अनामिकाको गर्भ रहस्य –५
- Post Date: 2025-01-08 04:18:16
अर्जुन कोण्डा
जिन्दगीमा तनाब कहिल्यै नभोगेको मान्छे भावनामा डुबेर तनाबग्रस्त छु । सायद अनामिकालाई नभेटेको भए म परिवारको सुझाबअनुसार देश बाहिर पुगिसकेँ हुँला । तर अनामिकाको कथा लेखेदेखि जिन्दगीले अर्कै मोड लियो । मैले स्थानिय एक कलेजमा बिए.बिएस्.डब्लु. लिएर स्नातक तह भर्ना गरेको पनि धेरै महिना भइसक्यो । स्नातक तहको पहिलो वर्ष सुरु भएर पनि सकिने संघारमा छ । कलेज सकाएर एउटा निजी विद्यालयमा आधारभुत तहमा पढाउन थालेको पनि पाँच महिना भइसकेछ । अनामिका कथाले चौथो भाग पूरा भएर पनि पाँचौ भाग माग्दैछ ।
तर अनामिका कथाको पाँचौ भाग कसरी सुरु गर्ने आफैँलाई थाहा छैन । किनकी अनामिका अब आफ्नो घरमा बस्दिनन् । परिवारको सल्लाहमा उनको बिहे भइसकेको छ । उनका श्रीमान् सर्लाही जिल्लाका नेवार रहेछन् । बिहे भएको केहि महिनामा नै उनको श्रीमान रोजगारीका लागि खाडी मुलुकमा गइसकेछन् । कुन मुलुक भन्ने थाहा भएन, बन्न लागेको परिवारमा हस्तक्षेप गर्नु पनि उचित लागेन । भर्खर जन्मेको शिशु पनि बामे सर्ने भएछ । बच्चाको नाम सोध्न पाएको छैन । तर आमा छोरी खुशी नै छन् भन्ने सुनेको छु । तापनि अनामिकाको गर्भ रहस्य नै बनेको छ ।
आज मलाई हर्षिका दिदीले भेट्ने बाचा गरेकी छिन् । आफूलाई भाइ भनेपछि दिदी भन्नैप¥यो । म अरनिको राजमार्ग छेउको उही चिया पसलमा हर्षिका दिदीको प्रतिक्षा गरिरहेको छु । चियामा चिनी अलि कम रहेछ । साहूनीलाई जिस्काउँदै भनेँ, के हो चिनी महङ्गियो कि कसो, चियामा चिनी अलि कम छ नि ।
साहूनीले हाँस्दै एक चम्चा चिनी थपिदिइन् । बल्ल चियाको स्वाद मीठो भयो।
हर्षिका दिदी अस्तिजस्तै ढिला आइपुगिन् ।
धेरै कुर्नु प¥यो कि भाइ? उनले भनिन् ।
छैन भन्दै मैले मुन्टो बटारेँ । मलाई यसरी कुनै महिलासँग चिया पसलमा भेटेको अनुभव छैन । मलाई कुरा सुरु गर्न असजिलो लाग्यो । तापनि बिस्तारै कुरा झिकेँ ।
खोइ, तपाईको नम्बरमा त फोनै लागेन । अनामिकाको गर्भको रहस्यबारे जान्ने उत्सुकताले सुत्नै सकिनँ । फोन गर्दा फोन लाग्दैन । सुत्न खोज्यो निन्द्रा लाग्दैन , मैले भनेँ ।
होइन होला, उनले जिस्कदै भनिन् ।
कथा लेख्ने चैँ म, सस्पेन्स राख्ने तपाई? मैले रिस पोखेँ । सस्पेन्स चैँ होइन, अस्ति म अलि हतारमै थिएँ, उनले खुलाइन् । अब त भन्नुहुन्छ, होला नि? मैले भनेँ ।
हर्षिका दिदिले कुरा सुरु गरिन् ।
भाइ, मलाया भाषामा सरिटा हाँटु भन्नाले भूतिया कथा भन्ने बुझिन्छ । अनामिकाको गर्भ पनि हाँटु(भूत)जस्तै रहस्यमयी छ ।
म जोहोर पुगेको एक महिनामै अनामिका पनि मैले काम गर्ने होटल नजिक रहेको अर्को मलाया होटलमा काम गर्न आइपुगिन् । मैले काम गर्ने होटलको मालिक राहुल गुप्ता नामका भारतिय नागरिक थिए । उनीबाट मलाई जोगिएर रहन मलेसियामै बस्ने नेपाली साथीहरुले सिकाएका थिए । अनि आफूलाई परेको समस्याबारेमा नेपाली साथीहरुबीच सल्लाह गर्थेँ । तर अनामिकाकोे त्यस्तोे सम्पर्क थिएन ।
एक दिन म होटलमा काम गर्दै थिएँ । अनामिकाको साहू अह्मद म काम गर्ने होटलमा पस्नुभयो । दुईजना मालिकहरु हिन्दी र मलाया भाषाको खिचडी बनाएर कुरा गर्दै थिए । मेरो साहूले मलाया भाषामा भन्नुभयो, सालाम् आँबा । सायः माहु माकन माङ्गा दारी कुबन आन्डा ।
अर्थात नमस्ते भाइ, तपाईको बगैँचामा फलेको एउटा आँप चाख्न चाहन्छु ।
मे, जुन ,जुलाइ महिना आँप फल्ने समय हो । मलाया भाषामा आँपलाई माङ्गा भनिदोरहेछ । मलाई राम्ररी थाहा छ, अह्मदको जोहोर बेरुमा कुनै बगैँचा छैन र आँप हुने कुरै भएन । अन्त कतै फार्म चलाएको भए थाहा भएन । म कान ठाडो पारेर सुन्दै थिएँ । अर्कोले जवाफ फर्काए, सायः बेलुम रासः लागी । बगाइमाना आन्डा आकान डापाट? अर्थात मैले त चाख्न पाएको छैन । तपाईले कसरी पाउनुहुन्छ ?
आँप त पाकिसकेको छ । समयमै टिप्नुपर्छ, नत्र अर्कैले चाख्छ, अनामिकाको साहुले मलाया भाषामा भने ।
मैले अझै पनि उनीहरुको कुराको भेउ पाउन सकिनँ ।किनकी जोहोर बेरुमा आँपको बगैचाका मालिकहरु पनि थुप्रै छन् । त्यसैगरी जोहोर बेरु वेश्यावृतिको लागि पनि कुख्यात छ । विशेष गरी जापानी, कोरियन तथा चिनियाँ आप्रवासीहरु मलेसियाको जोहोरमा गैर कानूनी रुपमा बेश्यालयहरुमा देह व्यापार गर्छन् भन्ने सुनेको छु । अनि त्यसकै लागि जबरजस्ती वेश्याबृत्तिमा लगाउने बारे पनि सुनेको छु ।
अनामिकाले काम गर्ने होटल मालिक अह्मदको आँपको बगैँचा छ भन्ने सुनेको थिइनँ ।
रक्सीको सुरमा आँप टिप्ने तौर तरिकाबारे साहुहरु गफिदै थिए । मेरो साहूले बेलैमा आँप टिप्न सल्लाह दिए ।
मैले कुरो बुझिनँ र हर्षिका दिदीलाई सोधेँ, मलेसियामा पनि आँप फल्छ र?
हर्षिका दिदिले गुगलमा खोजेर जोहोर बेरुमा फल्दै गरेको आँपको तस्बीर देखाइन् । अब सस्पेन्समा थप सस्पेन्स थपियो ।
उनले फेरि भनिन्, भोलिपल्ट अनामिकाको साहू फेरि होटलमा आउनुभयो । उहाँको मुहारमा सन्तुष्टिको भाव थियो । उहाँले मेरो साहूलाई आबाँ भनेर सम्बोधन गर्दै बल्लतल्ल आँप चाख्न सफल भएको कुरा बहादुरीका साथ बताउनुभयो । होसियारीका साथ आँप टिप्दाको मज्जा सुनाउँदै उहाँले भन्नुभयो, यसरी आँप टिपियो कि रुखलाई समेत थाहा हुँदैन होला । दुबै साहुहरु गललल हाँसे ।
दोहोरो अर्थ लाग्ने शब्द भएकाले थप चासो दिइनँ । तर मैले नराम्रो अनुभव गरेँ । केहि महिनामा अनामिकाको पेट बढेको थाहा भयो । जोखिम टार्न केहि दिनमै अस्पतालमा जाँच गराएर नेपाल फर्काएछन् ।
बल्ल बुझेँ । पापीहरुले अनामिकालाई खानामा औषधी मिसाएर अस्मिता लुटेको हुन सक्ने आशंका छ । पापीहरुको बीच बस्न आफूलाई असुरक्षित लाग्यो र नेपाली दाजुभाइहरुलाई सबैकुरा बताएँ । उहाँहरुले काम छोडाएर अन्तै काम मिलाइदिए। त्यसो त काम अनुसार ज्याला पनि कहाँ पाइन्छ र?
त्यसोभए ती होटल साहूलाई कुनै कारवाही भएन त? मेरो प्रश्नको जवाफमा हर्षिकाले प्रति प्रश्न गरिन् , नेपालमा निर्मला काण्डको दोषीलाई कारवाही भयो त? अनामिकाले स्वयम् जाहेरी दिनुपर्नेमा उनैलाई घटनाबारे थाहा नभएपछि कसले कारवाही गर्ने? अब त अनामिकाले पनि घटनालाई नमिठो सपना ठानी बिर्सन खोजिरहेकी होलिन् । हर्षिका दिदीको कुरामा दम थियो । तर म भने अनगिन्ती प्रश्नमा अल्झिरहेँ । अनि मैलै सोधेँ, मलाई भेट्न खोज्नुको अभिप्राय नि?
अनामिका जस्तै थुप्रै नेपाली चेलीहरु बैदेशिक रोजगारमा छन् । तिनीहरुको पक्षमा भाइको कलम चल्नेछ भन्ने अपेक्षाले भेट्न आएको हुँ । तिम्रो लेखाइ मौलिक छ, लेख्दैे जानू । पछि सामाजिक सञ्जालमा भएपनि भेटूँला । लेख्नुपर्ने धेरै बाँकी छ, तिमीले लेख्नैपर्छ भाइ , हर्षिका दिदीले भनिन् । यति भनेर हर्षिका दिदी बिदा भइन् । मेरो आँखामा भने हर्षिकाले हर्ष होइन आँसु छोडेर गइन् ।
-
Shares
All Comments...
Please Login/Register to comment.