भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनगणतन्त्र चीनको चियाङ्सी प्रान्तको यिछुन नगरको जनप्रतिनिधिसभा स्थायी समितिका निर्देशक लि निङको नेतृत्वमा आउनुभएको प्रतिनिधिमण्डल टोलीले मंगलबार भेट गर्नुभयो ।
टोलीलाई सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले नेपाल एक चीन नीतिको पक्षमा रहेको बताउँदै नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले भक्तपुर नगर अत्यन्त महत्वपूर्ण नगर भएको बताउँदै नेपालमा विभिन्न समयमा आएको विपद्मा चीन सरकारको तर्फबाट भएको साथ र सहयोगको लागि आभार प्रकट गर्नुभयो ।
राजनैतिक हिसाबले १० वडामा विभाजित भक्तपुर नगरपालिकामा नेमकिपाका शतप्रतिशत जनप्रतिनिधिहरू निर्वाचित भएको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले लेख्नुभएको ‘१०० वर्षपछिको भक्तपुर’ पुस्तकको आधारमा भक्तपुरको विकासको लागि नगरपालिकाले काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर पर्यटनको दृष्टिले पनि महत्वपूर्ण नगर भएको उल्लेख गर्दै उहाँले भक्तपुरमा वर्षेनी २ लाख ५० हजारको हाराहारीमा विदेशी पर्यटकहरुले भ्रमण गर्ने गरेको तथ्यांक रहेको बताउनुभयो । 
भक्तपुर नपाले चीन र सार्क मुलुकलाई ५०० र गैरसार्कलाई १५ डलर वा १८०० पर्यटन शुल्क लिँदै आएको र त्यसबाट उठेको रकमबाट भक्तपुरको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत विकास निर्माणमा खर्च गर्दै आएको प्रष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले यो वर्ष चिनियाँ नयाँ वर्षको अवसरमा भक्तपुर नपा र चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा भक्तपुरको दरबार क्षेत्रमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै भक्तपुर नपाले चीनको सछुवान प्रान्तको लसान नगरपालिकासित भगिनी सम्बन्ध कायम गर्ने उद्देश्यले मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर भएको अवगत गराउनुभयो ।
सोही क्रममा यिछुन नगरको जनप्रतिनिधिसभा स्थायी समितिका निर्देशक लि निङले नेपाल चीनबीचको मित्रता झन् झन् प्रगाढ बन्दै गइरहेको बताउँदै भक्तपुरका जनताको सरलता, कुशल व्यवस्थापन, सम्पदा संरक्षण र भक्तपुरको विकासबाट भक्तपुरको सांस्कृतिक स्तर मापन हुने बताउँदै  नगर विकासमा भक्तपुरका निर्वाचित जनप्रतिनिधिहरुको नेतृत्वबाट आफू प्रभावित भएको बताउनुभयो ।
सांस्कृतिक अनुभव आदानप्रदानमा भक्तपुर नपा निकै अगाडि बढिरहेको अनुभूत गर्दै निर्देशक निङले भक्तपुर र यिछुन नगरबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न आफूहरु सकारात्मक रहेको बताउनुभयो ।
जनगणतन्त्र चीनको चियाङ्सी प्रान्तको यिछुन नगर चीनको दक्षिणी भागको प्राकृतिक स्रोतसाधनमा धनी नगरको रुपमा रहेको बताउँदै तातेपानीको प्राकृतिक स्रोत अवस्थित र बस्न, काम गर्न उपयुक्त वातावरण भएको सहर पनि हो भन्नुभयो । धान, जडिबुटी, चिया, विभिन्न तरकारी उब्जनी बढी हुने नगरको रुपमा यिछुन नहर परिचित रहेको बताउँदै उहाँले देशभरि जाने ६ वटा रेलमार्ग र १० वटा राजमार्ग यस नगरमा अवस्थित रहेको अवगत गराउनुभयो । 
कृषि, उद्योग, पर्यटन तथा सांस्कृतिक क्षेत्रमा भक्तपुर र यिछुन नगरबीच प्राविधिक सहयोग आदानप्रदानको सम्भावना रहेको उल्लेख गर्दै उहाँले भक्तपुरको धानको प्रविधिबारे अनुभवन आदानप्रदान गर्ने विषयमा आफूहरु इच्छुक रहेको बताउनुभयो ।
भेटमा यिछुन नगरपालिका चियाङ्सी प्रान्तको जनप्रतिनिधि सभा स्थायी समितिका निर्देशक ली नीङसहित जनप्रतिनिधि सभा स्थायी समितिका महासचिव पाओ छुनयान, फङछङ नगरका नगर जनप्रतिनिधि सभा स्थायी मिति सदस्य, निर्देशक चङ चाओसीन,  चाङशु नगर जनप्रतिनिधि सभा स्थायी समिति सदस्य, निर्देशक फु याहोङ, फङसीन काउण्टी जनसरकार, प्रमुख यु च्युन, चियाङसी प्रान्त, यिछुन नगरपालिका जनअस्पताल, पाँचौं तहका कर्मचारी छाओ शङशङलगायतको उपस्थिति रहेको थियो ।
भेटमा भक्तपुर नगरपालिकाको तर्फबाट उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, चिनियाँ भाषा अनुवादक राजेन्द्र चवाल, पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवालगायतको उपस्थिति रहेको थियो ।
प्रतिनिधिमण्डलले विश्व सम्पदामा सूचित दरबार क्षेत्र, टौमढी क्षेत्र अवलोकन गर्नुका साथै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजको समेत अवलोकन गरेको थियो ।  नगर प्रमुख प्रजापति ‘१०० वर्षपछिको भक्तपुर’ लगायत नगरपालिकाका विभिन्न प्रकाशनहरु र प्रसिद्ध मयुर झ्याल उपहारस्वरुप हस्तान्तरण गर्नुभयो ।

...

All Comments.......


Please Login/Register To Comments