सागर गुरागाईं
असार १५ लाई दहीचिउरा खाने दिनको रुपमा पनि लिइन्छ । प्रायः बाह्रै महिनाका १५ गतेको आफ्नै महिमा हुन्छ । तर असार १५ को महत्व केहि फरक छ । यस दिनमा दहीचिउरा खानको पछाडि प्राकृतिक र जैविक कारण छन् । दहीचिउरासँग आलुको पिरो सुख्खा अचार पनि जोडिएको हुन्छ । चिउरा सबैलाई चल्ने, ठोस आहार मानिन्छ । यो पनि साझा खाद्यवस्तु हो । अर्को दही, स्वास्थ्यबर्धक र शितलता प्रदान गर्ने खाद्य पदार्थ मानिन्छ । असार गर्मी महिना भएकोले दही उपयुक्त हुन्छ । यीसँग जोडिएको आलुको पिरो अचारको महत्व पनि छ । आलु छिटो पच्ने खाद्यवस्तु हो । पिरोले इन्द्रिय सक्रिय बनाउँछ । यसको अर्को महत्व भनेको गर्मीमा गर्मी काट्ने र जाडोमा चिसो काट्ने गुण विद्यमान हुन्छ । यसरी हाम्रो समाजमा असार १५ धानखेती, दही, चिउरा, आलुको अचार खाने दिनको रुपमा स्थापित छ । यो दिनलाई हरेक नेपालीले सामाजिक–सांस्कृतिक महोत्सवको रुपमा मनाउने गर्छन ।
नेपाली समाजमा असार १५ लाई मुठी रोपेर मुरी फलाउने महत्वको रुपमा लिइन्छ । भौगोलिक विविधताको कारणले यहाँ चैतदेखि साउनसम्म पनि धान रोप्ने काम हुन्छ । संसारको सबभन्दा उच्च भागमा फल्ने जुम्ली मार्सीको व्याड चैत १६ मा राखिन्छ । १५ औं शताव्दीमा चन्दननाथले सुरु गरेको यो परम्परा वर्तमानसम्म पनि कायमै छ । त्यसको दुई दिनपछि त्रिपुरा सुन्दरीलाई भाका पारेर चैत १८ मा डोल्पामा धानको व्याड राखिन्छ । ती ठाउँहरुमा वैशाखमा रोपाइँ हुन्छ भने तराईमा साउन अन्त्यसम्म यो क्रम चल्छ । नेपालको मध्यपहाडी क्षेत्रमा असार महिनाभित्र रोपाइँ  सकिन्छ । भौगोलिक विविधताले रोपाइँ विभिन्न ठाउँमा विभिन्न किसिमले विभिन्न समयमा हुने भए तापनि असार १५ लाई धान रोप्ने साझा दिनको रुपमा नेपाली समाजले स्वीकारेको छ । यो सद्भाव र सहिष्णुताको सूचक हो । धान गर्मी याममा फल्ने बाली हो । यो तापक्रम ठाउँअनुसार विभिन्न प्रजातिको हुन्छ ।
असार १५ लाई नै साझा दिन (महोत्सव) मान्नुको पछाडि केही कारण छन् । असार १५ गतेदेखि भूमि चिसो हुन सुरु हुन्छ भनिन्छ । यसै दिनदेखि क्रमशः दिन छोटो हुँदै जान्छ भन्ने परम्परा छ । यसै सेरोफेरोमा सूर्य दक्षिणायन हुन्छ । कृषिप्रधान समाज, जीविकोपार्जनको माध्यम भएको र उत्तम खाद्यपदार्थ भएकोले हाम्रो समाजमा धान रोपाइँलाई महत्वका साथ हेरिन्छ र महोत्सवको रुपमा सम्पन्न गरिन्छ । यस्ता पर्व, महोत्सवहरुमा प्रकृति, मौसम, ऋत, धर्म, जीवन पद्धति परिवर्तनले प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । धान रोप्ने दुई पद्धति छन् – सवाइ र रोपाइ । सवाइमा सोझै धानको बिउ तयारी खेतमा छरिन्छ भने रोपाइँमा धानको व्याड करिब १ फिटजति अग्लो भएपछि रोप्ने गरिन्छ । अर्थात यी छर्ने र रोप्ने पद्धति हुन् । हाम्रा समाजमा रोपाइँ प्रायः सामुहिक रुपमा हुन्छन् । रोपाइँ गर्नुभन्दा अगाडि बिउ जमिनबाट निकालिन्छ र तयारी खेतमा रोप्ने काम हुन्छ । रोपाइँको दिन बिहानै एकसरो छोटा लुगा लगाएका रोपार्नीहरु रातो टीका लगाएर हातमा बिउ, वर्षाती, घुम आदि लिएर लस्करै भएर रोपाई गीत गाउँदै खेततर्फ लाग्छन् । खेतमा पुगिसकेपछि एकले अर्कोलाई हिलो छ्याप्दै बाउसेलाई हिलोको टीका लगाइदिएर खले गरोबाट धान रोप्न सुरु गर्छन् । रोपार्नीहरुको सहयोगीको रुपमा एकजना बाउसे हुनुपर्छ । रोपाइँ सुरु भएपछि खेत, वनपाखा, पखेरा घन्काउनेगरी गीत गाउन थाल्छन् । खासगरी रोपाइँको गीतलाई असारे गीत भन्ने चलन छ ।
यस अतिरिक्त रोपाइँमा अन्तरिक्ष र पृथ्वीका देवता, स्थानीय देवता, जलमूलको स्तुति गर्ने भूतप्रेत मसान भगाउने प्रकारका गीत पनि हुन्छन् । धान रोप्दै जाँदा खले गरोको बीचमा कोठी बनाउने चलन पनि हुन्छ । रोपाइँ सकिएपछि रोपाइँ घरमा गएर सबैले घरका मानिसलाई आशिर्वाद दिने परम्परा पुरानो हो । रोपाइँको क्रम पहाडी भूभागमा प्रायः असार महिनाभर चलिरहन्छ । असार १५ गते मात्र रोपाइँ हुने होइन । यो त सबैको साझा दिन हो । माथि भनिएझैँ नेपालको उच्च पहाडी भेगमा जेठ महिनाभित्रमा रोपाइँ भइसक्छ भने मध्य र तल्लो पहाडी क्षेत्रमा असारसम्म र तराईमा साउनसम्म चलिरहन्छ । यो परम्परा, शैली पनि ठाउँ, समुदायअनुसार केही फरक प्रकारको हुन्छ । वर्तमानमा प्रविधिको विकास, सामुहिक भावनामा आउन थालेको ह्रासले परम्परागत मान्यतामा केही भिन्नता आएको छ । मोः ९८४१८५९२९५

...

All Comments.......


Please Login/Register To Comments