डा इन्दुल केसी
प्रारम्भ
लेखक श्री प्रकाशप्रसाद उपाध्यायले लेखेको “छेउ न टुप्पो” शीर्षकको पुस्तक २०७५ सालमा प्रकाशन भएको रहेछ । शब्दार्थ प्रकाशन, चावहिल, काठमाडौंबाट प्रकाशित ७१ पृष्ठ रहेको यस पुस्तकको मूल्य रु. १५०÷– मात्र राखिएको छ । वर्तमान समयमा एक कप चियाको मूल्य रु. २५÷– पर्दछ, यसको अर्थले यो पुस्तकको मूल्य ६ कप चियाको मूल्य मात्र देखियो । तर यो बबुरो इन्दुलले पैसा तिर्नुनपर्ने गरी लेखक स्वयम्ले – “साहित्य स्रष्टा डा. इन्दृुल केसीज्यूलाई सादर समर्पित” भनी स्वहस्ताक्षरले लेखी बिना मूल्यमा उपहार स्वरुप प्रदान गर्नुभयो । सित्तैमा पाएपछि एक माना चुक पनि पिउने नेपाली उखान जस्तै मैले पनि यो पुस्तकको बोक्रा (कभर) देखि भित्रभित्र पनि पल्टाउँदै सरसरती चुसेँ (हेर्न थालेँ) । एक धार्नी चाकु खाएर पनि गुलियोको स्वाद थाहा नपाउने भनेझैं मैले पनि यो पुस्तकको छेउ न टुप्पो फेला पार्न असमर्थ भएँ । तै पनि कनीकुथी गरी मैले त्यो पुस्तकको केही बुँदाहरुको टिपोट मात्र पुङ्गमाँगे ढाँचामा यहाँ प्रस्तुत गर्ने मैले धृष्टता गरेँ ।
१) सर्वप्रथम म कुनै समालोचक, साहित्यकार, टिप्पणीकार पनि होइन । केवल साहित्यमा अभिरूचि राख्ने सामान्य पाठक मात्र हुँ । यसैले यो टिपोट (टिप्पणी) मा कुनै बान्की मिलेको, चट्ट परेको रुपमा नहुन सक्छ । कखरा गर्न – पढ्न थालेको भर्खर कक्षा एकमा पढ्ने विद्यार्थीले कनीकुथी गरी तयार गरेको यो लेखले पाठक वर्गलाई कुनै विशिष्ट कुरा पस्किने छैन भन्ने कुरा मलाई यकिन छ ।
२) नेपाली भाषा र हिन्दी भाषाका विगत ४० वर्षपहिलेदेखि साहित्यका विविध विधामा प्रकाशप्रसाद उपाध्यायले नेपाली साहित्य भण्डारमा निम्न शीर्षकका कृतिहरु प्रदान गर्नु भएको व्यहोरा यस पुस्तकैमा उल्लेख गर्नुभएको छ ः
क) रेडियो जिन्दगी (अल इण्डिया रेडियोमा चार दशक), ख) वीर गणेशमान सिङ्ह की सङ्घर्ष गाथा, ग) गणतन्त्र के लिए सङ्घर्ष, घ) वीर जाति की अमर कहानी
ङ) नेपाली लोककथा सङ्ग्रह (नेपाली र हिन्दीमा), च) हिन्दी–नेपाली शब्दकोश
छ) नेपाली–हिन्दी शब्दकोश, ज) भारतीय भाषा कोश, झ) हिन्दी–नेपाली वार्तालाप पुस्तिका, ञ) छेउ न टुप्पो (निबन्ध–कथासङ्ग्रह)
३) यस पुस्तकमा १७ ओटा निम्नलिखित शीर्षकका लेखहरु समावेश भएका छन् ः
(क) पर्यटनको रोमाञ्च (ख) यमलोकको यात्रा (ग) घरमा लेखक (घ) वेदना (ङ) उपनामको खोजी (च) भिजिटिङ कार्ड (छ) लेखक बन्न खोज्दा (ज) बहालको घर (झ) लक्ष्मीको अभिवादन र.... (ञ) कचकच (ट) रहरको पूर्ति (ठ) रत्नको खोजी गर्दा (ड) निचोड (ढ) एक्काइसौँ शताब्दीको चिन्तन (ण) प्रतीक्षा (त) गुन बैगुन (थ) लन्च आवर (द) ओउम् शान्ति शान्ति शान्ति
४) लेखकले यो पुस्तक आफ्नी माता अरूणादेवी एवम् पिता अग्निप्रसाद उपाध्यायको पावन स्मृतिमा श्रद्धापूर्ण समर्पण गर्नुभएको छ । मलाई लाग्छ आफ्ना मातापिताको साथै पुस्तक पढ्ने सबै पाठकहरुलाई पनि समर्पण गर्नुभएको होला ।
५) लेखक प्रकाशप्रसाद उपाध्याय भन्नुहुन्छ – “लेखन विशेष गरी हाँस्यव्यङ्ग्य वा वङ्ग्यविनोद लेख्नु निकै गाह्रो काम लाग्दछ किनभने यसमा व्यङ्ग्यको तङ्खव समावेश गर्दै पाठकलाई हँसाउने प्राथमिक कुरो हुन्छ ।”
६) यस पुस्तकमा समावेश भएको “कचकच” एउटा लेख भारतको राजधानी दिल्लीको नेपाली सम्मेलनद्वारा प्रकाशित गरिने स्मारिका प्रकाशनको दायित्व बोक्नुभएका श्री चूडामणि उपाध्यायज्यूको आग्रहमा लेख्नुभएको यो लेख उक्त स्मारिकामा प्रकाशित पनि भएको रहेछ । नेपाल र भारतबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका लेखहरुको सङ्ग्रह नै “छेउ न टुप्पो” को नामकरण कुनै अर्कै व्यक्तिले गर्नुभएको रहेछ ।
७) लेखकहरुले किन पुस्तक लेख्छन् ? भन्ने प्रश्नको जवाफमा काव्य प्रकाशकार मम्मटले साहित्यको उद्देश्यलाई निम्न पदमा उल्लेख गर्नुभएको छ ः
“काव्र्य यशसे डर्थ कृते व्यवहारविदे शिवेत रक्षतये
सघः परमि वृत्तये कान्ता सम्मित यो पदेश युजे”
अर्थात् पैसा कमाउनका निमित्त, नाम कमाउनको निमित्त, व्यवहार ज्ञानका निमित्त, अकल्याणबाट बाँच्नका निमित्त, तुरून्त आनन्द प्राप्त गर्नका निमित्त काव्य (साहित्य) को प्रयोजन हुन्छ ।
(नेपाली समालोचनाको रुपरेखा डा. रविलाल अधिकारीको पुस्तकको पृष्ठ १० बाट उद्धृत)
अन्तमा
प्रकाशप्रसाद उपाध्यायले आफ्ना रचनाहरु किन लेख्नुभयो ? उहाँलाई नै थाहा होला तर मलाई लाग्छ, उहाँले आनन्द प्राप्त गर्न लेख्नुभएको हो ।
यस पुस्तकमा समावेश भएका कथा र निबन्धका शीर्षकहरु त्यस लेखभित्र रहेका विवरणहरु छेउ न टुप्पोसँग मेल खाँदैनन् । कारण प्रत्येक लेखको प्रारम्भ, मध्य र अन्तिम भागहरुमा लेखकले अति रोचक ढङ्गमा विविध कुराहरु पस्कनुभएको छ । कथाका पात्रहरु, घटना विवेचना, पात्रहरुको सङ्वाद, हस्यौलो पारामा व्यङ्ग्य, समाजको विभिन्न परिवेश, समस्या, विसङ्गतिहरुलाई आफ्नो मौलिक शैलीमा प्रस्तुत गर्नुभएको पाइन्छ । प्रकाशप्रसाद उपाध्यायको लेखन सशक्त र सजीव हुनुका साथै समाजलाई सुधार गर्नको लागि महङ्खवपूर्ण सुझाव–सन्देशहरु पनि दिइएको पाइन्छ । यसकारण लेखक एक सफल कथाकार तथा निबन्धकार भएको प्रमाण यो “छेउ न टुप्पो” पुस्तकले नै प्रमाणित गर्दछ । मलाई लाग्छ, यो पुस्तक नेपाली साहित्यका पाठकहरुका लागि पठनीय, सङ्ग्रहणीय होला भन्ने नै मेरो ठम्याइ हो । तसर्थ प्रकाशप्रसाद उपाध्याय धन्यवादका पात्र हुनुहुन्छ, उहाँलाई मेरो धन्यवाद छ ।
पर्यटनको रोमाञ्च लेखबाट – “म जात र जन्मजात बाहुन तर कर्मबाट लेखक, कलाकार । सङ्कुचित परिधिमा अल्झिएर कर्मकाण्डको सीमित लक्ष्मणरेखाभित्र साँघुरिएर बस्नको लागि अब न त सबैसित समय छ न कसैका लागि सम्भव नै । सबैले आफ्नो आफ्नो परिधिलाई फराकिलो पार्दै लक्ष्मण रेखालाई नाघ्दै गएका छन् ।”
यमलोकको यात्रा शीर्षकको लेखबाट– “एकदिन लेखकले सपना देख्नुभएछ– त्यो सपनाको कुरो हो– मानिसले प्राण त्यागेपछि यमदूतहरुले मृतकलाई उसले गरेका पापपुण्यको लेखाजोखा गरी चित्रगुप्तको फैसला सुनाउँदै यमलोकको तनावपूर्ण वातावरण, यमदूतको भयावह रुप, कोर्राको तीव्र, भूलोकको भाषामा जातिवाद, कृपावाद भनौं उनको व्यक्तिगत प्रकृतिको तटस्थता आदि बायोडाटालाई आधार मानी चित्रगुप्तको फैसला– ‘यस मानिसले पुण्य नगरेको भए पनि नर्कवास गर्ने खालको पाप भने गरेको रहेनछ ।’ सपनाबाट बिउँझेर साह्रै डरलाग्दो सपना थियो भन्नुहुन्छ ।”
कथा र निबन्ध एकै स्थानमा मिसिएकोले कसैले यस पुस्तकलाई छ्यासमिसे – खिचडी जस्तो ठाने भने त्यो उनीहरुको व्यक्तिगत दृष्टिकोण भन्दछु । म त यसलाई खिचडी भन्नुभन्दा स्वादिष्ट व्यञ्जन खिर (पाएस) भन्ने ठान्दछु । जसरी खिरमा दुध, चामल, चिनीका साथ अनेकौं मसलाहरुको मिश्रण हुन्छ । अर्को शब्दमा भन्नुपर्दा – गङ्गा र जमुनाको एकाकार हुने स्थान दोभान भने जस्तो कथा र निबन्धको दोभान “छेउ न टुप्पो” हो । म पाठकवर्गलाई निःशुल्क सल्लाह दिन्छु । यस पुस्तकमा पसेर डुबुल्की मार्नुस्, शीतल कञ्चन जलको साथै यसभित्र बहुमूल्य मोतीहरु पनि पाउनुहुनेछ ।

...

All Comments.......


Please Login/Register To Comments