तारा स्काउटको दीक्षान्त समारोह सम्पन्न
- Post Date: 2025-01-04 13:38:11
भक्तपुर । तारा माध्यमिक विद्यालय, बोलाछेंमा सञ्चालित तारा स्काउट ट्रुपका विद्यार्थीहरुलाई दीक्षा दिइएको छ ।
चरित्रवान र सर्वाङ्गिण विकासमा सक्षम भइ स्काउटको नियम प्रतिज्ञा पालना गर्ने विद्यार्थीहरुलाई शनिवार दीक्षा दिइएको हो ।
नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले स्काउटलाई दीक्षा दिंदै स्काउट स्वयंसेवी भावनामा ओतप्रोत हुने र पैसाका लागि नभइ समाजका लागि काम गर्ने अनि मेहनति हुने बताए ।
भक्तपुर नगरपालिका वडा नं ४ का अध्यक्ष उपेन्द्र सुवालले प्रत्येक विद्यालयमा स्काउट शिक्षा पुर्याउन सकेको खण्डमा बालबालिकाहरु कुलतमा नफस्ने बताउँदै देशभक्त नागरिक उत्पादन भइ राष्ट्रलाई टेवा पुग्ने धारणा राखे ।
भक्तपुर नगरपालिका स्थानीय स्काउट आयुक्त बालकृष्ण बनमालाले स्काउट कर्तव्यनिष्ठ र निडर हुने धारणा राख्दै विश्वासयोग्य बन्नका लागि मेहनत तथा परिश्रम गरी अर्ध सैनिकजस्तो भएर कार्य गर्नुपर्ने बताए ।
स्थानीय सदस्यता वृद्धि आयुक्त पूर्णभक्त दुवालले स्काउटले अप्ठ्यारो र समस्यामा आफू बचेर अरुलाई उद्धार गर्ने भएकाले यो शिक्षा हरेक व्यक्तिले लिन आवश्यक रहेको बताए ।
राष्ट्रिय प्रशिक्षकद्वय अच्युत प्रजापति र रत्ना चवालले स्काउटले कसैंलाई भेदभाव नगरिकन तन मन र कर्मले पवित्र हुने बताए ।
विद्यालयका प्रधानाध्यापक प्रेमलक्ष्मी त्वायना र पूर्व प्रधानाध्यापक पुष्पलाल सुजखुले दिक्षित विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।
-
Shares
All Comments...
Please Login/Register to comment.