भक्तपुर, २६ साउन
वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा यस वर्ष कक्षा १२ पूरा गरेका विद्यार्थीहरुका लागि शनिवार एक समारोहबीच बधाई तथा मार्ग निर्देशन कार्यक्रम भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्नुहुँदै सबै शिक्षा निःशुल्क अध्ययनका लागि सरकारले कुनै पनि कदम नचालेको बताउनुभयो । उहाँले विद्यार्थीले छनोट गरेका कुनै पनि विषय नराम्रो नहुने र रोजेको विषयमा विशेषज्ञता हासिल गर्नुपर्नेमा जोड दिनुभयो । साथै आफ्नो देशमा अध्ययन गर्न नपाएका विषयका लागि मात्र विदेश रोज्नुपर्ने उहाँको धारणा छ । उहाँले विदेशीहरु नेपालमा आई सहयोग गर्ने नाउँमा शोषण र शासन मात्र गर्न आउने भएकाले वागीश्वरी अहिलेसम्म कहिल्यै नझुकेको स्पष्ट पार्नुभयो । ‘समयको पालना गर्ने, अध्ययनमा निरन्तरता दिने, कलेज राम्रो छान्ने, विवाह ढिलो गर्ने र कहिल्यै घमण्डी नबन्ने  विद्यार्थीहरुले कहिल्यै बिर्सन नहुने कुरा हुन् ।’ उहाँले भन्नुभयो । साथै देशमा सकारात्मक परिवर्तन गर्न विद्यार्थीको ठूलो भूमिका हुने भएकाले पढाइसँगै शोषण दमनलाई चिर्दै देशभक्ति भावना हुनुपर्नेमा उहाँले जोड दिनुभयो । देशको राजनीतिमा नराम्रो मान्छेले शासन गरेकै कारण नेपाली जनताले दुःख पाएको औल्याउँदै अध्ययनशील र इमान्दार जनशक्तिको आवश्यकता रहेको उहाँको भनाइ छ ।
बीबीए कार्यक्रमका प्राचार्य कृष्णप्रसाद धन्छाले उच्च लक्ष्य र आदर्श जीवन प्राप्त गर्न शुभकामना दिँदै वागीश्वरीले पाठ्यक्रमसँगै स्थानीय समाजसँग परिचित विभिन्न गतिविधिहरु गर्दैआएको बताउनुभयो । उहाँले सिकाइलाई निरन्तर प्रक्रिया भएको बताउँदै उच्च शिक्षा अध्ययनका लागि वागीश्वरी नै रोज्नुपर्नेमा जोड दिनुभयो ।
प्लस टु संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीको विकासका लागि एनजीओ आइएनजीओसँग भर नपरेको बताउँदै स्वाभिमान र स्वाधिनतालाई बन्धकमा राखेर वागीश्वरीले कहिल्यै कसैसँग सहयोग नलिएको स्पष्ट पार्नुभयो । उहाँले वागीश्वरीमा सरकारी पक्षबाटै अनेक प्रकारका षड्यन्त्र गरी झुक्याउन खोजेकोप्रति आक्रोश व्यक्त गर्दै वागीश्वरी परिवारले सीप र संस्कारयुक्त हजारौ देशभक्त नागरिक तयार गरिरहेको बताउनुभयो । थोरै समयभित्र वागीश्वरीको सफलताको पछाडि सबैको साथ र सहयोग भएको बताउँदै यहाँका विद्यार्थीको उत्कृष्टताले झन उँचो बनाएको औल्याउनुभयो ।
वागीश्वरी कलेजका प्र्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरीले विद्यार्थीको अनुकूलतामा विभिन्न कार्यक्रमहरु ल्याएको बताउँदै कोही पनि विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न वाहिर जानु नपर्ने स्पष्ट पार्नुभयो । उहाँले वागीश्वरी कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरु देशकै नमूना सावित भइरहेको बताउँदै गुणस्तरीय शिक्षा र क्षमता लक्षित कार्यक्रमकै कारण वागीश्वरी अध्ययनको राम्रो थलो बनेको औल्याउनुभयो । उहाँले बीबीए पढ्दा छुट्टै आइटी पढ्न नपर्ने गरी कार्यक्रम ल्याएको समेत जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यले कक्षा १२ को परीक्षाफलको समष्टिगत विश्लेषण गर्दै वागीश्वरी विद्यार्थीहरुको प्रगतिका लागि निरन्तर सहयोग गर्दै जाने बताउनुभयो ।
सहायक प्रधानाध्यापक उकेश सुवाल स्वागत गर्नुभएको उक्त कार्यक्रममा प्लस टु उत्कृष्ठ विद्यार्थी ओमकुमार नेपाली, प्लस टु व्यवस्थापन उत्कृष्ठ विद्यार्थी विनिता तामाङ, बीबीए दोस्रो वर्षका युनिका तुल्सीवाख्यो र बीबीए चौथो वर्षका कृपा प्रजापतिले विद्यालय र कलेजप्रति आफ्नो भनाइ राखेका थिए । 
कार्यक्रममा कक्षा १२ पूरा गरेका विज्ञान समूहका ४१ जना, व्यवस्थापन समूहका दुई सय ४७ जना, मानविकी समूहका ६५ जना र शिक्षा समूहका १९ जना गरी जम्मा तीन सय ७२ जनालाई मायाको चिनो वितरण प्रमुख अतिथि, अतिथिबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।
प्रमुख अतिथिबाट विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहबाट सर्वोत्कृष्ट अंक ल्याउने क्रमशः ओमकुमार नेपाली, विनिता तामाङ, दुर्गा बस्नेत र राधिका बेकोजुलाई पुरस्कृत गरेको थियो भने विद्यार्थीहरुबाट नृत्य, गायनलगायतका सांगेतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments