मध्यपुर ठिमी ,भक्तपुर बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षा र स्वास्थ्य एक अर्काका परिपूरक रहने र स्वस्थ व्यक्ति शिक्षित भए सबल, आत्मनिर्भर तथा राष्ट्र निर्माणको मेरुदण्ड बन्न सक्छन् भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा शनिबार अभिभावक सचेतना कार्यक्रमको आयोजना गर्यो। विशेष गरेर अहिलेका विद्यार्थीहरूमा देखापरेका मनोवैज्ञानिक समस्या र तिनका समाधानका उपायहरू विषयमा आयोजना गरिएको उक्त कार्यक्रममा अभिभावक, शिक्षक -शिक्षिका र विद्यालयको भूमिका कस्तो हुनुपर्छ भन्ने कुरालाई आधार बनाएर विद्यालयको सामाजिक दायित्व अन्तर्गत सो कार्यक्रमको आयोजना गरिएको थियो।

विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा लुनिभा हेल्थ केयरको प्राविधिक सहयोगमा आयोजना गरिएको थियो। कार्यक्रममा भक्तपुर अस्पतालकी मनोवैज्ञानिक पराविमर्शदाता नविना थापा, लुनिभा हेल्थ केयरका संस्थापक डाक्टर विनय श्रेष्ठ तथा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले ससाना बालिकादेखि युवा अवस्थासम्म पुगेका किशोर किशोरीहरूको मानसिक स्वास्थ्य, उनीहरूलाई गरिने व्यवहार तथा उनीहरूको सबल र सार्थक जीवनका लागि कसरी सही बाटोमा लगाउने एवं लागू पदार्थ दुर्व्यशन र कुलतबाट कसरी बचाउने भन्ने विषयमा अभिभावकहरुलाई मनोपराविमर्श गरिएको थियो। कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आआफ्ना नानीहरूको उज्ज्वल भविष्यका लागि हरेक अभिभावक सचेत रही कुलत र दुर्व्यशनबाट बचाउन,जीवन र जगतका मूल्य र मान्यता बुझाउँदै उनीहरुलाई समानुभूतिका साथ बुझेर,सुनेर, महसुस गरेर सही बाटामा हिडाउन प्रयत्न गर्नुपर्ने कुरा बताउनुभयो ।जसरी एउटा बिरुवालाई सही तरिकाले मलजल गरे त्यसले फल दिन्छ त्यसरी नै एउटा असल अभिभावकले हरेक समयमा आफ्ना नानीहरूलाई उचित स्याहारसुसार र हेरविचार गर्दै उनीहरुका चाहना र भावनालाई बुझ्न सके भविष्यमा हामीले चाहेजस्तो र सोचेजस्तो आत्मनिर्भर नागरिक बन्न सक्ने कुरा पनि बताउनुभयो ।

अत्यन्तै अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको उक्त कार्यक्रममा अभिभावकहरुले मनोवैज्ञानिक समस्या सम्बन्धी आआफ्ना धारणा राख्दै विद्यालयले यी यस्ता कार्यक्रम समय समयमा राखे हामीमा पनि चेतना जागरण हुने र आफ्ना नानीहरूको वास्तविक समस्या पहिचान गर्न सक्ने कुरा बताउनुभएको थियो। साथै यस्तो कार्यक्रमको आयोजना गरी बाटो देखाइदिने काम गरेकोमा विद्यालय परिवारप्रति आभार व्यक्त समेत गर्नुभएको थियो।
...

All Comments.......


Please Login/Register To Comments