ललितपुर ।जावलाखेल स्थित श्री उग्रचण्डी माई मन्दिर नजिक उग्रचण्डी मोसिंख्यः मा अवस्थित करीब ४०० बर्ष पुरानो अनुमान गरिएको ऐतिहासिक जरुंहिती (जलद्रोणी)को पुर्नस्थापना सम्पन्न भएको छ । पहिला पहिला बाटोमा हिडने वटुवाहरुको लागि पिउने पानीको व्यबस्था गर्न तथा मन्दिरहरुमा जल अर्पन गर्नका लागि बिशेष गरेर नेवाः बस्तीहरुमा यस्ता जरुंहिती (जलद्रोणी)हरु बनाइएका हुन्छन । लिच्छबिकाल हुदै मल्लकाल तिर बनाइएका यस्ता जरुंहितीहरु एक प्रकारको परम्परागत ट्याङकी नै हो । सडक बिस्तार का कारण बिगत लामो समयदेखि पुरिएको अवस्थामा रहेको उक्त जरुंहितीलाई ललितपुर महानगरपालिका, ४ नं वडा कार्यालयले ताम्रकार समाजको सहयोगमा पुनस्र्थापना सम्पन्न गरेका हुन ।
ताम्रकार बर्गको कुलदेवता श्री उग्रचण्डी माई नजिकको उग्रचण्डी मोसिंख्यःमा ताम्रकार पुर्खाले इनारका साथै उक्त जरुंहितीको निर्माण गराएको ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारले बताउनु भयो । अध्यक्ष ताम्रकारले साधारणतया जरुंहितीमा एउटा मात्र धारा रहने गरेको पाईन्छ तर उक्त जरुंहितीमा तीनवटा धारा रहेको भएर बिशेष महत्वको रहेको बताउनु भयो । उक्त परम्परागत जरुंहितीबाट आधुनिक आ रो प्रबिधिबाट पिउन योग्य बनाइदिएको र सेन्सर प्रबिधि समेत जडान गरिएको ४ नं वडा अध्यक्ष सन्तोष खड्काले बताउनु भयो । ती प्रबिधिहरुको व्यबस्था समेत ताम्रकार समाजबाटै भएको उहाँले जानकारी गराउनु भयो । उक्त जरुंहितीको उदधाटन गर्नुहुदै प्रमुखअतिथि ललितपुर महानगरपालिका का मेयर चिरीबाबु महर्जनले ऐतिहासिक सम्पदाको पुनःनिर्माणका साथै संरक्षणमा समेत बिशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले उक्त ऐतिहासिक जरुंहितीबाट सदैब पिउने पानीको प्रवाह गर्न सक्नुपर्ने बताउनु भयो । उद्घाटनको अबसरमा मेयरका साथै उपमेयर मञ्जरी शाक्य बज्राचार्यले उक्त जरुंहितीको पानी समेत पिउनु भएको थियो । ४ नं वडा कार्यालयबाट आयोजित उक्त कार्यक्रममा जावलाखेलमै पुनस्थापित टाइगर गेटका साथै वडाको वेवसाइट, मोवाइल एप ,वडा प्रोफाइलको पनि उदघाटन गरीएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments