भक्तपुर । भक्तपुरको पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक विस्तारको नाममा ठेकेदार कम्पनीले अलपत्र छोडेको भन्दै स्थानीय बासिन्दाले विरोध गरेको छ । नगरकोटको मुख्य सडक विस्तारको ठेक्का लिएको शैलुङ कन्स्ट्रक्सन प्रालि र एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीको लापरबाहीका कारण सडक थप जीर्ण बनेको स्थानीय बासिन्दाको आरोप छ । सडक विभागले भने वर्षौंदेखि निर्माणको नाममा सडक अलपत्र छोड्ने निर्माण कम्पनीलाई म्याद थपेको थप्यै छ ।
सडक विस्तारको नाममा सडक अलपत्र पार्ने ठेकेदार कम्पनीको ठेक्का रद्ध गर्न माग गर्दै आएको स्थानीयले बुधबार खरिपाटीस्थित बागमती प्रदेश सभा सदस्य कृष्णलाल भँडेल, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, ठेकेदार कम्पनीका प्रतिनिधि सुदन गौली लगायतलाई रोकेर विरोध प्रर्दशन गरेका छन् । खरिपाटीस्थित श्रीकृष्ण माविको भवन शिलान्यास कार्यक्रममा पुगेका बागमती प्रदेश सभा सदस्य भँडेल, नगरप्रमुख मिश्र र सडक निर्माणको अवलोकन गर्न पुगेका गौलीलाई स्थानीयले घेरेर तत्काल सडक निर्माण सम्पन्न गर्न विरोध कै स्वरमा आग्रह गरेका छन् ।
दुई साता अघि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा नगरकोट सडक विस्तार ढिलाईको सम्बन्धमा चाँगुनारायण नगरप्रमुख मिश्र, चाँगुनारायण नगरपालिका–६ नम्बर वडाका वडाध्यक्ष सन्त बहादुर वाइबा, ७ वडाका वडाध्यक्ष ज्ञानबहादुर केसी, स्थानीयबासिन्दा, ठेकेदार कम्पनीका प्रतिनिधि लगायतको उपस्थितिमा बसेको बैठकमा स्थानीयबासिन्दा, जनप्रतिनिधिले शैलुङ कन्स्ट्रक्सन प्रालि र एआईपीएलको ठेक्का रद्ध गर्न माग गरेको थियो ।
सडक विभागले कमलविनायक–नगरकोट सडक विस्तार कार्य अलपत्र पारेको ठेकेदार कम्पनीलाई कुल लागतको १० प्रतिशत हर्जना तिराएर पाँचौ पटक म्याद थप गरेको छ । ठेकेदार कम्पनी शैलुङ र एआईपीएल जेभीलाई हर्जना तिर्न तयार भएपछि आगामी पुस १५ मा काम सक्ने गरी पाँचौ पटक म्याद थपिएको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । चौंथो पटक थपिएको म्याद नसकिदै विभागले २०७६ चैत्र ११ मा पाँचौ पल्ट म्याद थप गरेको हो । यसअघिको म्यादमा २०७७ वैशाखमा काम सम्पन्न गरिसक्नुपर्ने थियो ।
‘एक्जिम बैंक इन्डिया’को ऋण सहयोगमा शैलुङ र एआईपीएल जेभीले २०७३ कात्तिक ४ मा काम सक्ने गरी ०७१ जेठ २२ मा सडक विस्तारको सम्झौता गरेका थिए । पटकपटक म्याद थपिए पनि करीब ७० प्रतिशत मात्रै काम सकिएको छ । १६ किलोमिटर मध्ये कमलविनायक–सुविधानगर सम्मको करीब ४ किलोमिटर सडकमा कालोपत्र गरिएको छ । काम ढिला गरिँदा लागत झन्डै ६ करोड रुपैयाँ बढेको छ ।
सुरुको सम्झौतामा २७ करोड ९० लाखमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३४ करोड रुपैयाँ कायम गरिएको छ । १७ करोड ३१ लाख रुपैयाँ भुक्तानी भईसकेको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन घोषणा गरेपछि एक महिना काम रोकिएको उहाँले बताउनुभयो । तर, फिल्डमा कामदारले काम गरिरहेको अवस्था भने छैन ।
आयोजना प्रमुख प्रजापतिका अनुसार बेस र कालोपत्रे बाहेकको काम सम्पन्न भईसकेको छ । सडक विस्तार कार्य अलपत्र पारिएपछि नगरकोटका बासिन्दाले गत वर्ष शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरे । गत वर्ष साउन मै प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले अनुगमन गरी तत्काल काम गर्न निर्देशन समेत दिए ।
स्थानीयको विरोध, समितिको निर्देशनलाई समेत बेवास्ता गर्दै आएको कम्पनीलाई गत पुसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सडकको अनुगमन गरेर पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक विस्तारको काम छिटो सम्पन्न गर्न निर्देशन दिनु भएको थियो । तर, निर्माण कम्पनीले हालसम्म पनि आलटाल गर्दै आएको छ ।
शैलुङ कन्स्ट्रक्सन प्रालिका साइड इञ्चार्ज प्रकाश लामिछानेका अनुसार पर्खाल, नाली, कटिङ लगायत संरचनाको ९० प्रतिशत काम सम्पन्न भईसकेको छ । सडक विस्तारका लागि अवरोध छैन । कालोपत्रे सुरु गर्ने समयमा लकडाउन सुरु भएको र लकडाउन खुकुलो हुँदा वर्षा सुरु भएकाले काम ढिलाई भएको शैलुङ कन्स्ट्रक्सन प्रालिका साइड इञ्चार्ज लामिछानेले बताउनुभयो ।
स्थानीयबासिन्दा, पर्यटन व्यवसायीहरुले भने पटकपटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, जिल्ला प्रशासन, नगरपालिकालाई गुहार्दा पनि राजनीतिक संरक्षणमा ठेकेदारलाई कारबाही हुन नसकेको बताउँछन् । ‘सडक कै कारण वर्षौंदेखि पर्यटन व्यवसायी धरासायी बन्दै आएको छ, दुर्घटनाको जोखिम मोल्दै यात्रा गर्न बाध्य छौं’ स्थानीय एवं भक्तपुर नगरकोट सडक निर्माण दबाब संर्घष समिति संयोजक राजकुमार लामिछानेले भन्नुभयो, ‘राजनीतिक संरक्षणमा ठेकेदारले नगरकोट सडकलाई थप जीर्ण बनाएको छ ।’
सडक अलपत्र पार्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गर्नुपर्ने माग गर्दै मन्त्रालय पुगेका स्थानीय, पर्यटन व्यवसायीलाई राजनीतिक प्रसंग उठाएर मन्त्रीले उल्टै थर्काएर पठाएको समेत एक स्थानीय पर्यटन व्यवसायीले गुनासो गरे । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले १५ दिन भित्र निर्माण कम्पनीले प्रतिबद्धता तथा सम्झौता बमोजिमको काम सम्पन्न गर्न व्यवसायीको तर्फबाट कार्ययोजना पेश गर्ने र सो अनुसार नभएमा आयोजनाको सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो ।

 त्यसैगरी भक्तपुर नगरकोट सडक निर्माण कम्पनीद्धारा गरिने कामको अनुगमन तथा निगरानी चाँगुनारायण नगरपालिका ६ र ७ का वडाध्यक्ष तथा निगरानी समूहले गर्न निर्णय समेत गरेको जनाएको छ । निर्माण कम्पनीले भने लकडाउनका कारण निर्माण सामग्री अभाव भएकाले सडक विस्तारमा ढिलाई भएको बाहाना बनाईरहेका छन् । (रेडियो कान्तिपुर)

...

All Comments.......


Please Login/Register To Comments