भक्तपुर । भक्तपुरको दधिकोटमा दुई करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरालाई पक्राउ गरेको हो । दधिकोटका डिल्ली राउतको घरमा ४ असारमा लुटपाट भएको थियो ।
मुख्य योजनाकार भनिएका व्यक्ति कुलबहादुर खत्री भने फरार छन् । उनी डिल्ली राउतका मामा समेत हुन् ।
लुटपाटको योजनाकार मामा !
राउतको घर भक्तपुरको दधिकोटस्थित एकान्त ठाउँमा छ । डिल्ली युरोपेली मुलुक खासगरी क्रोएसियामा नेपाली कामदार पठाउने एजेन्टका रुपमा काम गर्छन् । उनका भाइले क्रोएसियामा बसेर भिसा मिलाउने काम गर्थे ।
भिसा वापत ५ लाख ६८ हजार रुपैयाँ बराबर रकम बुझाउनुपर्ने भन्दै उनीहरुले क्रोएसिया जानेहरुसँग मोटो रकम असुल्थे ।
उनीहरुका मामा कुलबहादुर पनि क्रोएसिया जान चाहनेहरुलाई भाञ्जा कहाँ पु¥याउँथे । उनीहरुसँग भाञ्जाले नगद बुझेको देखेका थिए ।
विदेश पठाए वापतको रकम नगदै बुझेर घरमा राख्ने गरेको थाहा पाएपछि मामा कुलबहादुरको योजनामा लुटपाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
भाञ्जासँग नगद रहेको थाहा पाएपछि मामा कुलबहादुरले लुटपाट गराएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । कुलबहादुरलाई भने प्रहरीले फेला पार्न सकेको छैन ।
विदेश पठाउने सिलसिलामै कुलबहादुरको सुजन रसाइलीसँग चिनजान भयो । त्यसपछि डिल्लीले करोडौं रकम घरमै राख्ने गरेको भन्दै कुलबहादुरले लुटपाट गर्ने योजना सुजनलाई सुनाउँछन् । सुजन यसअघि पनि नक्कली सुन देखाएर ठगी गर्ने र अभद्र व्यवहारमा मुद्दा चलेका व्यक्ति हुन् ।
कुलबहादुरको प्रस्ताव सुजनले भीमलाई सुनाउँछन् । भीममार्फत मुनाराज र कृष्ण पनि जोडिएपछि लुटपाट भएको देखिन्छ ।
सीबीआई भन्दै लुटपाट
लुटपाट गर्नु अघिल्लो दिन ३ असारमा उनीहरुले डिल्लीको घर आसपासमा गई अवलोकन गरेका थिए । डिल्लीको घर एकान्त ठाउँमा खेतको बीच भागमा छ । भोलिपल्ट ४ असारमा उनीहरुले कौशलटारको रेस्टुरेन्टमा भेटेर लुटपाटको योजना बनाए ।
लुटपाट गर्न जाँदा प्रयोग गर्ने दुई वटा मोटरसाइकलको नम्बर प्लेट चिन्न नसकिने बनाए । त्यसपछि डिल्लीको घरमा गए ।
सुजन डिल्लीको घर बाहिर बसेर निगरानी गर्छन् । बाँकी ३ जनाले घरभित्र बसर ‘हामी सीबीआईबाट आएको प्रहरी हौं । अवैध धन्दा चलाएको भन्ने सूचना छ । खानतलासी गर्छौं । यहाँ हस्ताक्षर गर्नुस्’ भन्दै डिल्लीलाई कागज गराए ।
मामा कुलबहादुरले दराजभित्र पैसा राखिएकोसम्म सूचना दिएका थिए । त्यसैले उनीहरुले दराज खानतलासी गरे । करिब २ करोड रुपैयाँ झोलामा हालेर बाहिरिएको देखिएको एक अनुसन्धाान अधिकृतले सुनाए ।
चार जना दुई वटा मोटरसाइकलमा भीमको माकलबारीस्थित कोठामा पुगे । भीमकै कोठाबाट करिब आधा रकम डिल्लीका मामा कुलबहादुरले लिएर गए । ‘रकम गन्ने अवस्था भएन, आधा जति रकम कुलबहादुरले बुझेको पक्राउ परेकाहरुले बताएका छन्’, एक अनुसन्धान अधिकृतले भने ।
बाँकी रहेको रकमबाट सुजनले ३० लाख लिए भने बाँकी ३ जनाले २० लाख रुपैयाँको दरले बाँडेको पक्राउ परेकाहरुले स्वीकारेका छन् ।
रकम बाँडफाँटपछि उनीहरुले विभिन्न रिसोर्ट तथा होटलमा गएर खर्च गरेको पाइएको छ । सुजन र भीम सुकुटे रिसोर्ट गएर बसेको खुलेको छ । त्यसपछि तातोपानीसम्म पुगेको र त्यहाँबाट फेरि दोलखा गएर बसेका थिए ।
कालिञ्चोकसम्म पुगेर घुमेर फर्किएका उनीहरु पक्राउ परे । उनीहरुकै सूचनाका आधारमा प्रहरीले कृष्णलाई महाराजगञ्जबाट पक्राउ ग¥यो । मुनाराजलाई भने ओखलढुंगाबाट पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको छ ।
पक्राउ परेकाहरुबाट ३६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
थप ३५ लाख लिएर मामा फरार
डिल्लीले दिएको विवरण अनुसार घरमा ३ करोडभन्दा बढी नगद थियो । करिब २ करोड लुटिएको केही समयपछि मामा कुलबहादुर भाञ्जा डिल्लीको घर पुगे ।
‘१० लाखभन्दा बढी नगद राख्न पाइँदैन, यो कुरा प्रहरीमा रिपोर्ट ग¥यो भने फसिन्छ’, भन्दै भाञ्जालाई प्रहरीकहाँ जानबाट रोके । अनि लुटपाटको घटनापछि बाँकी रहेको रकम त्यो पनि यहाँ राख्नुहुँदैन भनेर ३५ लाख लिएर गए ।
बाँकी १ करोड रुपैयाँ भने डिल्लीले एउटा ट्राभल्स एजेन्सीलाई दिए । अनि मामाको सल्लाहअनुसार प्रहरीलाई खबर समेत गरेनन् ।
तर घटनाको तीन दिनपछि प्रहरीले अरुबाटै सूचना पायो । जिल्ला प्रहरी परिसर, भक्तपुर हुँदै अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थाल्यो ।
प्रहरीले डिल्लीलाई सोधपुछ गर्दा करिब २ करोड लुटपाट भएको मात्र स्वीकार गरेनन्, मामाले ३५ लाख रुपैयाँ लगेको पनि बताए ।
...

All Comments.......


Please Login/Register To Comments