समयमा मृत्युसँग गर्नुपरेको संघर्षमा हार मान्नुप¥यो र परिवारलाई शोकमा पार्दै परमधामको यात्रामा निस्कनुभयो ।
घरको मुखिया भएपछि परिवारका सदस्यहरू, विशेष गरी धर्माङ्गिनीको स्वास्थ्योपचारमा पतिले कुनै कमी हुन दिँदैन र डा. इन्दुल के.सी.ले पनि आफ्नो प्रेरणाको स्रोत रहकी जीवनसङ्गिनीको उपचारमा कुनै कसर नछाड्नुभएको बृत्तान्त उहाँद्वारा प्रकाशित ‘सावित्री स्मृति’बाट छर्लङ्ग हुन्छ । तर विधिको विधान अगाडि मानिसको केही चल्दो रहेन छ र उ विवश हुँदोरहेछ । डा. के. सी. पनि विवश हुनुभयो र सम्पूर्ण परिवार शोकविह्वल हुन पुग्यो ।
पत्नीको वियोगले विह्वल पारे पनि साहित्य साधना र अध्यात्मको मार्गमा अग्रसर हुँदै र दिवङ्गत पत्नीको आत्माको चिर शान्तिको कामना गर्दै धार्मिक क्रियाकलापद्वारा जीवन बिताइरहनुभएका सामाजिक अभियन्ता डा. के. सी.ले आफ्नो जीवनसाथीको सम्झनामा ‘स्मृति पुष्प’ अर्पण गर्दै एउटा पुस्तिका प्रकाशित गर्नुभयो र सावित्री स्मृति शीर्षक भएको उक्त कृतिको एक प्रति मलाई पनि उपहारस्वरूप प्रदान गर्नुभयो ।
स्वयम् उपस्थित भएर सावित्री राणा के.सी प्रति श्रद्धाञ्जली अर्पण गर्नेहरूको लामो सूची तथा विभिन्न मित्रजन, बौद्धिक व्यक्तित्व, समाजका प्रतिष्ठित वर्ग एवम् संघ–संस्थाद्वारा पठाइएका समवेदनाका सन्देशहरूको प्रकाशनले भरिएका सावित्री स्मृतिका पानाहरूबाट डा. इन्दुल के. सी. एवम् उहाँकी धर्मपरायण पत्नी सावित्री के. सी.का प्रति जन–जनमा रहेको श्रद्धा र सम्मानभावलाई छर्लङ्ग पार्दछ । यसको अतिरिक्त आफ्नो जीवनसाथीको प्रथम पुण्य तिथिकोे अवसर पारेर डा. इन्दुल के.सी.ले उहाँको स्मृतिलाई हृदयंगम गर्दै प्रकाशित गर्न थाल्नुभएको यस नयाँ कृतिले आफ्नो धर्मपत्नीप्रति उहाँको गहन प्रेमलाई प्रकट गर्दछ । र, ‘मानिस जन्मिन्छ, मिट्छ तर प्रेम होइन’ भनी कुनै साहित्यकारले भनेका यस वाक्यांशलाई यथार्थ रूपसमेत दिन्छ ।
श्रीमती सावित्री राणा के.सी.को प्रथम पुण्यतिथिको यस अवसरमा एकजना शुभचिन्तकको हैसियतले दिवंगत आत्मा.प्रति श्रद्धासुमन अर्पित गर्दै त्यसले चिरशान्ति प्राप्त गरोस् भनी प्रार्थना गर्दछु । अस्तु ।

...

All Comments.......


Please Login/Register To Comments