१२ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा हेलिकोप्टर उडान जोखिमपूर्ण रहेको पाइलटहरूले बताएका छन् । यहाँबाट उडान गर्दा भयावह घटना/दुर्घटना हुन सक्ने चेतावनी दिँदै १२ वटा हेलिकोप्टर कम्पनीका तीन दर्जन पाइलटले नागरिक उड्डयन प्राधिकरणलाई ७ वटा अवरोध सुधार्न सुझाएका छन् । 

यही असार ७ देखि सञ्चालनमा ल्याइएको नलिञ्चोकमा उनीहरूले उडान भरेको दुई साताको अनुभवका आधारमा प्राधिकरणलाई ज्ञापनसमेत बुझाएका छन् । ३३ रोपनी क्षेत्रफलमा निर्माण गरिएको हेलिपोर्टमा पाइलटहरूले अवतरण र उडान दुवैमा जोखिम एक क्याप्टेन बताउँछन् । प्राधिकरणलाई सुरक्षा खतरा भएकाले तत्काल सुधारका लागि ज्ञापन बुझाएको जनाइएको छ । ‘नलिञ्चोकको हेलिप्याडमा हामीले भोग्नुपरेका जोखिम न्यूनीकरण गरी कार्यान्वयन नगरे भयावह घटना वा दुर्घटना हुने चिन्ता छ,’ ३७ जना हेलिकोप्टर पाइलटले हस्ताक्षर गरी बुझाएको ज्ञापनमा उल्लेख छ ।

हेलिप्याड वरिपरि पाइलटहरूले धेरै उच्च अवरोध रहेको औंल्याएका छन् । ‘हेलिप्याडको दक्षिण–पूर्वमा विद्युत्को प्रसारण तार, पूर्व र पश्चिममा रूख अनि टेलिकम टावर छन्,’ उनीहरूले लेखेका छन् ‘अवतरणका क्रममा सिधा मुनि पश्चिममा अग्लो भवन, नजिकै मानिसहरूको ओहोरदोहोरजस्ता अवरोध छन् । हेलिप्याड नजिकै खुला ठाउँ नभएको, बस्ती रहकोले धेरै तौल नराखेर सामान्य तरिकामा टेक अफ गर्दा हावा, तापक्रम र लोडका कारण विमान उड्न कठिनाइ भएमा भवनहरूमा ठोक्किने जोखिम देखिन्छ ।’

प्राधिकरणलाई पाइलटहरूले उक्त हेलिपोर्टको किनारादेखि डेढ किलोमिटरको वृत्तसम्मका घर, रुख, बिजुलीका पोल, तार हटाउन भनेका छन् । उक्त हेलिपोर्टमा कम्तीमा दुइटा बिन्दुबाट जहाज निस्कन र पस्न मिल्ने बनाउनुपर्ने र त्यहाँ एयर ट्राफिकसहितको कन्ट्रोल टावर पनि हुनुपर्ने उनीहरूको माग छ ।

‘व्यावसायिक रूपमा हेलिपोर्ट सञ्चालन गरिएको हो भने धेरै संख्यामा हेली ट्राफिक हुन्छ । विमान अवतरण गरेपछि इन्जिन बन्द गर्ने, पाइलटले प्राविधिक लग लेख्ने र उडान पोस्ट गर्ने काममा कम्तीमा १५–२० मिनेट लाग्छ । त्यही पाइलटले अर्को उडान गर्नुपर्ने भए थप समय आवश्यक पर्छ । यस्तो परिस्थितिमा हेलिकोप्टरलाई होभर गर्नुपर्ने, मार्सलर चाहिने र सुरक्षित उडान तथा अवतरण, अनुगमन, व्यवस्थापनका लागि एयर ट्राफिक कन्ट्रोलर (एटीसी) चाहिने भएकाले कन्ट्रोल टावर स्थापना गर्नुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

प्राधिकरणले उक्त हेलिपोर्टमा अवतरण र उडान हुन चारवटा बिन्दु (फाटो, फाइनल एप्रोच, टेकअफ प्वाइन्ट) तोकेको छ । तर फाटो बिन्दुमा हेलिपोर्टको सुरक्षा पर्खाल र लगत्तै निजी घरले अवरोध गरेकाले जहाज निस्किने र पस्ने ती फाटो बिन्दु कम्तीमा ७० देखि १ सय मिटरसम्म अवरोधविहीन हुनुपर्नेमा पाइलटहरूको जोड छ ।

प्राधिकरणले ३३ रोपनीमध्ये २६ रोपनी क्षेत्रफलमा हेलिकोप्टरका लागि पार्किङ क्षेत्र बनाएको छ । तर यसलाई पाइलटहरूले निकै सानो भनेका छन् । ‘हेलिकोप्टर पस्ने र निस्किने बिन्दुबाट पार्किङ क्षेत्रसम्म पुग्न ज्यादै कम ठाउँ छ । साँघुरो क्षेत्रमा हेलिकोप्टर घुमाउन, अवतरण गराउन जोखिम छ,’ उनीहरूले लेखेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तो आयल निगमको डिपो नभएकाले इन्धन भर्न पनि असहज भएको उनीहरूको भनाइ छ ।

निगमले अहिले ट्यांकरबाट हवाई इन्धन हेलिपोर्टसम्म लैजाने गरेको छ । वायुयान कम्पनीले निगमबाट इन्धन किनेर त्यहाँ ट्यांकीमा भण्डारण गर्न थालेका छन् । तर इन्धनको सहजता नभएकाले उडान प्रभावकारितामा असर परेको उनीहरूले ज्ञापनमा उल्लेख गरेका छन् ।

त्यहाँ आपत्कालीन अवस्थामा आवश्यक अग्नि नियन्त्रणसम्बन्धी फायर स्टेसन, मेडिकल, एम्बुलेन्सलगायत सहायता नभएको र तिनको अपरिहार्यमा पाइलटहरूको जोड छ । ‘उडानमा रहेको हेलीले कुनै प्राविधिक समस्या सामना गर्नुपरे मर्मतका लागि पर्याप्त क्षेत्रफल नभएको लगायत चुनौतीका कारण नलिञ्चोक हेलिपोर्टबाट सुरक्षित उडान गर्न सम्भावना छैन,’ ज्ञापनमा भनिएको छ, ‘तसर्थ यहाँ उल्लेख गरिएका खतरा न्यूनीकरण र कार्यान्वयन नभएसम्म असुरक्षित नलिञ्चोकको सट्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै व्यावसायिक तथा उद्धार उडान सञ्चालन गर्न अनुरोध गर्दछौं ।’


...

All Comments.......


Please Login/Register To Comments