भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं सघीय सांसद प्रेम सुवालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । कृषि प्रधान देशमा चामल नै भारतमा निर्भर हुनुपर्नु अत्यन्त गम्भीर चिन्ताको विषय भएको उनले बताए । भक्तपुर उद्योग वाणिज्य संघको बुधबार भक्तपुरमा भएको ३७ औं वार्षिक साधारणसभाको उदघाटन गर्दै सुवालले कमसेकम खाद्यान्नमा भए पनि देश आत्मनिर्भर हुनुपर्ने खाँंचो औल्याए । भारतले दाल चामल पठाएन भने के हामी ढुंगा खाएर वस्ने ? उनले प्रश्न गरे । सहर केन्द्रित बसाईसाई चिन्ताको विषय भएको भन्दै उनले बसाइसराईलाई जिल्लामै सिमित गर्नुपर्नेमा जोड दिए । एउटा जिल्लाबाट अर्काे जिल्लामा बसाइसराई नगरी आफनै जिल्लामा मात्रै बसाइसराई गर्न पाउने वन्दोवस्त आवश्यक भएको उनले बताए । त्यसका लागि सन्तुलित विकाश आवश्यक भएको उनको भनाई थियो । सन्तुलित विकासले बसाइसराई न्युनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको बुझाई थियो । भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँं धौबञ्जाले आर्थिक विकासको प्रमुख आधारमध्येको एक कृषिको व्यवसायिक विकासमा जोड दिइन् । उनले त्यसका लागि कृषियोग्य जमिनहरुको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षशिवप्रसाद मानन्धर, पूर्व अध्यक्ष एवं सल्लाहकार कष्णप्रसाद ताम्राकारलगायतले मुलुकको आथिएक उन्नतिका लागि उद्योग व्यवसाय क्षेत्रको प्रवद्र्धनमा विशेष जोड दिए । कार्यक्रममा मञ्चमा आसिन महानुभावहरुलाई बुलेटिन विमोचन गरिएको थियो । साथै सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्न पूर्वअध्यक्ष एवं सल्लाहकार युवक राजभण्डारीबाट स्थापना भएको जनकदेवी राजभण्डारी छात्रवृत्ति कोष) बाट यसवर्ष शान्ति निकेतन मा.वि मा अध्ययनरत विनिता माझी कक्षा ६, अञ्जली तामाङ कक्षा ७, सञ्जिता चौधरी कक्षा ८, भीम आदर्श आधारभूत विद्यालयका रेणु यादव कक्षा २, इशाक लामा कक्षा ४, सुशिला कार्की कक्षा ६ लाई छात्रबृति वितरण गरिएको थियो । साथै शिक्षा क्षेत्रमा गरिब तथा जेहेन्दार विद्यार्थीको लागि श्रीमती बिकुनदेवी सुकुपायोबाट स्थापना भएको स्व.शिवभक्त सुकुपायोको स्मृतिमा शिक्षा कोषबाट यसवर्ष गणेश माध्यमिक विद्यालयका आकाश वैद्य कक्षा ९, सृष्टिका प्रजापति कक्षा १, सरस्वती मा.वि सूर्यविनायक नगरपालिका ९ की सुजाता तामाङ कक्षा ९, आकांक्षा तामाङ कक्षा १, श्री पद्य मा.वि.का यसु सुवाल कक्षा ८, हिना राज कक्षा ७ लाई पनि छात्रबृति वितरण गरिएको थियो । कार्यक्रममा उत्कृष्ट निर्यातकर्ताहरुलाई पनि सम्मान गरिएको थियो । भक्तपुर उद्योग वाणिज्य संघमार्फत सर्टिफिकेट अफ ओरिजिन जारी गरी निर्यात गर्नेहरुमध्येबाट छनोट (भारततर्फ) का श्री रिजन एण्ड श्रीजन पस्मिना प्रथम, श्री सिद्धि गणेश तरकारी तथा प्रशोधन दोस्रो घोषित गरिएको थियो । साथै तेस्रो मुलकतर्फ श्री प्रधानांग एपेरियल्स इन्डष्ट्रिज प्रालि प्रथम, श्री नेपाल ह्याण्ड निट दोश्रो, श्री हिमालयन बायो ट्रेड प्रा.लि.तेस्रोलाई पनि सम्मान गरिएको थियो । साथै कला, संस्कृतिको विकासमा योगदान गर्ने व्यक्ति÷संघ संस्थालाई सहयोग गर्न सदस्य विनोदचरण रायबाट स्थापना भएको कला संस्कृति विकास कोषबाट यसवर्ष भक्तपुर नगरपालिका वडा नं. १, भार्वाचोस्थित गणेश दाफा भजन, दाफा भजनका नाइके तथा प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । साथसाथै, खेलकुद क्षेत्रको विकासको लागि अध्यक्ष रोशनीमैयाँ धौबन्जाबाट स्थापना भएको खेलकुद विकास कोषबाट यसवर्ष पलेसा गोवर्धन, पारा तेक्वान्दो, सनम मुलगुठी, शारीरिक सुगठनलाई पनि सम्मान गरिएको थियो ।
  • Shares

All Comments...


Please Login/Register to comment.