सागर गुरागाईं
अज्ञातनताबाट ज्ञानको उज्यालोतर्फ समाजलाई डोहो¥याउने कर्तव्य र दायित्व बोकेका गुरुहरुलाई हाम्रो समाजले खासै महत्व दिएको देखिदैन । हाम्रा प्राचीन ऋषि महर्षिहरुले हाम्रा शास्त्रहरुमा गुरुलाई ठूलो स्थान, दिएका थिए । आदिमकालमा भगवान श्री कृष्णलाई जगतगुरुको रुपमा मानिएको थियो । आदिमकालमा भगवान शिव (महादेव) लाई तन्त्रशास्त्रका आदि गुरु मानिन्छ । विद्याद्वारा शिष्यको अज्ञानतालाई निवारण गर्ने भएकोले प्राचीनकालदेखि नै हिन्दु संस्कृतिमा गुरुलाई विशेष स्थान र मान दिइएको पाइन्छ । ’गुरु’ विना शिष्य एक्लैले लिएको ज्ञान (विद्या) अधुरो एवं अपुरो हुने भएकोले एकलब्यले पनि द्रोणाचार्य (गुरु) को मूर्ति आफैले स्थापना गरेर सोही मूर्तिलाई गुरु मानेर अस्त्र विद्याको अध्ययन गरेका थिए । वास्तवमा गुरु भनेको समाज एवं शिष्यलाई सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने पथप्रदर्शक, मार्ग निर्देशक व्यक्ति पनि हो । प्राचिन कालदेखि नै आमा बुवा र गुरुलाई विशेष आदर सम्मानको रुपमा सम्मान गरिने गरिएको छ । तर हिजोआज कयौं जन्मदाता बुबा आमा र गुरुहरु आफ्नै छोराछोरी र शिष्यबाट अपमानित भइरहेका छन् । शिष्यको नाताबाट गुरुको पहिचान हुने भएकोले गुरु र शिष्यको सम्बन्ध सधैं न» र मासुको झैं हुनु पर्छ । हिजोआज परिवर्तनको नाममा यदाकदा गुरुहरु पनि आफ्नो स्थान मर्यादा र इज्जतभित्र नरहने गरेको र शिष्यहरुमा पनि आदरभाव एवं शिष्टताको अभाव महशुस गर्न थालिएको छ । आफूलाई शिक्षा, ज्ञान, सीप सिकाएर सत्मार्गमा डोहो¥याउने, अहोरात्र मेहनत गर्ने गुरुहरुलाई वर्षमा एकदिन सम्मान गर्ने र बाँकी ३ सय ६४ दिन चाहिँ बेवास्ता गर्ने प्रचलन पनि विद्यमान छ । हिजोआज अनुशासनमा नरहने केही शिष्यहरुले गुरुलाई उसको भेषभूषा, हिँडाई, शारीरिक वनावट एवं आर्थिक अवस्था र सवारी साधनसँग तुलना गरेर उसको उपहास गर्ने गरेको पनि पाइएको छ । हुन त सबै गुरुहरु मिलनसार, अनुशासित, शिष्ट, दयालु र सहयोगी नहुन सक्छन् त्यसैले सत्गुरु हुनको लागि केही विशेषताहरु हुनुपर्छ । केवल योग्यता हासिल गर्दैमा, चिटिक्क परेको पोशाक लगाउँदैमा, महँगो सवारी साधन चलाउँदैमा वास्तविक गुरु बन्न सकिन्न । गुरुमा हुनुपर्ने सामान्य गुणहरु जस्तै विषयवस्तुको ज्ञान, मिठो भाषा शैली, अनुशासन, लगनशीलता, नैतिकता, समानता जस्ता व्यवहारिक ज्ञानहरु हुनु आवश्यक छ । गुरुले पनि शिष्य र समाजको सामु आफ्नो इज्जत मान मर्यादा र प्रतिष्ठाको ख्याल गरेर सम्यमित भएर व्यवहार गर्नु पर्दछ । बोली व्यवहार र दैनिक क्रियाकलापमा शिष्टता एवं समानता प्रदर्शन गर्न नजान्ने एकाध गुरुहरुको क्रियाकलापले गर्दा गुरुहरुप्रतिको समाजको दृष्टिकोण सम्मानयोग्य हुन सकिरहेको छैन । लाखौं इमानदार व्यक्तिहरुको पेशा र व्यवसायलाई एक दुईजनाको अनैतिक र असभ्य व्यवहारले बद्नाम गराउने भएकोले गुरुहरुले सम्यमित भएर सबैसँग समान व्यवहार गर्नुपर्दछ । एकजना गुरुले हजारौ डाक्टर, पाइलट, इन्जिनियर, कुशल प्रशासक, समाजसेवी, व्यवसायी, कलाकार उत्पादन गर्छ, तर हजारौ डाक्टर, पाइलट, इन्जिनियरहरुले एकजना पनि गुरु (शिक्षक) उत्पादन गर्न सक्दैनन् । त्यसैले भनिन्छ शिष्य भनेको भोको व्यक्ति हो र गुरु भनेको चौरासी व्यञ्जन । चौरासी ब्यञ्जनबाट कति लिने वा खाने भन्ने कुरा शिष्यमा नै निर्भर गर्छ । तसर्थ गुरुविनाको ज्ञान अपूर्ण हुने भएकोले औपचारिक र अनौपचारिक जेजस्तो अवस्थामा पनि गुरु ज्ञान अपरिहार्य छ । गुरु पूर्णिमाको औचित्य उद्देश्य र महत्वलाई आत्मसात गर्दै गुरु र शिष्यको सम्बन्धलाई सधैं विकसित गर्न गुरु पूर्णिमाले हामी सबैलाई प्रेरणा मिलिरहोस् ।

...

All Comments.......


Please Login/Register To Comments